झापामै पाथिभरा देवीको मन्दिर

सबिता पोखरेल, झापा
पूर्वको पाथिभरा देवी भनेपछि नेपालभर चर्चित धर्मस्थलको रुपमा परिचित छ । हिन्दू धर्मावलम्बीहरुको धर्मको केन्द्रविन्दूमा रहेको पाथिभरा देवीको दर्शन, पूजाआजा गरेपछि मनले चिताएको सम्पूर्ण कुराहरु प्राप्ति हुने, दुःख नाश हुने जस्ता विश्वास राखिएको छ । पूर्वी नेपालको ताप्लेजुङमा रहेको पाथिमाताको मन्दिर हिन्दूहरुको आस्थाको देवीको रुपमा लिइने गरिन्छ । पाथिभरा माताको मन्दिर जाँदा तीर्थयात्रीहरु तीन चार दिन हिंडेपछि पुग्ने ठाउँ इलाममा विगत केही वर्षदेखि स्थापना गरी पूजाआजा गरिएको छ भने अहिले झापामा पनि मन्दिर स्थापना गरी पूजा गर्ने गरिएको छ ।

ताप्लेजुङमा अवस्थित पाथिभरा माताको मन्दिर

pathibhara mata
भर्खरै मात्र झापाको धाइजनमा श्री पाउ पाथिभरा स्थापना गरिएको छ । तीर्थयात्रीहरुको चाप र सुविधालाई ध्यानमा राखेर पाउ पाथिभरा मन्दिर स्थापना गरिएको झापा चारआलीका स्थानीय बासिन्दा अर्जुन झापालीले बताए । चारआलीस्थित नेपाली सैनिकको ब्यारकको उत्तरपश्चिम पट्टि रहेको एउटा अनौठो रुखको फेदमा गएर माटो समाई मन्त्र उच्चारण गर्दा त्यही ठाउँमा मात्रै वर्षाभएपछि उक्त ठाउँ देवीको शक्ति भएको भन्दै पाउ पाथिभरा मन्दिर स्थापना गरिएको झापालीले बताए । उक्त ठाउँमा पाथिभरा माताको पाउ पर्न गएको हुँदा पाउ पाथिभरा मन्दिरको निर्माण गरिएको बताइएको छ ।
मार्कण्डेय पुराणमा वर्णन भएअनुसार पृथ्वीमा दैत्यहरुको अत्याचार बढेपछि तिनको नास गर्न देवताहरुले देवीको आरधाना गरे । यो प्रार्थना गरेको देखेर देवीको साक्षात् रुपमा हिमालमा प्रकट भयो । दैत्य र असुरहरुको वध गर्न पृथ्वीमा आफ्नो दोस्रो पाइला देवीले मैदानमा टेक्दा यही क्षेत्रमा पर्न गयो । यसैगरी तेस्रो पाइला भारतखण्ड कलकत्ता क्षेत्रको गंगासागरमा पर्न गयो । तेस्रो पाउ परेको भारतको कलकत्तामा कालीदेवीको रुपमा चिनिएको कुरा पुराणमा प्रष्ट छ । पुराणले ब्याख्या गरेअनुसार कन्चनजंगा हिमश्रृंखलादेखि आफ्नो यात्रा आरम्भ गरी झापाको यही क्षेत्रमा राखिएको उल्लेख छ । यसरी कन्चनजंघा क्षेत्रमा रहेकी देवीको नाम कालिका हुनु र कलकत्तामा काली नामले देवीको स्वरुप रहनु एवं दुर्गा सप्तसतीमा श्रृंगे म हति काञ्चने अर्थात् सिंहमा बसेकी देवी कन्चनजंघाबाट उत्पन्न भएकी भन्ने करा प्रष्ट भएको कुरा उल्लेख भएका कारण पनि पाथिभरा देवीको पाउ झापामा भएको प्रष्ट बुझ्न सकिन्छ । कालिका देवीको पहिलो पाउ पर्न गएको यस क्षेत्रलाई श्री पाउ पाथिभराको रुपमा लिनुपर्ने धार्मिक विश्वास रहेको छ ।

झापाको चारआलीमा स्थापना गरिएको पाउ पाथिभरा देवीको मन्दिर


त्यस्तै अर्को तथ्य यस स्थलको उत्तरतर्फ उत्तरबाट दक्षिणतिर बगेको एक नदी अलौकिक तबरले पुनः उत्तरतर्फ बग्न पुगेको हुँदा पनि यो स्थान धार्मिक स्थलका रुपमा महत्वपूर्ण बनेको हो । उत्तरतर्फ बग्ने नदीमा स्नान गर्नाले रोग, व्याध, पाप नाश हुने र कर्म प्राप्ति, वचन शुद्धता हुने मान्यता लिइने गरिन्छ । यस क्षेत्र पाउ पाथिभरा स्थापना गर्नका लागि हरिचरण बानियाँको अध्यक्षतामा २५ सदस्यीय मन्दिर निर्माण समिति बनाइएको छ ।