बाख्रापालनमा रमाउँदै जनयुद्धका कमान्डर

बझाङ : बुङगल नगरपालिका–२ का शंकर धामी भेडापालन गरेरै राम्रो आम्दानी गर्दै आएका छन् । शंकर मात्र होइन, गाउँकै किशोर धामी र कमल धामी पनि यो व्यवसायमा सक्रिय छन् ।

हिमाली क्षेत्रमा भारी बोक्न, ऊन र मासुका लागि भेडाबाख्राको प्रयोग हुन्छ । हिउँदेयाममा बेसी र वर्षायाममा लेकतिर लाग्नु उनीहरूको दैनिकी नै हो । ०५९ सालमा कक्षा ७ मा पढ्दै गर्दा तत्कालिन नेकपा माओवादीको सशस्त्र संघर्षमा लागेका उनीहरू अहिले भेडापालन गरेर वार्षिक ३ देखि ५ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् ।

माओवादीको सशस्त्र युद्धमा लागेका कमल धामीले कम्पनी कमान्डर र शंकर धामीले प्लाटुन कमाण्डरको जिम्मेवारीसमेत सम्हालेका थिए । किशोर धामी भने लडाकु थिए । उनीहरूसँग जनयुद्धको समयमा धेरै ठाउँमा युद्ध लडेको तीतो अनुभव छ ।

उनीहरूले पाल्पाको तानसेन, रुकुमको खारा, कैलालीको कारागार र बडैपुर बनखेत बुटवल, रोल्पालगायतका दर्जनौं ठाउँमा युद्ध लडेका छन् । “के राम्रो के नराम्रो छुट्याउनै नसक्ने उमेरमा भूमिगत भएका थियौं,” सञ्जय भन्छन्, “माओवादी आउँथे, बुर्जुवा शिक्षा हो यो पढ्नु हुँदैन, युद्ध गरेर सामन्ति सरकार ढालेर जनवादी सरकार ल्याउनुपर्छ भन्थे र आफूलाई पनि हो जस्तो लागेर भूमिगत भयौं ।” सोझा जनताका छोराछोरीलाई युद्ध लडाई नेताहरूले आफ्नो स्वार्थ पूरा गरेकोमा भने उनीहरूको गुनासो छ ।

घरायसी तथा विविध कारणले युद्धविरामसँगै घर फर्केपछि आफूलाई कसैले सहयोग नगरेको उनको गुनासो छ । घर फर्केपछि जेनतेन गरेर केही पैसा जम्मा पारि भेडाबाख्रापालनतर्फ लागेको उनी बताउँछन् ।

भेडाबाख्रा पालनमा थोरै लगानी गरेर राम्रो आम्दानी हुने भएपछि आफूहरू यो व्यवसायमा लागेको कमल धामीको भनाई छ । उनले भने, “भेडा–बाख्राका लागि चरण क्षेत्रको राम्रो सम्भावना रहेका ले हामीले यो व्यवसाय रोजेका हौं ।”

कमलसँगै माओवादीको युद्ध लडेका किशोर धामी पनि अहिले भेडाबाख्रा पालनमै रमाइरहेका छन् । उनी भन्छन्, “जनयुद्धले हामी तीन जनाको साथ कहिल्यै छुटाएन, सँगै भूमिगत भइयो थुप्रै स्थानका लडाइँ पनि सँगै लडियो र हाल पनि सँगै छौं ।” तीन जनाले अहिले ३ सय ५० वटा भेडाबाख्रा पालेका छन् ।

हिमाली क्षेत्रमा भारी बोक्न पनि प्रयोग हुने भएपछि उनीहरूले भेडा–बाख्रापालन व्यवसायबाट बर्षमा ५ लाखसम्म आम्दानी गर्ने गरेका छन् । “गतवर्ष भेडाका वाला बेचेर २ लाख ५० हजार आम्दानी भयो,” सञ्जयले भने, “भारी बोकेर १ लाख ३० हजार रुपैयाँ आम्दानी भयो भने ऊन बाट पनि राम्रै आम्दानी भएको थियो ।” उनीहरूले आगामी वर्षदेखि झन् बढी आम्दानी हुने विश्वास व्यक्त गरे ।