मेरो डायरीका पाना

आज झण्डै चार वसन्त वितिसक्नै आँटेछ, उसको याद त कायमै छ । हुन पनि उसको र मेरो भेट बसन्तकै फूलसँग साटिंदै हरियाली पल्लवीसम्म फिंजिएको थियो । उनको तस्वीर आँखाको नानीमा बसेर हृदयमा नै पराकम्प ल्याउन अब्बल भइसकेछ । सपनामा झुल्किने उनको मुस्कान विपनामा विलाईदिन्छ । फूलको सुवास सँगै फैलने उनको मिठो माया किन आज लोप हँुदैछ । त्यो निर्दोष समयलाई मैले गलत आरोप लगाउन पुगेछु ।

चार बर्ष एक महिना अगाडिको कुरा हो । हामी विच प्रेमको प्रक्रिया चलिरहेको थियो । सायद प्रेमपत्र नै मनले नलेखिएको हो कि, मायाको नाटक हो, दैब जानुन् । उसको निष्ठुरी पन हो कि मेरो, निसाफ भगबानको जिम्मामा छोड्न चाहन्छु । त्यतिखेर जेठको महिना टन्टलापुर। घाममा हामी एक नदीको किनारमा बसिरहेकै बेला दिइएको प्रेम पत्रको प्रतिउत्तरमा लेखिएको थियो “मैले चाहेका सबै गुृण तिमीमा छैनन्” । काँडामै फूलको सुवास भेटाउन सक्नेले, फूलमै फूलको सुवास हराउँदा रहेछन् । ऊ त चन्द्रमाको दाग स्वीकारेर सुन्दर भन्न सक्ने मान्छे, चन्द्रमाको मधुरो किरण सूर्यको तेजिलो प्रकाश सँग दाँज्न सक्ने मान्छे । तर पनि मेरो मन ऊ प्रति नै थियो । त्यसपछि पनि मैले थुप्रै म्यासेजहरु पठाएँ, रिप्लाई आएन, फोन गरें, चौबिसै घण्टा व्यस्त । नहुनु पनि कसरी व्यस्त छ जीवन, रमाइला छन् पलहरु । म त हाँगाबाट छुट्टिएको पात जस्तै बनें, ऊ पलाउन लागेको पल्लवी जस्तै हरियाली ।

थाहा छैन, कुन समयको संयोगले हाम्रो चिनजान भयो, कसरी नजिक भयौं, किन छुट्टियौं ? सायद पूर्णिमाको दिन चन्द्रमा नदेखिने भए उनको चन्द्रमुखी मुहार विर्सिसक्थें होला, कोइलीको सुमधुर स्वर नसुनिने भए उनको बोली मुखैमा झुण्डिन्न थियो होला, शितल पवन नबहने भए उनको आभाष हुन्थेन होला, फूल नदेखिने भए उनको सौन्दर्य मनमा टाँसिन्न थियो होला । यो कस्तो अनौठो प्रेम कहानी हो ? आफैंलाई सोध्छु, मन मौन छ, मुटु टुक्रिंदै छ, हृदय जल्दै छ । म उनलाई चाहेर पनि भुल्न नसक्ने भएँ । उनीसँगै बिताएका रमाइला क्षणहरु आज सम्झनामा आइरहन्छन् । बिर्सुं भन्छु सपनाले भेट गराइदिन्छ, सम्झन खोज्छु संसार नै भुलेर एकान्त रुपी भइदिन्छु । संसार विचित्र छ, जहाँ प्रेममा बाँधिनेहरु थुप्रै छन्, चाहे त्यो सफलताका लागि होस् या मेरो जस्तो डायरीको पेज भिजाउन होस् । संसारमा साँचो प्रेम गर्नेहरु मुश्किलले भेटिन्छन्, मायाको नाटक गर्नेहरु गन्न नै सकिन्न । कोही प्रेम स्वार्थको लागि गर्छन त कोही असल प्रेम । अब उसलाई भन्नुपर्दा के भन्नुहुन्छ ? स्वार्थी कि असल पे्रमीका, यो प्रश्न पाठकको खल्तिबाट टिप्न चाहन्छु । प्रेम होस् त मुना मदनको जस्तो भन्ने मान्छे, प्रेमका अन्तर सम्बन्धका लागि राधा र कृष्णको नाम जप्ने मान्छेका बचनहरु आज प्रमोद खरेलका गीत जस्तै पागल भएका छन्, अन्जु पन्तका गीत जस्तै विछोड संगीतका पात्रहरु भएका छन् । फूल फूलेको देख्ने वित्तीकै हाम्रो प्रेम फूल जस्तै सुन्दर छ भन्ने मान्छे आज आफैं फूल नै कुल्चेर गइसकि, तिम्रा लागि आकाशका तारा झार्छु भन्नले आज आँसुका धारा झारेर गइसकि, तिम्रा लागि मर्न तयार छु भन्नेले आज जिउँदै मारेर गइसकि । एक दिन स्कूलबाट घर फर्किंदै गर्दा भनेकी थिइ, “मायामा अपार शक्ति हुन्छ”, आज त्यही शक्तिले उसलाई चिनाइसक्यो । पवित्र प्रेमको नाममा प्रेमको झुठो नाटकको अभिनय गर्नेलाई न त हिरो भनिन्छ न त हिरोइन नै, यस्तालाई त भिलेन भन्नुपर्छ । प्रेम युद्धको भूमिमा जो मरेर जान्छन्, उनीहरु कसैका निमित्त मरेर गएका हुन्छन्, जो लड्दा लड्दै जितेर बाँच्दछन्, उनीहरु कसैका लागि बाँचेका हुन् भन्ने बुझ्नु पर्दछ । तर उसलाई के थाहा, प्रेमको क्षितिज र प्रेममय लडाईं । उनीहरुलाई त केबल स्वार्थका लागि सुख दिने केटा चाहिन्छ, महलमा रानी बनाई सिंहासनमा राख्ने राजा चाहिन्छ । उनीहरुलाई त त्यो सादा जीवनशैली एकदमै दिक्क लाग्दो रहेछ । असल प्रेम शरीरको सौन्दर्य र यौवनलाई छिचोलेर हृदय सम्म पुग्नु पर्छ भन्ने बुझ्नु पर्छ ।

