आरुका फूल र जुम्ली हाँसो

खगेन्द्र गिरि कोपिला’
  1. कथा यस्तो छ— उहिल्यै जुम्लाको एकजना किसानको खेतमा रोपेको धानलाई खोलाको बाढीले बगाइदिएछ । त्यो किसानले त्यस खोलाका विरुद्ध राजाकहाँ उजुरी गरेछ । राजाले पनि किसानलाई भएको क्षतिलाई मनन गरी धर्म भकारीबाट खेतको क्षतिपुर्ति दिएर न्याय गरेका थिए रे ! त्यो कुन खोला होला ? मेरो मनले खोजिरहेको छ तर तीला र जवाँ खोलाको बगरैबगर टहल्दा यी नदीले कतै भूक्षय गरेको देखिएन । बडो अनुशासित भएर बगेका छन् यी नदीहरु ।

 

जिउ थाकेर लोथ परेको छ । टाउको भारी भएको छ । निद्रा खोजिरहेछ शरिरले तर मनले निदाउने आदेश दिएको छैन ।

 

हामी गमगडी र राराको यात्राबाट नेपालगंज फर्किदै छौं । हाम्रो टोलीमा छ जना छौं ‘शिरुपाते माया जाल’ भन्ने गीत गाएर हरदम हँसाइरहने जयवीर शाही, टोलीका सबैभन्दा चल्तापूर्जा फुर्तिला सदस्य प्रितमकुमार गुप्ता, रहरिला युवा इन्जिनियर पुष्पराज पाण्डेय, जसले जे भने पनि हाँसीरहने टोलीकी एक्ली महिला सदस्य सीता चौधरी अनि जीप चालक भाइ मधुसुदन उपाध्याय र यो पङ्तिकार । नब्बे किलोमिटर लामो गमगडी—नाग्म सडकको अधिकांश भाग हिमा नदीको काखैकाख सिंजा उपत्यका भएर कुध्छ । रारातर्फ जाँदा मनभरी कुतुहलता र जिज्ञासा थिए । यो बाटो काट्न सिंगै दिन लागे पनि थकाईको महसुस भएको थिएन तर फर्किदा ती कुतुहलता र जिज्ञासाहरु थाकेर होला बाटो काट्न सकस नै प¥यो । भरखरै खोलेको ट्रयाक निकै साँगुरो छ । बाटोको सतह राम्ररी नसम्याइएको हुनाले बाटोभरी छरिएका ढुंगाहरु जीपको पाङ्ग्रासित जुध्न खोजिरहे । हिजो राती परेको पानीले बाटो हिलाम्मे भएको रहेछ । जिऊ उङ्न खोज्छ तर खाल्डाखुल्डी बाटोमा कुदिरहेको जीपको हल्लाईले सुत्न दिदैन । जीपभित्र निरन्तर बजिरहेको दोहोरी गीत सुन्दासुन्दा झर्को लाग्न थाल्यो । जीप जता ढल्किन्छ हाम्रो जीऊ उतै ढल्किन्छ । नाग्म पुग्दा शरिर आधा हावा फुस्किएको भकुण्डोजस्तो लल्याकलुलुक भैसकेको छ । तैपनि प्रितम र पुष्प भने जहाँजहाँ जीप रोकिन्छ त्यहाँ फोटो खिच्न थालिहाल्छन् । आरुका फूल र स्याउका बोट देख्नै हुन्न, ढुङ्गेलो पाखोमा कुँदेर टिप्न खोजिहाल्छन् ।

