भारत चीन तनाव बढ्दा नेपाललाई कति हुन्छ असर ?

काठमाडौं । चीन र भारतबीच कूटनीतिक सम्बन्ध चिसिएको छ भने सैन्य तनाव झन् बढेको छ। विवादित भूमि दोकलामबाट सैनिक तुरुन्त पछि हटाउन भारतलाई चेतावनी दिइरहेको चीनले आफ्नो सैन्य शक्ति सीमाक्षेत्रतर्फ अघि बढाएको छ। चिनियाँ सेनाको एउटा ठूलो समूह दशौं हजार टन हतियारसहित तिब्बततर्फ अघि बढेको चिनियाँ जनसेनाको मुखपत्र पीएलएले जनाएको छ।

 

एक साताअघि मात्र जनसेनाको एउटा समूहले तिब्बती क्षेत्रमा वर्षको सबैभन्दा ठूलो सैन्य अभ्यास गरेको थियो जसको भिडियो चिनियाँ टेलिभिजनबाट प्रसारण गरिएको थियो। चीनले हतियार ओसारेको र युद्ध अभ्यास गरेको क्षेत्र दोकलामबाट नजिकै रहेको हङकङस्थित साउद चाइना मर्निङ पोस्टले जनाएको छ । पछिल्ला दिनमा चीनबाट प्रकाशित हुने विभिन्न सञ्चारमाध्यमहरूले भारतलाई निरन्तर चेतावनी दिँदै आएका छन्। चीनको सरकारी मुखपत्र ग्लोबल टाइम्स र सिन्ह्वाले पनि भारतीय सेना विवादित भूमिबाट नफर्किएमा भारतले अप्रिय परिणामको सामना गर्नुपर्ने चेतावनी दिँदै आएका छन्।

 

चीन र भारतका सेना सीमावर्ती क्षेत्र दोकलाममा आमनेसामने भइरहेका वेला जनसेनाको अभ्यासलाई अर्थपूर्ण रूपमा लिइएको छ । चीनको पछिल्लो कदमले भारत थप सतर्क र चनाखो बनेको छ। चिनियाँ सेनाले दोकलाममा सडक निर्माण गरेपछि दुई देशबीचको तनाव चुलिएको हो । सो भूमिमा भुटानको दाबी छ र भुटानलाई भारतले समर्थन गरिरहेको छ । चीनले आफ्नो भूमिमा सडक निर्माण गरेको भन्दै भारतलाई हस्तक्षेप नगर्न चेतावनी दिएको छ। सडक निर्माणले सिक्किममा सुरक्षा खतरा बढेको भारतको दाबी छ। तनाव बढ्दै जाँदा नेपालले भोग्नुपर्ने समस्या के हुनसक्छ ।

 

परराष्ट्र जानकार हिरण्यलाल श्रेष्ठका अनुसार तनाव बढ्दै जाँदा भारतले आफ्नो सेनामा रहेका नेपाली नागरिकलाई लडाइँमा परिचालन गर्न सक्छ। त्यसक्रममा नेपाली नागरिकको भौतिक क्षति हुन सक्ने खतरा छु, श्रेष्ठ भन्छन्, नेपाल र छिमेकीबीचको पारस्परिक सहयोगमा समेत गम्भीर समस्या ल्याउन सक्छ। भारत र चीनबीचको तनाव बढ्दै गर्दा थप आर्थिक संकटहरू सिर्जना भई नेपालको आयात र निर्यातमा समस्या आउन सक्ने उनी बताउँछन्। भुटान र चीन तथा भारत र चीनको विवादमा पनि नेपालले तटस्थ बस्नुपर्ने र वार्ताबाट शान्तिपूर्ण समाधानका लागि अपिल गर्नुपर्ने उनको भनाइ छ।