कर्णालीका विद्यार्थीको सपना र कर्णालीका विद्यालय

लवेन्द्र जंग हमाल जुम्ला

नेपाल एक विकासोन्मुख एवं भुपरिवेष्ठित राष्ट्र हो । नेपालले विकास चाहेको छ । त्यो विकास त्यति सजिलै प्राप्त गर्न सकिंदैन । कुनै पनि राष्ट्रको समग्र विकासका लागि हामी मान्छेको सोचमा परिवर्तन आउनु पर्छ, त्यो परिवर्तन शिक्षाले गर्छ । व्यक्तिगत विकासले समाज परिवर्तन गर्छ, समाज विकासले राष्ट्र बदलिन जान्छ । आधारभूत शिक्षा त जीवन यापनका लागि मात्र भयो, बैज्ञानिक शिक्षाको पहुँच पुग्नु आजको आवश्यकता हो ।

नेपाल शैक्षिक गुणस्तरले अन्य विकसित राष्ट्रको जसरी फड्को मार्न नसक्नुका पछाडी थुप्रै कमजोरीहरु लुकेको छन् । नेपालका सबै ठाउँहरुमा समान किसिमले पहुँच पुगेको छैन । विकसित सहर र राज्यको केन्द्रित नजिक रहेका केही ठाउँहरु मात्रै अघि छन् । राष्ट्रको समान अवसर नपाएका थुप्रै ठाउँहरु मध्येको एक हो कर्णाली ।

हाम्रा कर्णालीका जिल्लाहरु त केवल राष्ट्रको भूगोल बनाउन र मानचित्रमा देखिने मात्रै भए । खाली काठमाडौं, विराटनगर, पोखरा, नेपालगन्ज जस्ता सहरको शैक्षिक विकासले मात्रै राष्ट्र परिभाषित हुन सक्दैन । यसका अतिरिक्त मध्ये हाम्रो कर्णाली पनि एक हो । हाम्रो कर्णालीले मात्रै कुल क्षेत्रफलको १५% भू–भाग ओगटेको छ । के राष्ट्रले बाँकी ८५% भूगोललाई मात्र नेपाल भन्न सक्छ त ? यदि यसो हो भने सिङ्गो राष्ट्रको परिभाषा पुग्दैन, भौगोलिक भेदभाव सिर्जना हुन गई राष्ट्रको प्रणाली खलबलिन सक्छ । जसरी मानब परिपक्व हुन उसका सबै अङ्गहरुको समान विकास हुनुपर्छ, त्यसरी नै राष्ट्र पुर्ण हुन देशैभरिका सबै गाउँठाउँ, पिछडिएका वर्ग, समुदाय, दुर्गम क्षेत्रलाई राष्ट्रको शैक्षिक विकास सँगसँगै लैजानु पर्छ अनि मात्र कर्णालीका जनताले राष्ट्रको परिभाषा खुलेर दिने छन् ।

कर्णालीमा विद्यालय नै छैनन् भन्न सकिन्न, यहाँ थुप्रै विद्यालयहरु स्थापना भएका छन् । हाम्रो सन्दर्भ मात्रा सँग होइन गुणस्तर सँग हो । कर्णालीले विद्यालय चाहेको होइन, बलियो र गुणस्तरीय शिक्षा चाहेको हो । कणालीमा किन यस्तो भयो भन्ने प्रश्नको उत्तर सोझै भौगोलिक विकटता हो भनेर उत्तर दिइन्छ । खाने मुखलाई जुँगाले छेक्न सक्दैन भने जस्तै यदि सरकारले कणालीलाई कणालीकै नजरले हेरेको छ भने यसले विकासको फड्को मार्न बेर गर्दैन ।

कर्णालीमा गुणस्तरीय शिक्षाको मुल फुटाउन जुम्लामा कणाली प्राविधिक शिक्षालयको स्थापना भएको छ । यसले कणालीका केही विद्यार्थीको भार त थाम्यो र केही सिमित विषयहरु अध्ययन गराउँदै छ । थप विषयहरु पढ्न गरिब कणालीका छोराछोरीलाई देशका विकसित सहरहरुमा जानुपर्ने अवस्था छ जुन् राष्ट्रले दिएकै र देखेकै सम्स्या हो । दैनिक छाक टार्न धौ धौ पर्ने कणालीवासिका छोराछोरी कसरी महँगो र गुणस्तरीय कलेज, क्याम्पसमा पढ्न सक्लान । यो त केवल कल्पनाले दिएको सपना मात्रै भयो । उच्च शिक्षा प्रदान गर्ने कलेज, क्याम्पस तथा विश्वविद्यालयले लिने महँगो शुल्क कणालीका सबै विद्यार्थीले पाउन सक्दैनन् । खेतीपातीले जीवन गुजारा गर्ने कणालीका विद्यार्थीको सन्दर्भमा नेपालको शिक्षा प्रणाली समाबेशी छ भन्नु गलत छ । कणालीमा साक्षरता दर कम हुनु, मानब विकास सूचकांकमा तल पर्नु कणाली जनताको कमजोरी होइन, राष्ट्रले बञ्चित गराएको समान र समावेशी अवसरको कमजोरी हो ।