   
राराछेऊको सल्लेरीबाट नाग्म पुग्न सिंगो दिन नै लाग्यो । भुलभुलेमा खाना खाएको समय कटाएर भन्ने हो भने जीप दिनभरी एकनाशले कुदिरह्यो । नाग्म पुगेपछि कच्चि सडकको सकस सकियो । चिसो पानीले मुख धोएर नास्ता खाएपछि केही फुर्तिलो भयो शरिर । हिमा र तीला नदीको संगमनिर बनेको पूल तरेर हामी नाग्मबाट पूर्व मोडियौं । आहा ! कति राम्रो सडक ! तीला नदीको छेवैछेउ पक्कि सडक पूर्वतर्फ कुध्न लाग्यो । हामी सडक आसपास र पारिपट्टिका पाखामा दृष्टि फ्याक्न थाल्यौँ । सलक्क परेको सडकमाथि सलल कुदिरहेको जीपको झ्यालबाट भित्र पसेको चिसोचिसो बतासले जुम्ला पुग्न लागेको हाम्रो उत्साहमा स्फुर्ति थपिरह्यो । यताको चिसो हावाले सबैभन्दा बढी माया गर्ने त ओंठलाई नै रहेछ । धुलोले सुक्न थालेका हाम्रा ओठमा यताको चिसो हावा ठोक्किएपछि परपरि फुट्न थाले । यो ओठ र जिब्रोको मायाप्रिति पनि अचम्मकै हुँदोरहेछ । ओंठमा जति जिब्रो ल्यायो उति ओंठ फाटिहाल्ने । फाल्गुण महिनाको शुष्क र खुला आकाशको माथिमाथि बादलका टुक्राहरु ओहोरदोहोर गरिरहेका छन् । तल गहिरोमा अनवरत दौडिरहेका छ तीला नदी । उसित प्रतिष्पर्धा गरेझैं दौडिरहेको छ सडक पनि । दुवैको गति उही छ तर गन्तव्य भने फरकफरक छन् । जुम्लाको विकट र आधुनिक विकासको जीवन्त साक्षी हो यो सडक । मजदुरका पसिना र जुम्लीका आँसुका अनेकौं कथाहरु पोखिएका छन् यही सडकमाथि, तर सडकले कहिल्यै गुनासो गर्दैन । कहिल्यै आफ्ना पीडा सुनाउँदैन कसैलाई । गुनासो र पीडा त सडकका पनि थुप्रै होलान् । गुनासो गर्ने त मान्छेको जातमात्रै हो । चट्टानैचट्टानले बनेका भीमकाय पहाडलाई फोरेर सलक्क परेको यो सडक बनाउने ती सिर्जनशील मस्तिष्क र परिश्रमी हातहरुलाई आज कसले सम्झिराखेको होला खै ?

 

नाग्मबाट रारालीही, कुँडारी, राँक, लिताकोट, तातोपानी, घौलापानी, खलाचौर, लाम्रा हुँदै श्रीढुस्का पुग्दासम्म हाम्रा आँखा वारिपारिका रंगीरिंगी दृश्यसित रमाइरहे । जुम्लामैं बसेर पढेका र यतैबाट कृषि विकास बैंकको जागिर खाएका हाम्रा हुम्ली साथी जयवीर शाही हाम्रा गाइड बन्दै देखाउन थाले । ऊ त्यो गैरी गाउँ, ऊ त्यो हरिश्चन्द्र महतको गाउँ, ऊ त्यो तातोपानी, ऊ त्यो स्याउ फाराम, उ त्यो चिमारा मालिका, ऊ त्यै डाँडापारि पर्छन् जुम्ली कल्याल राजाका पुराना दुईटा कोट यस्तैयस्तै जानकारी दिईरहे उनले, हामीलाई बाटो काट्न सजिलो भो । श्रीढुस्काको घुमाउरो मोड काटेपछि आँखा भरी जुम्ला उपत्यकाका बान्किला दृश्यहरु ठोक्किन लागे । मिचाबाट जुम्लाको बजार क्षेत्र शुरु भयो । सूर्यास्तको बेलामा लजाएझैं देखिएकी जुगाड खोलो तरेर जुम्ला प्रवेश गर्दा शुरुमैं चन्दननाथ मन्दिरको गोलोगोलो पहेंलोपहेंलो गजुर देखियो । यो गजुरलाई गजुर भनौं या शिवलिङ्ग भनौं म अलमलमा परेँ । हाम्रा कुतुहल आँखाहरु जुम्ला बजारको साँझपखको रमझममा रमाउन थाले । हामी सिधै संतोष होटेल पुग्यौ । सूर्य पनि बिस्तारै दक्खिनतिरको अग्लो पहाडले छेलिदै गए । बिस्तारै जुम्ला अँध्यारोमा हराउन थाल्यो । टिमटिमटिमटिम गरि जलिरहेका बत्त्तीले जुनकिरीको झझल्को दिइरहे । हामी खम्बीलाल शर्मा र राजेन्द्र आचार्यका गफमा तातिन थाल्यौँ । रात छिप्पिदै जाँदा चिसोको अनुभूति बढ्न थाल्यो ।


