यसकारण कांग्रेस–माओवादी गठबन्धन

डा. प्रकाशशरण महत

कांग्रेस र माओवादी केन्द्रसहितको गठबन्धनले महत्वपूर्ण उपलब्धि हासिल गर्दैछ । यो गठबन्धनप्रति विश्वासको सञ्चार भएको छ, व्यवहारले पनि यस्तै देखाएको छ । यो गठबन्धन सुरु हुनुअघि देशमा धेरै अन्योल थियो । छिमेकी देशसँगको सम्बन्धमा समस्या थियो । भारतसँगको सम्बन्धमा पनि समस्यै समस्या थियो । अहिले त्यो हटेर विश्वासको सम्बन्ध विकसित भएको छ । अहिले दुवै छिमेकीसँग सम्बन्ध स्थापित गर्न यो गठबन्धन सफल भएको छ ।

निर्वाचनका विषयमा अत्यन्त ठूलो अन्योल थियो । प्रचण्डजीअघि ओलीजी प्रधानमन्त्री हुँदा ६०१ कै निर्वाचनको कुरा गरिरहनुभएको थियो । तर, जब यो गठबन्धन आयो, यसले संविधान कार्यान्वयनमा आएका अड्चन, शंका निवारण गर्दै गएको छ । यही शृंखलाको अन्तिम अध्यायमा हामी छौँ । स्थानीय निर्वाचनको कुरा गर्दा कसैले विश्वास नगर्ने अवस्था थियो । साँच्चै निर्वाचन हुन्छ र रु भन्ने शंका थियो । तर, पहिलो चरणमा प्रचण्डजीको नेतृत्वमा निर्वाचन सफल भयो । दोस्रो चरणको निर्वाचन हुँदैन भनेर शंकाको घेरामा राखियो । तर, दोस्रो चरणको निर्वाचन शेरबहादुर देउवा नेतृत्वमा सम्पन्न भयो । फेरि मधेसकेन्द्रित दलले निर्वाचनमा भाग नै लिँदैनन् भनियो, उनीहरूले संविधान संशोधनको विषय अन्योलमा हुँदासम्म भाग नलिने पनि भने । तर, राजपासमेतले स्थानीय निर्वाचनमा भाग लिने गरी तयारी गरिरहेको छ । संविधान संशोधन असफल हुँदासमेत उहाँहरू निर्वाचनमा भाग लिन तयार हुनुभएको छ । प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा पनि भाग लिँदै हुनुहुन्छ ।

हिजो राष्ट्रियस्तरमा अन्योल र अविश्वास थियो । संविधानलाई अस्वीकार गर्ने, निर्वाचनमा भाग लिँदैनौँ भन्ने, आन्दोलनमा जान्छौँ भन्ने, पहाड, मधेस, एउटा सम्प्रदाय भन्दै मनोवैज्ञानिक खाडल सिर्जना गर्ने कोसिस भएको थियो । तर, गठबन्धन सरकार र पार्टीहरूले अत्यन्त धैर्यसाथ आलोचनाबीच यस्ता कोसिसलाई तोडेर विश्वास र निकासको वातावरण बनाएका छन् । मूलतः शान्ति प्रक्रियादेखि सँगै हिँडेको दुई पार्टी कांग्रेस र माओवादीको सहकार्यले धेरै कुरा सहज बनाएको छ । कतिपय शक्तिलाई हामी सत्तामा भएनौँ भनेर असहज लाग्न सक्छ, तर समग्रमा देशलाई अघि बढाउने, संविधानलाई कार्यान्वयन गराउने विषयमा यो गठबन्धनले महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । स्थानीय निर्वाचन २ असोजमा सम्पन्न भएर यो अध्याय सम्पन्न हुँदै छ । त्यसपछि १० मंसिरमा प्रदेश र केन्द्रको निर्वाचन पनि यही गठबन्धनले गर्छ । यसका लागि आवश्यक तयारी अघि बढिसकेको छ । क्षेत्र निर्धारण आयोगले करिब–करिब काम सकिसकेको छ । अरू ऐनकानुनको व्यवस्था पनि भइसकेको छ । अब संविधान कार्यान्वयन हुनेमा देखिएका अन्योल र आशंका समाप्त हुँदै छन् । छोटो समयमा प्रदेश र केन्द्रको निर्वाचन गर्नुपर्ने अन्तिम परीक्षामा हामी छौँ । यो गठबन्धले सजहतासाथ यसलाई पनि पूरा गर्छ ।

