पेनकिलरबारे जानकारी

alina-shrestha

शरीरमा हुने विभिन्न किसिमका दुखाइ तत्काल कम गर्न पेनकिलर खाने बानी धेरैको हुन्छ । तत्कालको दुखाइ साम्य पार्ने ध्यानमा हामी यस्ता औषधि जथाभावी सेवन गर्दा हुने साइड इफेक्टबारे बुझ्न खोज्दैनौँ । अधिकांश नेपाली स्वास्थ्यकर्मीको सल्लाहविना नै यस्ता औषधि सेवन गर्ने गर्छन् । दुखाइ कम गर्न खाने औषधि (पेनकिलर)ले दीर्घकालमा गम्भीर असर पार्न सक्छ । त्यसैले पेनकिलर सेवन गर्नुअघि यस्ता विषयमा ध्यान दिनु आवश्यक छः

१ खाली पेटमा पेनकिलर सेवन गर्नु हुँदैन । खाली पेटमा पेनकिलर खाँदा एसिडिटी बढेर झन् समस्या बढाउन सक्छ ।

२ पेनकिलर सेवन गर्दै गर्दा मादक पदार्थ सेवन गर्नु हुँदैन । पेनकिलर र मादक पदार्थको संयोजनले रिंगटा लगाउने, अम्लीयपन बढाउने र मुटुको समस्या निम्तिन सक्ने खतरा रहन्छ ।

३ पेनकिलर सेवनपछि पानी अत्यधिक पिउने गर्नुपर्छ । पानीको मात्रा बढाउनाले शरीरमा बाँकी रहेका पेनकिलरका अनावश्यक पदार्थ बाहिर पठाउन मद्दत मिल्छ ।

४ फर्मासिस्टसँग पेनकिलरबारे विस्तृत जानकारी लिएर मात्रै सेवन गर्नुहोला । पेनकिलर सेवन गर्दा चाहिने खुराक, पेनकिलर सेवन गर्ने अवधि, मात्रा र यसको असरबारे जानकारी लिनुपर्छ ।

५ केही पेनकिलर लत लाग्ने खालको पनि हुन सक्छ । दुखाइ कम गर्न खाएको पेनकिलरको लत नै लाग्यो भने समस्या पर्न सक्छ । कोडिन, ट्रामाडोल, मर्फिनजस्ता पेनकिलर सेवन गर्दा होसियारी अपनाउनुपर्छ ।

६ कुनै शारीरिक समस्या भएर चिकित्सककहाँ जाँच गराउन जाँदा आफूले सेवन गरिराखेको पेनकिलरहरूबारे जानकारी गराउनुपर्छ ।

७ अल्सर, हृदयरोग र उच्च रक्तचापजस्ता स्वास्थ्य समस्या छन् भने पेनकिलर सेवन नगर्नु राम्रो हुन्छ ।