भोलीपल्ट बिहान छिट्टै आँखा खुले । जुम्लाको चिसो पानीमा नुहाउन सकस नै प¥यो । नुहाएर खाली पेट चन्दननाथ मन्दिर पुग्यौं । ब्रह्मा, विष्णु र महेश्वर तीनै रुपका अवतार मानिने भगवान दत्तात्रयको मुर्ती स्थापना गरेर चन्दननाथ मन्दिरको निर्माण गरिएको मानिन्छ । १५ औं शताब्दीमा यस मन्दिरको स्थापना कल्याल राजाहरुले गरेको मान्यता छ । चन्दननाथ मन्दिरका मुख्य मुर्तीहरु चोरिएको घटना सुनेर मन कुँडियो । चारैतिर एक तले घरले घेरिएको सानो मन्दिरमा आफ्नै खाले शोभा छ, आफ्नै खाले सौन्दर्य छ । ढुङ्गैढुङ्गाले बनेको र रातो माटोले पोतेको यो मन्दिरको छत पनि माटैले ढलान गरिएको रहेछ । मन्दिरको छत पितलले बनेको शिवलिङग आकारको छ । त्यसको वरिपरि रंगिबिरंगी ध्वजापताकाहरु फर्फराइरहेका छन् । गजुरमा टल्केको सूर्य किरणले  मन्दिरलाई शोभायमान बनाएको छ । यहाँ योगी सम्प्रदायका पूजारी रहने परम्परा रहेछ । फाट्टफुट्ट मान्छेहरु मन्दिरमा आउँदै गरेका देखिए । भक्तालुहरु आफ्नै धुनमा पुजामा लीन छन् । ‘ऊँ दत्तात्रेयायः बिद्महे दिगम्बराय धिमहि तन्नो दत्त प्रचोदयात्’ को मन्त्र गुन्जिरहेको छ, शंखघण्ट बजिरहेका छन् ।


मन्दिरमा पूजा गरेर हामीले अखण्ड ज्योति, यज्ञवेदी र बटुक भैरवको पनि परिक्रमा ग¥यौ । पटाङ्गिनिमा एक जना बृद्ध व्राह्मण भेटिए । एकछिन उनैसंग गफियौं । जुम्ला नामाकरणका थुप्रै कथा सुनाए उनले । उहिले जुम्ला उपत्यकामा तीन ओटा ताल थिए रे । ती तालको पानीले निकास पाएपछि यो उपत्यकामा मानवबस्ती बस्न थालेको हो रे । तर यसको आधिकारिक तिथिमिती भेटिदैन । तैपनि उनले काठमाडौंजस्तै जुम्ला पनि तालको पानी बाहिर बगाएर बनेको फाँटनै हुनुपर्छ भन्ने कुरामा ठोकुवा गरे । उनी भन्दै गए, हामी सुन्दै गयौं । जहाँबाट तालको पानीले निकास पायो त्यो ठाउँलाई छिना भनियो । छिनापारिको अग्लो डाँडोलाई छिनालाग्ना र तलको फाँटलाई छिनासिम भनिएको हो रे । जुम्ला उपत्यकाको अर्को नाम चौघान पनि हो । चारैतिर जताबाट आएपनि पुगिने भएकोले यसलाई चौघान भनिएको हो—ती बृद्धले तर्क दिए । उहिले पातरासी भन्ने ठाउँभन्दा पारि दुईटा पहाडका टाकुरामा जुम्ली राजाका कोट थिए । ती जुम्ल्याहाजस्ता कोटलाई जुम्ल्याहा कोट भन्दाभन्दै अपभ्रंश भएर जुम्लाकोट भन्न थालिएको अर्को कथा पनि उनले सुनाए । पछि कल्याल राजा बलिराजले आफ्नो राजधानी जुम्ल्याहा कोटबाट चौघानमा सार्दा जुम्ला नाम पनि अग्लो कोटबाट यो गहिरो फाँटमा सरेको रहेछ ।

