सहयोगको याचना गर्दै लुवार दम्पति !

मुगु जिल्ला, खत्याड गाउँपालिका, बडा नं. ८ निवासी जंग बहादुर लुवार र चैती लुवारको पहिलो सन्तानको रुपमा एक महिना अघि असार ४ गते दिपेश लुवार जन्मे । बुवा जंग बहादुर र आमा चैतीलाई जन्मजात घाउ भएको सन्तान जन्मिन्छ भन्ने कल्पनासम्म गरेका थिएनन् । स्थानिय स्वास्थ्य संस्था पुग्न घण्टौं लाग्नु, सामान्य सरसल्लाह दिने स्वयं सेविकाको सुविधा पनि नहुनु, घरैमा सुत्केरी हुन बाध्य हुनु, विरामी बोक्ने स्ट्रेचरजस्ता साधन उपलब्ध नहुनु, तत्कालको समस्या समाधानका लागि कुनै विकल्प नभएका अधिकांस मुगुवासीका यी साझा समस्या हुन् । र त्यसमा पनि दलित परिवारलाई हुने अछुत व्यवहारको पीडा अघि पछिझैं यस्तो बेला नि खेप्नुपर्ने हुन्छ । तन्नेरी जवानहरु विदेशिनु, सुत्केरी व्यथा लागेकी चैतिजस्ता विरामी र अशक्तलाई बोक्ने मान्छेको अभाव हुनु पनि आश्चर्य हुन छाडकोछ ।

 

व्यथा लागेको केहि घण्टामै नजिकको स्वास्थ्य संस्थामा हिँडेर आउँदै गरेका लुवार दम्पतिले बाटैमा छोरा दिपेशलाइ जन्माउन बाध्य भए । छोरा जन्मिनुको नजानिदो खुशी केहिबेरमै घटेको थियो, जब पेटमा ठूलो घाउ देखे लुवार दम्पतिले । भर्खरै जन्मेको शिशुलाई बोक्दै र सुत्केरी श्रीमति चैतिको हात समात्दै स्थानिय स्वास्थ्य चोकीमा पुगे । कार्यालय सहायकको भरमा चलेको स्वास्थ्य संस्थाबाट उनिहरु ३ दिन लगाएर जिल्ला अस्पताल मुगु पुगे । त्यहाँबाट उनलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान, जुम्लामा रिफर गरियो । कर्णालीको सुविधा सम्पन्न भनिएको अस्पतालमा पनि विरामी दिपेशले कुनै उपचार पाएनन् । चिकित्सकले यो नाइटोको हर्निया हो, यहाँ कुनै उपचार हुँदैन भनेर काठमाण्डौंको कान्ति बाल अस्पताल रिफर गरे । उपचारको लागि आर्थिक अभावका कारण उनिहरु फेरि मुगु फर्के र जिल्लामा केहि सरकारी र गैरसरकारी संघ संस्थामा याचना गरे । तर कसैले पत्याएनन् ।

 

गमगढीमा ब्याक टु लाइफ र हेरेन्डेक नेपाल नामक संस्थाले उनिहरुलाई मुगुबाट काठमाण्डौंसम्म पुग्ने आवश्यक बजेटको व्यवस्था गरेको छ । उनिहरु काठमाण्डौं पुगे पछि के गर्ने भन्ने पिरलो साँच्दै बाध्यताले आएका छन् । जन्मेको १ महिना पछिसम्म आधारभुत सुविधाबाट बञ्चित दुर्गम मुगुका १ महिने बालक दिपेशको अहिले झट्ट हेर्दा सामान्य अवस्थामा छन् । १ महिने नवजात शिशु दिपेशको नाइटोको हर्निया महिना दिन अघि भन्दा अहिले झन् बढ्दै गएको देखिन्छ । दिपेशका बाबुआमा भन्छन् हाम्रो छोराको उपचारका लागि घरको आर्थिक अवस्थाले सम्भव नहुने हुनाले जुनसुकै व्यक्ति, संघ–संस्था तथा अन्य निकायको सहयोगको पर्खाइमा रहेको याचना हाम्रो अनलाइनसंग गरिरहेका छन् । कुनैपनि सरकारी वा गैर सरकारी निकायले उपचारका लागि पनि सहयोग गर्न आवश्यक देखिन्छ ।

 

र, असक्त दिपेशको आगामी स्वास्थ्य अवस्था र समस्याका बारेमा हाम्रो अनलाइनले फेरि पनि खबर प्रकाशन गर्नेछ ।