 

दीर्घकालीन सहकार्य
यो गठबन्धन खालि दुई दलबीच सत्ता साझेदारी गर्न मात्र बनेको होइन । हिजो संविधान नै बन्दैन भन्ने थियो, आज संविधान कार्यान्वयनमै शंका गरियो । तीन दल एक ठाउँमा आएपछि संविधान बन्न पुग्यो । अब कार्यान्वयन गर्दै जानुपर्ने अवस्था छ । दुई दलको गठबन्धनले संविधान कार्यान्वयनलाई क्रमैसँग अगाडि बढाएको छ । शंकालाई निवारण गर्दै अघि बढेका छौँ । यो गठबन्धन नारावादमा विश्वास गर्दैन । धेरै भ्रम छर्ने कुरामा विश्वास गर्दैन । कुनै विषयलाई अतिरञ्जित गर्ने कुरामा विश्वास गर्दैन । मूलतः देशको जुन चुनौती छ र लोकतान्त्रिक बाटो तय गर्नुपर्नेछ यसैमा केन्द्रित छ । त्यसैले सत्तामा मात्र सीमित नभएर लोकतन्त्रलाई संस्थागत गर्ने मुख्य जिम्मेवारीमा हामी छौँ ।

 

स्थानीय तहमा हुन सक्ने, मिल्न सक्ने ठाउँमा साझेदारी पनि भए, धेरै ठाउँमा हुन सकेन । प्रदेश र केन्द्रमा पनि सम्भव भएका ठाउँमा दुवैलाई लाभदायक हुने गरी संयुक्त रूपमा साझेदारी गर्दै गठबन्धनलाई मझबुत बनाएर सफल हुने तयारीमा छौँ । पार्टीभित्र पनि सत्तारुढ दल माओवादीसँग तालमेल गरेर जानुपर्छ भन्नेमा मत बलियो छ । शंका गर्ने अवस्था दुवै पार्टीमा छ । तर, गठबन्धनले एकपछि अर्को गर्दै प्राप्त गरेको सफलताले यस्तो आशंका गर्नेलाई जवाफ दिएको छ । आशंका गर्नेहरू पनि यो गठबन्धन ठीकै रहेछ भन्नेमा पुग्नुभएको छ । निर्वाचनका लागि मात्र होइन, त्यसपछिका ८–१० वर्षसम्म यो गठबन्धन अगाडि बढ्यो भने लोकतन्त्रलाई संस्थागत गर्न मद्दत पुग्छ । हामी नयाँ संरचनामा गइरहेका छौँ, स्थानीय तहलाई धेरै अधिकार दिइएका छन्, प्रदेशमा संरचना बनाएर व्यवहारमा कार्यान्वयन गर्नु छ । संघीय संरचनालाई व्यवहारमा उतारेर कार्यान्वयन गर्नु अत्यन्त चुनौतीपूर्ण छ । यसका लागि परिवर्तनका दुई शक्ति कांग्रेस र माओवादी मिलेर बलियो नेतृत्व आउन जरुरी छ । यसकारण पनि हामीबीच सहकार्य जरुरी छ ।

 

मुद्दामा केन्द्रित भएर हामी कांग्रेस र माओवादीसहितको सरकार चल्दै गर्दा संविधान निर्माणमा सहकार्य गरिएको दल एमालेसँग सहकार्य गर्दै गर्दैनौँ भन्नेमा छैनौँ । राष्ट्रिय एजेन्डा र मुद्दामा एमालेलाई समेत विश्वासमा लिएर हिँड्न हामी तयार छौँ ।

 