 

चन्दननाथ मन्दिरबाट बाहिर निस्किएपछि हामी जुम्लाको दृश्यावलोकन गर्न थाल्यौं । पश्चिममा मिचा, उत्तरमा रातामाटा र पूर्वमा दानसाँघुसम्म फैलिएको जुम्ला उपत्यका भरी घरैघर छन् । छिनासिम, खलंगा, विजयनगर, भारतीबाडा, कार्कीबाडा, तलीचौर, बोहरागाउँसम्म नियाल्दा जुम्ला घरैघरको सङ्ग्रहालयजस्तो लाग्यो । उत्तरतिर डाँफे लेक, पारिपट्टि छिनालाग्ना र चिमाराका लेक आकाशै छेडुला झैं गरि उत्तुङ्ग उभिएर जुम्लाको खाल्डोलार्ई पहरा दिइरहेका छन् । लेकका पाखाहरु प्रायः नांगा छन् । पहाडका कुनैकुनै थुम्का रुख र बुट्टानले ढकमक्क ढाकिएका छन् । वारिपारि होचाहोचा पहाड, बीचमा लमतन्न सुतेको जुम्ला उपत्यका, उपत्यकाको बीचैमा घुचमुच्च घरले घेरिएको खलंगा बजार, लाग्यो कुनै चौरमा हरियो—पहेँलो र सेता फूूलबुट्टा गढेको गलैंचा ओच्छ्याइएको छ । जता हे¥यो उतै जुम्लाका प्राकृतिक दृश्यहरु मेरालागि नौला छन् । हिजो मात्रै पानी परेकोले आकाश एकदमै सफा देखियो । जुम्ला उपत्यका वरपरका डाँडाहरु आज निकै उज्याला देखिएका छन् —राजेन्द्र आचार्यले जुम्ला आज उज्यालो देखिनुको कारण खोले । चारैतिर आँखा डुलाउँदा मन रोमाञ्चित भएर आयो । यहाँको चित्ताकर्षक सौन्दर्यलाई हेर्दा जुम्ला दुर्गम होइन जुम्लाको अगाडि बरु अरु ठाउँ पो दुर्गम जस्ता लागे ।

जुम्ला उपत्यकाको सिरानमा छ कर्णाली प्राबिधिक शिक्षालय । केटीएसको नामले विख्यात यस विद्यालयले अहेब, जेटीए, ओभरसियरजस्ता प्राविधिज्ञहरु तयार गर्नमा ठूलो भूमिका खेलेको छ । घुगुत्तीको पाखोमा केटीएसका सुन्दर भवनहरु लहरै उभिएका छन् । विभिन्न खाले बिरुवा र फूलहरुले यस पाखोको सुन्दरता बढाएका छन् । केटीएसको चौरबाट जुम्ला बजार छ्याङ्गै देखिदो रहेछ । लाग्यो एअरपोर्ट माथिको आचार्यबाडा र मिचामाथिको महतगाउँ जुम्लाको बन्जर फाँटले झकिझकाउ शहर बन्दै गरेको समयका कालखण्डहरुको जीवन्त साक्षी बनेर निरन्तर पहरा दिईरहेका छन् । मेरा पुराना साथी गोरखबहादुर बुढ्थापाको घर घुगुत्ती पछाडीको पाखोमा रहेको बुढथापाबाडा भन्ने गाउँमा हो । मनले त साथीको घर आँगनसम्म पनि पुगौं र मोही पिएर फर्कियौं भनिरहेको छ तर उकालो चढ्ने हिम्मत आएन । गोरखजीले त्यही गाउँबाट लगेर नेपालगंजमा हामीलाई स्याउ, ओखर र जौको सातु कति खुवाए, खुवाए । आज त्यहाँसम्म नपुगेर यतैबाटै फर्किदै छु, नरिसाउनु होला है गोरखजी !