कणालीमा आधारभूत शिक्षा त पुगेकै छ, मात्र बैज्ञानिक एबं प्राविधिक शिक्षाको अपुग हो, बलियो शिक्षाको खाँचो हो । हाम्रा जिल्लाहरुमा बलियो शिक्षाको अभाव हुनु मध्येको एक कारण सामुदायिक विद्यालयको खस्किंदो शिक्षण विधि पनि हो । सामुदायिक विद्यालयहरु शिक्षकको लापरवाही, शिक्षकको निरन्तर असहभागिता जस्ता समस्याको शिकार भइरहेका छन् । शिक्षकको उपस्थिति नहुनु या भएपनि कक्षा कोठासम्म नजानुका कारणले माथिल्लो कक्षाका विद्यार्थीले तल्लो कक्षामा गई पढाउने गरेको झुटो शिक्षण विधि पनि छर्लङ्ग छ । कणालीका विद्यालयहरुमा शैक्षिक सत्र फाल्गुन बाट शुरु हुने गरेपनि बैशाख जेठ पछि मात्र पढाइ सुचारु हुने गर्छ । विद्यालयमा पढाई शुरु हुने गरेको दुर्ई तीन महिना पछि पनि सबै विद्यार्थीसँग पाठ्यपुस्तक पुगिसकेका हुँदैनन्, पढाई सक्नु त परै जाओस् । पाठ्यपुस्तक छन् त शिक्षक छैनन्, शिक्षक छन् त पढाई छैन, पढाई छ त गुणस्तरको छैन । यो नै कर्णालीका विद्यालयको परिपूरक सम्बन्धहरु हुन् । झनै त सामुदायिक विद्यालयमा अंग्रेजी भाषाका पाठ्यपुस्तक भन्दा नेपाली भाषाका पाठ्यपुस्तकलाई जोड दिइन्छ । यसको फल कर्णालीका विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा निकै कठिनाई परेको छ । कर्णालीका विद्यार्थी चारैतर्फबाट समस्या नै समस्याले बाँधिनुपरेको छ । विद्यार्थीलाई सिकाई त परै जाओस, समस्या झेल्दै समय वितिसक्छ र गन्तव्यमा पुग्न गाह्रो पर्छ । कर्णालीका सामुदायिक विद्यालयहरुमा शिक्षक पर्याप्त छन् भन्नु खाली कागजी लेखाई मात्र हो ।

बैज्ञानिक अनुसन्धानले देखाए अनुुसार कर्णालीमा बहुमूल्य खनिजको भण्डार छ । यहाँ भण्डार छ भनेर भन्ने मात्रै होइन यसको उत्खनन् पनि सम्भव छ, यदि कर्णालीका विद्यार्थीलाई वैज्ञानिक शिक्षाको पहुँच पु¥याउने हो भने । दक्ष जनशक्ति कर्णालीका दबेर रहेका छन् । उनीहरुलाई उकास्नु पर्छ । हजार सम्भावना, ला्खौं सपना र करोडौं आकांक्षाहरु कर्णालीको गर्भभित्र छन् । त्यसलाई जन्म दिने काम आजका हामी कलिला विद्यार्थीको काँधमा छ । हामीलाई कर्णालीमै बैज्ञानिक शिक्षा चाहिन्छ । हामीलाई विकसित सहरहरुमा पढ्नु छैन, दुषित हावापानी, आधुनिकता र विदेशि रहनसहनमा रम्नु छैन । हामी हाम्रै कर्णालीको स्वच्छ हावापानी खाएर आफ्नै मातृभूमीमा पढ्न चाहन्छौं । मुगुको रारा ताल, डोल्पाको शे–फोक्सुन्डो तालको बारेमा थप अनुसन्धान गर्न, कर्णालीका खनिज खानी पत्ता लगाउन वर्तमान समयको खाँचो हो, हामी गछौं, हामी बदल्छौं कर्णालीको काँचुलि । कर्णालीका जिल्लाहरुमा अत्यधिक उत्पादन हुने स्याउ र स्याउ खेतीमा नयाँ ढङ्गको कृषि शिक्षा पहिल्याउन चाहन्छौं, रातो सुन फलाउन चाहन्छौं । कर्णालीमा थुप्रेर रहेका सम्भावना साकार पार्ने छौं । कर्णालीलाई अवसर चाहिएको मात्रै हो । कर्णाली भौगोलिक विविधता र प्राकृतिक सौन्दयैले सम्पन्न त छँदै छ अझै हामी बढाउने छौं कर्णालीलाई । यतिखेर कर्णाली अँध्यारोमा चिच्याइरहेको छ यसलाई गुणस्तरीय शिक्षाको प्रकाश चाहिएको छ ।

कर्णालीको विकास विना राष्ट्रले एक हातले ताली बजाउन सक्छ भन्नु मुर्खता हो । कर्णाली विना राष्ट्रले न ताली बजाउन सक्छ न अगाडि बढ्न नै । हामीलाई बैज्ञानिक शिक्षा चाहिएको छ, हामी कर्णालीमा बगीरहेका सयौं नदीनालाले सिङ्गो राष्ट्र झिलिमिलि पार्न सक्छौं । कर्णालीका विद्यालयहरुमा जल्दाबल्दा समस्या, कर्णालीका विद्यार्थीले चाहेका मागहरुलाई वाहिर ल्याउन र पानामा उतार्नु एक निष्ठाबान विद्यार्थीको पहिलो शैक्षिक क्रान्तिको सुरुवाती संकेत हुनेछ ।