थोरै समय दुःख गरेर धेरै कमाइ हुने ठाउँ रहेछ कोरिया

यहाँको बाल्यकाल कहाँ र कसरी बित्यो ?
मेरो बाल्यकाल कैलालीको अत्तरियामा वित्यो । अन्य साथीहरूको तुलनामा बढि संघर्षपूर्ण भयो ।

तपाईंको विचारमा गीत–संगीत के हो जस्तो लाग्छ ?
गीतलाई जीवन दिने आधार सङ्गीत हो । गीत र सङ्गीत प्राणीको संवेगात्मक भाव प्रकट गर्ने आधार हो ।

यहाँको सांगीतिक यात्राबारे भनिदिनुस् न ?
मैले गीत गाउन सुरु गरेको करिब साढे दुई दशक भयो । सानै उमेरदेखि मन्चको प्रस्तुतिबाट साङ्गीतिक यात्रामा प्रवेश गरें । सानो छँदा आधुनिक र लोकगीत गाउने गर्दथें । पछि अन्य प्रकारका गीत पनि गाउन सुरु गरे जुन हालसम्म निरन्तर छ ।

देउडाको उर्वरभूमि सुदुरपश्चिममा जन्मिनु भो र देउडा त्यहाँको मौलिक भाका हो तर त्यसमा तपाईंका थुप्रै गीतले चर्चा र सम्मान पनि पाएका छन् तैपनि यहाँले आधुनिक गीतलाई नै रोज्नुको कारण के हो ?
अहिलेको जमानामा गायकले हरेक प्रकारको गीत गाउन सक्नुपर्छ । देउडा संस्कृति भुल्ने कुरा असम्भव नै हो । मेरो बिचारमा संख्यात्मक भन्दा नि गुणात्मक प्रस्तुति हुनुपर्छ भन्ने मान्यता हो ! पालैपालो सबै प्रकारका गीतहरु बजारमा आउनेछन् । पर्खाइको फल मीठो हुन्छ होला ।

पारीवारिक झमेला झेल्दै सांगितिक क्षेत्रमा अघि बढ्न कत्तिको सहज छ ?
त्यो सोचमा भर पर्छ । पारिवारिक सपोर्ट भयो भने सफलता छिटो प्राप्त हुने निश्चित पनि हो तर पारिवारीक कारणले नै अगाडी बढ्न सकिदैन भन्ने कुरा चाहीँ होइन ।

नेपाली सांगीतिक बजारमा आफू सफल हुन र आफ्ना सिर्जनालाई अझ व्यवसायिक बनाउन कस्ता सुधार ल्याउनु पर्ला ?
कलाकारले नयाँ शैली र नयाँ प्रविधि अपनाउँदै श्रोताको माग अनुसार अघि बढ्नुपर्छ र आफूमा भएका कमिकमजोरीहरु सुधार्न साधना पनि जरुरी छ ।

नेपालको सांगितिक क्षेत्रमा तपाइँको चर्चा बढ्दाबढ्दै पनि विदसिन बाध्य हुनुभयो ? अबका दिन तपाइँको सांगितिक यात्रा कसरी अगाडी बढ्दैछ ?
अहिलेसम्म गन्तव्यमा पुग्न हिडिएको थियो तर अलि छिटो पुग्न दौडिने प्रयास हो । कोरिया आउँदैमा मेरो सांगीतिक यात्रामा बाधा आउने होईन, अझ थप उर्जा मिलेको अनुभव भैरहेछ, कुनैपनि सर्जक अथवा गायकले विश्वको जुनसुकै भु–भागमा रहेरपनि आफ्नो प्रतिभालाई उजागर गरिरहन सक्छ, जहाँ नेपाली समाज रहेको छ । र अबको २ र ३ बर्षमा नयाँ एल्बमको योजना बनाएको छु ।

तपाइँको कोरिया अनुभवबारे बताइदिनुस् न ?
कोरिया भनेको थोरै समय दुःख गरेर धेरै समय घरपरिवार खुशी र सुखी राख्न सकिने रोजगारको गन्तव्य रहेछ ।

प्रश्न, गायन क्षेत्रमा नव आगन्तुकलाई के भन्न चाहनु हुन्छ ?
साधना गरेर सिकेर आउनुस भन्छु ।

अन्त्यमा भन्न छुटेको कुरा ?
मलाइ तपाइँको मिडियामार्फत् कुरा राख्ने अवसर दिनुभएकोमा धन्यवाद । आगामी समयम हेरेर पनि साथ दिनुहोला । धन्यवाद ।

प्रस्तुति ःडिकर्ण मल्ल