 

घुगुत्तिको उकालो चढेर जलविद्युतको पावरहाउस सम्म पनि पुग्ने रहर लागेकै हो तर नौनाडी गल्न थालेपछि हामी फर्कियौं । घुगुत्तिबाट ओर्लेर हामी कार्कीबाडा र तलीचौर हुँदै दानसाँघु पुग्यौं । पटमाराबाट आउने जवाँ खोला तिलामा आएर मिसिन्छ यहाँ । नीलो रंगको पानी बग्ने खोलालाई जवाँ खोला र कालो रंगको पानी बग्ने खोलालाई तीला भनेर नामाकरण गरिएको रहस्य खोले दानसाँघुका पुजारीले । दानसाँघुपारि धिता, डुडाखोचा, खल्लालबाडा, गज्र्याङकोट र फोई गाउँ हुँदै तीला नदी तरेर उखाडी, दशौंदी, बिगारे, देपालगाउँ, प्याकुडेबाडा र धौलापानीसम्म पुग्यौं हामी । धौलापानीको पूर्वपट्टि कान्जिरोवा हिमाल ठिङ्ग उभिएको छ फराकिलो टारमाथि घुचुमुच्च—घुचुमुच्च घर भएका यतातिरका गाउँहरुका नाम पनि अनौंठा लागे —बिगारे, उखाडी, दशौंदी, फोई, डुडाखोचा, झाजोला । यी गाउँको सुन्दरतालाई यी नामले भने न्याय गरेजस्तो लागेन । अरु गाउँभन्दा धौलापानी भने नाम र रुप दुबै दृष्टिले पूर्ण लाग्यो। सेतो धवल हिमाल जस्तै उज्यालो छ यो गाउँ पनि । पाखोभरी ससाना खेतका मिलेका गह्रा, कलकल बगिरहेको कुलो, अलि अग्लो पाखाभरी उभिएका सल्लाका रुख र शिरैमा सेतो हिमाल, आगन्तुकहरुको मनै लोभ्याउने विचित्रको अव्यक्त सौन्दर्य रहेछ धौलापानीसित । छेवैको देपालगाउँ कदाचित धौलापानीको सौन्दर्य देखेर मनमनै ईष्र्या गर्दो हो !
सेतो हिउँ बोकेको कान्जिरोवा हिमाल टलक्क टल्किदै निधारैमाथि ठोक्किन आउँला जस्तो गरिरहेको छ । ऊ आज यसरी चहकिइरहेको छ कि मानौं उसले हजार बिन्ती चढाएपछि हामी उसको आँगनसम्म आइपुगेका छौं । धेरै वर्षपछि भेटिएका प्रेमिप्रेमिकाले एक—अर्कोलाई हेरिरहे झैं हामीले आँखा जुधाईरह्यौं । यति नजिकैबाट हिमालको जाज्वल्यमय सौन्दर्यपान गर्नुको अनुपम अनुभव पनि संगालियो आज । गाउँका साँगुरा बाटाका डिलमा आरुका फूल र स्याउका बोटहरु उसैगरी मुस्कुराईरहेका छन् । मानौं कान्जिरोवा हिमाल र हामीले आँखा जुधाएको दृश्य हेरेर यी फूलहरु पनि हाँसिरहेका छन् । साथी प्रीतम क्यामेराको लेन्स कहिले हिमालतिर फर्काउँछन् त कहिले आरु र स्याउका बोटतिर घुमाउँछन् । लाग्छ, कान्जिरोवा हिमाल र धौलापुरको सम्पूर्ण सौन्दर्यलाई उनी आज आफ्नो क्यामेरामा कैद गरेर लैजान उद्दत छन् । म भने देपालगाउँको पाखोमा उभिएर हुकुम ठिमा धड्कनका यी पङ्तिहरु सम्झिदै कान्जिरोवाको सौन्दर्यलाई गजलमा उद्दरण गर्न थालेंँः