प्रेम सुखका लागि, खुशीका लागि मात्र होइन यो त दुःखलाई आत्मसात गरी जीवन बुझ्ने रहस्यको सानो संसार हो । प्रेम न भौगोलिक दुरीले बाधा हुन्छ, न कुनै बाध्यताले आधा हुन्छ । प्रेम सबैले बुझ्न सक्ने सरल समिकरण होइन यो जटिल छ । भनिन्छ प्रेम न परिणाममुखी हुन्छ न त परिमाणमुखी नै । तर ऊ जस्ताका लािग यो ठट्टा जस्तै भइसक्यो । सुविन भट्टराइको एउटा लेख पढेको थिएँ, “जस्को हृदयमा प्रेमको मूल फुटिरहन्छ, उसको ओठबाट सदा मुस्कान छुटिरहन्छ ।” खै † उसले पनि मुस्कान दिइ रहन्थी, अब के उस्को हृदय बाट प्रेमको मूल फुटेको थियो ? पक्कै थिएन, त्यो त प्रेमको धमिलो फोहर मात्र थियो । उसले आफूलाई जे ठान्थी, मैले ठम्याउन नसकेर होला, उसले आफूलाई सुन्दरी ठान्थी, मैले आकाशबाट झरेकी परी भनेर सम्बोधन गर्न भुलेर होला उसको नाटकको फिल्म पर्दामा आउनु अगाबै रद्द भयो । शायद हाम्रो प्रेम बसन्तमा फूल्ने थियो होला, हेमन्तमा रोेप्न पुगेछु । त्यो प्रेम फक्रिन नपाउँदै कोपिला मै ओइलाएर गयो । मेरो आँखामा जमेर बसेको आँसुको ताल आज झरना बनेर बग्न खोज्दा खोज्दै पनि विबशताले रोकिइरहेको छ । ऊ विना आज बसन्त नै किन नहोस्, सुक्खा लाग्न थालेको छ, फूलबारी पनि काँडाघारी जस्तै देखिन थालेको छ, जेठमा अंकुराएको हाम्रो प्रेम भु्रण मै तुहिएर गयो । आजकल जुनेली रात पनि अँधेरी रात सरह सम्हाल्न पुगेछु ।

प्रेम पाउन मात्र होइन, गुमाउन पनि हो भन्छन्, भनाईलाई स्वीकार्दै प्रेममा पागल भएर होइन, हाँसेर जिउन सिक्दैछु । सूर्यको गति सँगै चल्दै छु । ऊ जहाँ खुशी हुन्छे, त्यहीं रमाओस भन्ने चाहन्छु । उसको डाक्टर बन्ने सपना पुरा होस र प्रेम रोगीलाई पनि उपचार गर्न सकोस भन्न चाहन्छु । उसले बोल्ने हरेक शव्दहरु नारायण गोपालका गीतहरु जस्तै सदाबहार बनुन, उसले गुन्गुनाउने शव्दहरु संगीतमय बनुन । पुराना यादहरु उकास्दै गर्दा डायरीको पाना नै भिजिसकेछ । आँसुको वर्षालाई परेलीको छाता बनाई रोक्न खोज्दा खोज्दै डायरीका शव्द शव्दमा झर्न पुगेछन् ।