दुर्गम हुनुको पीडा र वास्तविकता

दिपेन्द्र रोकाया

विषय प्रवेश
दुर्गम भनेको टाढा हो । दुर्गम भनिएका बस्तीबाट हेर्दा काठमाडौ दुर्गम हुन आउँछ । म जन्मेको हुम्लामा हो । मैले हुम्लाबाट हेर्दा काठमाडौ दुर्गम देख्छु । यस्तै हेराई काठमाडौबाट भएको छ । तर यी दुई मध्ये काठमाडौसँग शक्ति छ, स्रोत छ र साधन छ । यस्तो दुर्गमता मेट्न हुम्लाबाट भन्दा काठमाडौबाट सकारात्मक सोच विकास हुन पर्ने हुन्छ । यसो भन्दा हुम्लाले हात बाँधेर बस्न पर्छ भनेको भने पक्कै होइन ।

दुर्गम नेपालका बारेमा छलफल गर्ने हो भने विभिन्न तकर्नाहरु आउने गर्दछ । अहिले त्यस्ता दुर्मम क्षेत्रहरुलाई पछि परेको क्षेत्रका रुपमा लिने गरिएको छ । वास्तवमा यो पछि पारिएको क्षेत्र हो । केही दिन अघि दुर्गम विकास समितिका पूर्व उपाध्यक्ष छक्कबहादुर लामासँग भेट भयो । उनले दुर्गम क्षेत्र बारे नयाँ जानकारी दिए । उनको कुरा सुनेर म छक्क परेँ । त्यही कुरा दुर्गम नेपाल मार्फत् सार्वजनिक गर्न चाहन्छु ।

२. दुर्गमको पनि राजनीति !
पञ्चायत कालमा राजा महेन्द्रले हिन्दु धर्मलाई उत्तरी क्षेत्रको भित्रै भागसम्म प्रवेश गराउन मेहनत गरे । महेन्द्र जनजागृति पाठशाला खोलेर थुप्रै भाषा पाठशालाहरु स्थापना गरे । ती पाठशालाहरुको उद्देश्य शैक्षिकभन्दा राजनीतिक थियो । मुल उद्देश्य हिमालका तिब्बत भाषिहरुलाई तिब्बती सम्पर्कबाट छुट्याउनु थियो । कारण, राजा महेन्द्र मुगुको रारा ताल हेर्न गएको बेला एक जना भोटेलाई ‘तिमीहरुको राजा को हो ?’ भनी सोधेछन् । ‘हाम्रो राजा दलाई लामा हो’ भनेर स्थानीय लामाले सुनाएपछि तरंगित भएका महेन्द्रले नयाँ रणनीति अख्तियार गर्न पुगे ।
चीनसँग जनतास्तरीय सम्बन्ध कटाएर शासकीय सम्बन्ध स्थापित गराउन महेन्द्र सफल भए । चीनले नेपाललाई राज्यस्तरीय ठुलो सहयोग ग¥यो । यस सहयोगको २५ प्रतिशत रकम दुर्गम विकास समिति मार्फत् नेपालले उत्तरका १५ जिल्लामा विकास गर्ने ब्यवस्था त ग¥यो, तर मुस्लिम महिलाले झैं बुर्का लगाएझै गरी । हिमाली क्षेत्रमा राज्यले विदेशी नागरिकलाई जानै नदिने गरी निषेधित क्षेत्रका रुपमा घोषणा ग¥यो ।  लामाका अनुसार यसलाई नेपाल–चीन दुवै देशले दलाई लामाको गतिविधिलाई रोक्ने अचुक कार्य ठानेको देखियो, जसको मार हामी हिमाली क्षेत्रका मान्छेहरुले खेप्नु प¥यो । यो कुरा उनले  दुर्गम विकास समितिको उपाध्यक्ष भएपछि राम्रो गरी अनुभव गरेको पनि बताए ।