 

जिन्दगीले धेरै, यति धेरै प्यार गरोस्
मृत्यु पनि नजिक आउन इन्कार गरोस्
मलाई बाँच्नु छ युगभन्दा लामो आयु
घडीले समय मबाट साभार गरोस्

 

धौलापानीबाट फेरि दानसाँघुहुँदै हामी जुम्लै फर्कियौं । हिमालको यति नजिकै भएर पनि तीला नदीको वारिपारिका फाँटहरुमा धानको रोपाई पनि हुँदो रहेछ । पहाडको ढलानै भरि तहतह परेर सलक्क मिलेका धान रोप्ने गह्राहरु छन् । यहाँ धान रोप्ने खेतलाई ज्युला भन्दा रहेछन् । संसारमा सबैभन्दा अग्लो ठाउँमा धान रोपाई हुने जुम्लै हो । जुम्लामा मात्र फल्ने कालीमार्सी धान आफ्नो स्वादको लागि प्रख्यात छ । साँझको बेला दिनभरी चरेर घर फर्किरहेका गाईबस्तुका लश्कर हिडिंरहेका छन् बाटो पुरै ओगटेझैं गरी । प्रायः जसो महिलाहरु नै गोठाल्नी बनेको देखियो । पिठ्यूमा दाउरा र घाँसको भारी बोकेका महिलाहरु छिउछिउ भनेर गाईबस्तु धपाइरहेका छन् । यौवनको रङ्ग चढ्न लागेका गोठाल्नीहरु आफूआफू खै के कुरा गरेर हो कुन्नि खितितितिति गर्दै हाँसिरहेका देखिन्छन् । केहि सोध्यो भने जुम्ली लबजमा नाइँ भनेर उत्तर फर्काउँछन् । यद्यपि जुम्लाको बोली नेपाली नै हो । नेपाली भाषाको प्राकृत रुप जुम्लाको सिंजादह्रामा उत्पत्ति भएको मानिन्छ तर जुम्लीहरुको बोल्ने लबज भने अन्यत्रको बोली भन्दा पृथक लाग्दछ । अन्यत्रका नेपाली बोल्नेहरुले भन्दा पृथक किसिमले बोल्छन् यहाँका मानिसहरु । केही स्थानिय शब्दहरुको प्राकृत रुप जिवीतै छ । यहाँलाई न्याँ, त्यहाँलाई ताँ भन्छन् तँ लाई तोई र हैन त ! भन्दा द्ययौं भन्छन् । हात हल्लाएर बोल्ने चलन यता अलि बढी नै देखियो । युवाहरु आधुनिक फेशनपट्टि प्रवृत्त भएको देखिए पनि प्रायः अधबैंसे उमेर भन्दा माथिका मानिसले दौरासुरुवाल र कोट नै लगाएको देखियो । जुम्लालाई दौरासुरुवालको देश भनौंभनौं लाग्यो । दौरा सुरुवाल सम्भ्रान्त र हुने खानेको मात्र पोशाक हो भन्नेहरुलाई जुम्लीहरुले गतिलो जबाफ फर्काएका छन् । यताका महिलाले लगाउने कालोरंगको धोतीले भक्तपुरका महिलाहरुले लगाउने कालो धोतीको झझल्को दिलाउँछ तर टाउकोदेखि कम्मरसम्म पिठ्यु छोप्ने गरी ओढेको मोटो बर्कोे भने जुम्ली महिलाहरुको मौलिक पहिरन हो । नाकमा फूली र बुलाकी हल्लाउँदै सेता दाँत देखाएर खितितीती हाँसिरहने जुम्ली महिलाहरुको त्यो हाँसोका पछाडि यहाँको प्राकृतिक जीवनपद्दतिका अनेकौं कथाहरु लुकेका छन् । कहिल्यै नधोएका जस्ता मैलामैला कपडा लगाएका जुम्लीहरुका ख्याउटे मुहारमा कसैले केवल जुम्लाको विपन्नता मात्र देख्लान् तर जुम्लीहरुको त्यही मुहारले देखाइरहने निश्छल हाँसो नै यहाँको मौलिकता र पहिचान पनि हो । आरुका फूलभन्दा हँसिला देखिन्छन् जुम्लीहरु । पुँजीबादी विकास र आधुनिकताको क्रमसितै यो निश्छलता पनि हराउँदै गएपछि भविष्यमा के हेर्न आउलान् पर्यटकहरु यहाँसम्म ?