संविधान संशोधनमा आशावादी बनौँ
संविधान संशोधन गर्न हामीले कुनै कसर बाँकी राखेनौँ । सबैलाई थाहा भएको विषय हामीसँग संशोधनमा दुईतिहाइ पुर्‍याउने मत थिएन । यद्यपि, हामीले दुईतिहाइका लागि पटक–पटक पहल गरेका हौँ । यो राजपालाई पनि थाहा थियो । खासगरी विपक्षी दल एमालेको असहयोगका कारण संशोधन हुन सकेन । अल्पमत समुदायमा खेल्ने राजनीतिमा एमाले लाग्यो । दीर्घकालीनभन्दा पनि अल्पकालीन फाइदा उठाउनमा ऊ केन्द्रित भयो । यसकारण संविधान संशोधनको हाम्रो प्रयास यसपटक सफल हुन सकेन ।

 

संविधानमा सबैको भावना र माग एकैपटक समेटेर लान सकिन्छ भन्ने हुँदैन । यसका लागि समय लाग्छ । तर, हामी दुःखी हुनुपर्ने अवस्थामा छैनौँ । खुसी यस अर्थमा हुनुपर्छ कि समावेशितालाई उदारतासाथ स्विकारेर हामीले ३३ प्रतिशत महिलाको प्रतिनिधित्व सुनिश्चित गरेका छौँ । माथिल्लो सदनमा विभिन्न समुदाय, क्षेत्रको भन्दा ५० प्रतिशत प्रतिनिधित्वको जुन व्यवस्था गरिएको छ, यसले यी समुदायको सशक्तीकरण गरेको छ ।

 

आवश्यकता र अनुभवका आधारमा आज अनुमोदन गर्न तयार नहुने शक्ति भोलि तयार हुन्छ । या जनताले नयाँ म्यान्डेन्ट दिएपछि फेरि अनुमोदन हुने संख्या पुग्न सक्छ । हामीले अहिले नै धैर्य गुमाउनुपर्ने अवस्था छैन । यसका संकेत पनि देखिएका छन् । असन्तुष्ट दलले पनि हामी निर्वाचनमा भाग लिन्छौँ, सहभागी हुन्छौँ भनिरहेका छन् । यसले पनि संशोधन एकपटक भएन भनेर निराश हुनुपर्ने अवस्था छैन ।

 

अन्त्यमा
यो गठबन्धनका विषयमा दबाब पनि छ । माओवादी र एमालेभित्रै कम्तीमा कन्युनिस्ट कम्युनिस्टबीच सहकार्य गरेर जानुपर्छ भन्ने मत पनि छन् । यो सहज गठबन्धन हो भन्ने कुरा यी दलभित्र देखिएका छन् । तर, मूलभूत रूपमा अहिले कुन विचारधारा भन्नेभन्दा पनि व्यावहारिक रूपमा देशको अवस्था के छ भन्ने विषय प्रमुख हो । शान्ति प्रक्रियादेखिका सहयात्री दल कांग्रेस र माओवादी मिलेर जाँदा अन्योल चिर्दै संविधान कार्यान्वयनलाई सहज रूपमा अघि बढाउन सहज हुन्छ । दलहरू छरिनुभन्दा मिलेर राजनीतिक स्थायित्व दिने र आर्थिक विकास गर्दै समृद्धि मार्ग प्रवेश गर्न पनि हामी मिलेरै अघि बढ्नुपर्ने आवश्यकता छ । राजनीतिक मुद्दा र विषयलाई संस्थागत गरेपछि हामीले देशलाई समृद्धितिर डोर्‍याउनैपर्ने हुन्छ । यसका लागि मूलधारका शक्ति मिल्दा राम्रो हुन्छ ।

 

चुनौतीलाई अवसरमा बदल्न सकिन्छ । यो सत्य हो कि जुनसुकै दलले विचारमा जोड दिए पनि यहाँ न कम्युनिस्टले भनेजस्तो एकदलीय व्यवस्था लागू हुन सक्छ, न कम्युनिस्ट विचारधारा लागू हुनेवाला छ । लोकतान्त्रिक पद्धतिलाई सबैले स्वीकार गरेको अवस्थामा यो नै महत्वपूर्ण हो । कांग्रेस र माओवादीको गठबन्धन व्यावहारिक धरातलमा हेर्दा स्वाभाविक नै देखिन्छ । शान्ति प्रक्रियालाई टुंग्याउन, संविधानलाई कार्यान्वयन गर्न र लोकतन्त्रलाई संस्थागत गर्न केही वर्ष यो गठबन्धनलाई अघि बढाउन उपयुक्त हुन्छ ।