३. कतिञ्जेल दुर्गम रहन्छ ?
दुर्गम क्षेत्रका रुपमा चिनिएको भूगोल हिमाली र पहाडी क्षेत्र हो । यो क्षेत्र उत्तर र दक्षिणी मैदानको सांस्कृतिक अवशेष रहेको भूमिगत थलो हो । नेपालको हिमाली भेगमा पाउने तिव्बतीय संस्कृतिहरु स्वभावैले विविधता हुनुका साथै तिव्बतको मुलधारको एकरुपीय संस्कृतिभन्दा पुरातन छ । कठिन भौगोलिक अवस्थाका कारण भोट–वर्मेली समुहहरु मात्र होइन आर्य खस भाषीहरुवीच पनि ठुलो विविधता रहेको पाइन्छ ।
चीनको जनवादी ब्यवस्थाले पुरानो तिब्बतको जनजीवनमा क्रान्तिकारी फेरबदल आएको छ । त्यही रुपमा त्यसको अभिन्न अंगका रुपमा रहेको हिमाली क्षेत्रको जीवनशैलीमा अप्ठेरो परेको छ । किनभने परम्परागत तिब्बती नुन र ऊनमा आधारित ब्यवसाय एकातिर धरासायी भयो भने अर्कातिर तिब्बत र नेपालबीच रहेका ब्यापारी नाका तथा बजारहरु बन्द हुन पुगे । हिमाली भेगका जनता दोहोरो मारमा परे । यसैको परिणामस्वरुप सिमानाका परम्परागत हाट बजारको विघटन र चरन क्षेत्रको उपभोगमा कठिनाइ आएपछि अधिकांश पशु ब्यवसायामा आधारित ब्यवसाय चौपट प¥यो । अर्कोतिर नेपालको सामुदायिक वन नीतिले उधौली–उभौली जीवन पद्धतिलाई दखल पु¥यायो ।
जबसम्म हिमाली क्षेत्रसम्म लिङ्क सडक पुग्दैनन्, वा पश्चिम दार्चुलादेखि पूर्व इलामसम्म केवुलकार मार्फत् हिमाली राजमार्ग बन्दैन, तबसम्म दुर्गम मानिएको क्षेत्र दुर्गमको दुर्गममै सिमित हुने अवस्था छ । यहाँ जनसंख्याका आधारमा निर्वाचन क्षेत्रहरु छन्, त्यस हिसावले हेर्दा सिंगो कर्नालीको भन्दा एउटा झापा जिल्लामा बढी बजेट विवियोजन हुने विद्यमान असमानता लाद्ने राज्य प्रणाली छ । यस्ता नीतिगत धारणा नउल्ट्याउँदासम्म दुर्गमका नाममा राजनीति भईरहने देखिन्छ ।

४. काठमाडाैंको दलाली
राज्य जनताप्रतिभन्दा विदेशीहरुप्रति उत्तरदायी हुनुको परिणाम दुर्गम जिल्लाहरु झन् दुर्गम हुन पुगेका छन् । नेपालका विकास विज्ञहरुका अनुसार उत्तरतिरको विकास गर्न दक्षिणले रोक्ने गरेको छ । पश्चिमा देशहरुले रोक्ने गरेका छन् । तर उनीहरु उत्तरको जासुसी गर्न यो वा त्यो गतिविधिमा क्रियाशील हुने गर्दछन् । यस्ताको लागि नेपाल सरकार नीतिगत रुपमा स्पष्ट भएर उभिन नसक्नुले काठमाडौको दलाली बुझ्न कुनै महाभारत लाग्दैन ।
अझै पनि उत्तरमा खाद्यान्न अभाव भएकाले त्यहाँ संस्कारगत रुपमा खाना खाएपछि खाएको भाँडो चाट्ने चलन छ । दक्षिणमा औलो उन्मुलन भएपछि नेपालको तराई क्षेत्रमा भारतीय नून बजारमा आउन थाल्यो । उत्तरमा चिनियाँ सडक र भौतिक पूर्वाधारको विकास भई उत्तरबाट खाद्यान्न आउन थाल्यो । दक्षिणबाट नून र चामल आपूर्ति हुन थाल्यो । तिव्बती नूनमा आयोडिन नभएको घोषणा गर्दै त्यसैको कारणले उच्च हिमाली क्षेत्रमा बढि गलगाँठ लागेको भन्दै उक्त रोगको रोकथाम गर्न राज्यले आयोडिन आपूर्तिको नाममा अनुदान दिएर मोटरबाट पहाडमा र हवाइजहाजबाट उच्च– हिमाली जिल्लामा भारतीय नून ढुवानी गरिदियो । यसबाट उत्तरको तिव्बती नून व्यापारमा आधारित जिवनशैली समाप्त भयो । यदि तिव्बती नूनका कारणले मात्र गलगाँठ हुँदो हो त सबैभन्दा बढि गलगाँठ भएको मान्छे तिव्बतमा फेला पर्नु पर्ने हो तर त्यस्तो अवस्था छैन । यसमा राज्यले नून चामलको राजनिति गरेको प्रष्ट हुन्छ । यसबाट परनिर्भरता मात्र थोपरिएको अवस्था छ ।