उसो त जुम्लाका मानिसहरुलाई उहिल्यैदेखि बाठा मानिन्छ । दश दंगाली बराबर एक स्याङ्जाली, दश स्याङ्जाली बराबर एक झापाली र दश झापाली बराबर एक जुम्ली भन्ने उखान मैले धेरै पहिले सुनेको थिएँ । यहाँका खश र कल्याल राजाहरुले पूर्वको काठमाडौं र पश्चिमको कश्मिरसम्म पुगेर विजयको ध्वजा पताका फर्फराएका थिए रे । तर त्यस्तो गौरवशाली इतिहास बोकेको ठाउँ आज आएर किन विपन्नमा गनियो? मेरो मनले त्यसको उत्तर खोजिरहेको छ जुम्लाका गाउँपाखाहरुमा डुल्दै गर्दा । जुम्लीहरु खोलाको विरुद्धमा उजुरी दिएर मुद्दा जित्छन् भन्ने पुरानो उखानको नविकरण गरेर मानिसहरु त्यो बठ्याइँको बखान पनि गर्दछन् । कथा यस्तो छ— उहिल्यै जुम्लाको एकजना किसानको खेतमा रोपेको धानलाई खोलाको बाढीले बगाइदिएछ । त्यो किसानले त्यस खोलाका विरुद्ध राजाकहाँ उजुरी गरेछ । राजाले पनि किसानलाई भएको क्षतिलाई मनन गरी धर्म भकारीबाट खेतको क्षतिपुर्ति दिएर न्याय गरेका थिए रे ! त्यो कुन खोला होला? मेरो मनले खोजिरहेको छ तर तीला र जवाँ खोलाको बगरैबगर टहल्दा यी नदीले कतै भूक्षय गरेको देखिएन । बडो अनुशासित भएर बगेका छन् यी नदीहरु ।

 

तिला नदीको किनारैकिनार कुदिरहँदा मलाई महायोगी नरहरिनाथसित जोडिएको एउटा कथाको पनि सम्झना आइरह्यो । विद्रोही स्वभावका महायोगी नरहरिनाथलाई एकपटक जुम्लाका बडाहाकिमले पक्रिने आदेश दिएछन् । योगीले आफूलाई पक्रिन आएका प्रहरिलाई ‘लौ समात’ भन्दै चन्दननाथ मन्दिरबाट दुगुर्दै तीला नदीमा हाम फाल्नु भएछ । निकै बेर पछ्याउँदा पनि योगीलाई नदीबाट बाहिर निस्किएको नदेखेपछि प्रहरीहरु ‘जोगी म¥यो’ भनेर फर्किएछन् तर जलयोग र जलसमाधिको कला जानेका योगी नरहरिनाथ तीला नदीको गहिराई भित्रभित्रै पौडेर निकै पर पुगेपछि नदीबाट बाहिर निस्किनु भएछ । त्यसपछि उहाँ भारतको राजस्थान पुगेर धेरै वर्षपछि काठमाडौंमा प्रकट हुनु भएको थियो भन्ने रोमांचक कथा मैले धेरैको मुखबाट सुनेको थिएँ । आज त्यो कथाको चर्चासितै महायोगी नरहररिनाथको स्मृति पनि एकपटक फेरि मनभरी छचल्किएर आयो ।

