हलेसी महादेवको दर्शन गर्न भक्तजनको घुइँचो

हरिवोल आचार्य
विकास र संरक्षणको पर्खाईमा हलेसी
खोटाङस् पूर्वको पशुपतीनाथ भनेर चिनिने खोटाङको हलेसी महादेवस्थानमा भक्तजनको घुइँचो लागेको छ। फागुनमा लाग्ने गरेको ७ दिनको शिवरात्री मेला भर्न अहिले स्वदेशी तथा विदेशी पर्यटकहरुको घुइँचो लागेको हो। यहाँ आज शिवरात्रीका दिन भग्वान शिवको दर्शन गर्नाले आफ्नो मनोकांक्षा पुरा हुन्छ भन्ने धार्मीक आस्थाका आधारमा भक्तजन आउने गर्दछन्।

मेला भर्नका लागि विभिन्न ठाउँ र बाहिरी जिल्लाका साथै अन्य देशहरु भारत, चीन, तिब्बतबाट समेत भक्तजनहरुको ओईरो लाग्ने गरेको छ। मौसम अनुकुल भएको कारण अन्य वर्षको तुलनामा यस वर्ष दोब्बर भक्तजनहरु हलेसी दर्शनका लागि आइपुगेको मन्दिर व्यवस्थापन समितिका अध्यक्ष गजुरमान राईले बताए। अध्यक्ष राईका अनुसार यहाँ आज १० पटक भन्दा बढी हेलिकोप्टर चार्टर गरेर भगवान शिवको दर्शन गर्न भत्तजनहरु आएका छन्। गत वर्षको तुलनामा यो वर्ष उल्लेखीय रुपमा भत्तजनको उपस्थिती रहको छ । हलेसी आउन उदयपुरको घुर्मी र ओखलढुंगाको हर्कपुरमा रहेको सुनकोसी नदीमा पुल बनेपछि सहज भएको छ। हलेशी महादेवस्थानको दर्शन गर्नाले चिताएको कुरा पुराहुने धार्मीक जनविश्वासका आधारमा धेरै भक्तजनहरुको ओईरो लाग्छ।

धार्मिक मान्यता अनुसार विलक्षण सुन्दरी महादेवकी पत्नी पार्वती देखि विछट्टै आकर्षित भई पार्वती प्राप्त गर्न तथा आफू वलवान बन्ने आशिर्वाद माग्न ज्यादै कष्टपूर्ण तवरले राक्षस वकासुरले १२ हजार वर्ष सम्म तपस्या गर्‍यो,त्यसैबाट प्रभावित भई महादेवबाट वकासुरले आशिर्वाद प्राप्त गर्‍यो र महादेवकै सिरमा हात राखि महादेवलाई भष्म गर्न खोजेपछि राक्षस बकासुरबाट बच्न महादेव भाग्दै गई हलेशीमा लुक्न पुगे र सोही समयमा मित्र विष्णुले मोहनी सुन्दरीको रुप धारण गरी वकासुरलाई भष्म पारिदिए। तत् पश्चात हलेशी महादेवस्थानमा भगवान शिव विरजमान भएको किंवदन्ती रही आएको छ।

सदरमुकाम दिक्तेलदेखि आठ कोष पश्चिममा रहेको हलेशी गुफा धार्मीक आस्थाको आधारमा हिन्दु र बौद्ध दुवै धर्मको आस्थाको केन्द्र रहेको छ  । हलेशी महादेवस्थानमा रहेका गुफा तथा वौद्ध स्तुपहरु पर्यटकीय धरोहरको रुपमा रहेको छ। यहाँ चैत्रमा रामनवमी मेला १५ दिन, मंसिरमा वालाचतुर्दशी मेला १२ दिन, फाल्गुणमा शिवरात्री मेला ७ दिन र भदौमा तीज मेला एक दिन लाग्ने गरेको मन्दिर व्यवस्थापन समितिका सल्लाहकार हेमन्त गिरीले बताए।

यहाँ रहेका पापद्धार, धर्मद्धार, स्वर्गद्धार, जन्मद्धार र घोप्टेद्धार छिर्दा १८ वटा नरक बाट मुक्ति पाईने धार्मिक मान्यता छ। सन्तान नभएकाहरुलाई पुत्रलाभ हुनका साथै शरिरमा भएका रोगव्याधी निको हुने र मनोकांक्षा पुरा हुने धार्मिक मान्यता अनुसार दर्शनार्थी तिर्थालु भक्तजनहरुको भिड लाग्ने गरेको छ। प्रचार प्रसार र विकासको अभावमा ओझेलमा परेको हलेशी महादेवस्थान यतिबेला संरक्षणको पर्खाईमा रहेको छ। हलेशी विकासका लागि भन्दै विभिन्न संगसंगठन च्याउ झै उम्रेपनि केही गर्न नसकेको स्थानीय रत्नकुमार राईले बताए। हलेशी विकासका लागि भन्दै त्यहाँ वर्षेनी भक्तजनहरुबाट बजार कर समेत उठाउने गरिएको छ तर विकास हुन सकेको छैन।