यसरी कर्नाली लगायत सिमान्तकृत दुर्गम उत्तरी क्षेत्रहरु राज्यको उपेक्षाको कारण दिन प्रतिदिन पिछडिदै गएको छ । यसको ठिक उल्टो उता तिव्बततर्फ हिजो नेपाली अन्नमा भर पर्ने दुर्गुम तिव्बतीहरु आज चिनियाहरुको तिव्बत आगमनपछि तिव्बतको पूर्वाधारको विकासमा अजंग हेरफेर भएको छ । संसारकै छानोमा आएको परिवर्तनले तिव्बतलाई विकसित बनायो । त्यसको प्रभाव नेपालको दुर्गम क्षेत्रलाई परेको छ । यो पीडा दुर्गम क्षेत्रले कतिञ्जेल खेपी रहने ?

५. निष्कर्षः
दुर्गमको नागरिक हुनुले हरेक अवसरबाट बञ्चित हुन परेको अवस्था छ । असमान नीतिले गर्दा समान प्रतिस्पर्धा गर्न परेको अवस्था छ । आजकल कतिपय ठाउँमा पिछडिएको क्षेत्रको नाममा केही संरक्षित कोटा छुट्याएको विज्ञापन देखाउने गरिन्छ तर काम उनै हुनेखाने र पहुँच भएकाहरुका लागि मात्र हुने गर्दछ । यही परम्परा चलिरहने हो भने अर्को सामाजिक द्वन्द्व उठ्ने पक्का छ । यसो भएकाले बेलैमा राज्यले दुर्गमका आवाजहरुमा सम्बोधन गर्नपर्छ । बदलिदो परिस्थितिसँगै चीन र भारत विचको सम्बन्ध सामान्य  हुँदै गएको छ । पूर्वका नथुला लगायत हिमालयका कयौं ठाउँहरुबाट फेरी व्यापार थालिने भएको छ । हिजोको वस्तु विनिमय अर्थ प्रणालीमा आधारित अविकसित तिब्बत आज बजारमुखी अर्थप्रणालीलाई अबलम्बन गरेर विकसित भईसकेको छ । त्यहाँको क्रयशक्ति पनि बढ्दो छ । त्यसैमा पनि तिब्बत विश्वकै दोस्रो धनी राष्ट्र भएको देश चिनको एक स्वशासित क्षेत्र हो । हाल तिब्बतमा सडक एवं रेलवे जस्ता विकासका पूर्वाधारहरुको क्षेत्रमा अजंग तरिकाले हेरफेर भएको छ । यस अवस्थामा हिमाल पारीको विकासलाई हिमाल वारीको समृद्धिको निम्ति प्रयोग गर्न र त्यहाँको दरित्रतालाई हटाउन तिब्बत र चीन सम्बन्धि समय सुहाउँदो सहि नीति निर्माण गर्नु अति जरुरी छ ।

यसो त हिमाल वारपारका स्थानहरु चिसो लेकाली हावापानी हुनाले यहाँको नीति निर्माता पहाडको नभई यसै क्षेत्रको हुन पर्छ । यस्तैगरी हुम्लाको लिमीदेखि सर्वोच्च शिखर सगरमाथासम्म र त्यहाँबाट इलामसम्म हिमाली दुर्गम क्षेत्रको समग्र परिवर्तन ल्याउन केबुलकारको लोकमार्ग निर्माण गर्न आवश्यक छ । यसका लागि संसारमै अति सस्तो माथिल्लो कर्नाली जलविद्युत परियोजना यो देशले नै अविलम्ब निमार्ण गर्न पर्दछ । दुर्गम हिमाली क्षेत्रका आम जनताले यस्तो माग एक स्वरमा निकाल्न आवश्यक छ । दुर्गमवाशीका कुरा सुगमवाशीहरुको दिमागमा पार्न जरुरी छ ।

(लेखक संवाद डवलीका अध्यक्ष तथा चर्चित पुस्तक ‘नाफाको जिन्दगी’ का लेखक हुनुहुन्छ । उहाँले खस–ब्यासी–थपाल्याको नलेखिएको इतिहास’ भन्ने पुस्तक पनि लेख्नु भएको छ । एक दर्जन पत्रपत्रिका र रेडियोमा काम गरिसक्नु भएका रोकायाले राजनीतिशास्त्र विषयमा त्रिभुवन विश्वविद्यालयबाट पिएचडीमा शोधरत हुनुहुन्छ ।–सम्पादक)