 

जुम्लाको भौगोलिक सुन्दरता जति रोमांचक छ त्यसको दाँजोमा यहाँको मौसम अलि निर्मम देखिन्छ । दिउँसो चर्को घाम लाग्छ भने राती चिसो सिरेटो चल्छ । वातावरणको आद्र्रता र निरन्तर चलिरहने हावाले गर्दा मानिसका ओंठ प्रायः फाटेका देखिन्छन् भने अनुहार कालो देखिन्छ । जुम्लाको बजारमा गोरो अनुहारको मानिस देख्नै पाइन्न भन्दा हुन्छ । उहिलेको अञ्चल सदरमुकाम र भावी छ नंबर प्रदेशको राजधानी बन्ने सपना बोकेको जुम्लामा सिमेन्टका अग्लाअग्ला घर ठडिएका भए पनि औद्योेगिक, पर्यटकिय र व्यापारिक विकासको पूर्वाधारलाई योजनाबद्ध किसिमले अघि बढाएको देखिएन । रेस्टोरेन्ट, इलेक्ट्रोनिक सामान र फैन्सी कपडाका पसल मात्रै भेटिन्छन् जुम्लामा जताजतै । ओखर, स्याउ, जटामसी, टिम्मुर, शीलाजीत, पदमचाल, कागुनोजस्ता स्थानिय उत्पादन बिक्री हुने ठाउँहरु भेटिन्नन् जुम्लामा । जुम्लासित यस्ता अनेकौं मौलिकताहरु छन् तर आफ्ना मौलिकतालाई मिल्काएर नयाँ कुरा अँगाल्नमा उद्दत देखियो जुम्ला पनि । जुम्ली संस्कृति र इतिहास झल्काउने सङ्ग्रहालय स्थापना गरेर अध्येताहरुलाई जुम्लासम्म तान्ने योजना बनाउन जरुरी छ भन्छन् खम्बीलाल शर्मा र राजेन्द्र आचार्यहरु ।

 

जुम्लाका पाखापखेरासित पिरती लगाएर धीत मरेकै थिएन, हाम्रो फर्किने दिन आइहाल्यो । विहानको झिसमिसेमैं हिडौंला भनेको एकाविहानै मोर्निङ वाक गर्न हिडेकी हाम्री पुरानी मित्र लक्ष्मी श्रेष्ठकी बहिनी भगवती बाटोमैं भेटिनु भो । उहाँले चिया नपिएर हामीलाई हिड्नै दिनु भएन । चन्दननाथ मन्दिरको सामुन्नेमा रहेको उहाँको घर पुग्दा लक्ष्मीजीले जुम्लाबाट नेपालगंज पु¥याएर खुवाउनु भएका रसिला स्याउको सम्झना आयो । भगवतिजीले हतारहतार जुम्लामा मात्र पाइने घोडमुचे हालेको स्वादिलो चिया बनाएर खुवाउनु भो । आफ्नो घरमा भएका ओखर, टिमुर र गेडीगुडीका पोका भ्याएसम्म हामीलाई उपहार थमाउनु भो । उता चन्दननाथ मन्दिर परिसरबाट मन्त्रोच्चारणको धुन आइरहेको छ यता हामी भगवतीजीको मृदुमुस्कानसित बिदा लिदैं छौं । विहानको चिसो बतासलाई छोएर हामीले जुम्लासित बिदा लियौं । चन्दननाथ मन्दिरको स्वर्ण गजुरमाथि चहकिरहेको प्रभाति किरणले हामीलाई निकै बेर पछ्याइरह्यो । मधुसुदन भाइका हात जीपको स्टेरिङमा मग्न भए । जयवीर शाही भने सडक वरपरका वनपाखाहरुमा आँखा डुलाउँदै देउडा गाउन थालेः

 

‘रुखका छिनार बाटी, रोल घाम पडीजाउ
साइका भैसा चर्न्या बन मेरो काम पडी जाउ’