गिनिज बुकमै नाम लेखाउने सपना

  भनिन्छ ‘ढुंगाको काप फोरेर पनि उम्रिन्छ पिपल’ । यो उखान सार्थक बनाए कालिकोटका युवा मंगल बहादुर विष्टले । विश्वमै सबैभन्दा दु्रत गतिमा लेख्ने किर्तिमान बनाएका विष्ट अझे नयाँ किर्तिमान बनाउने ध्याउन्नमा छन् । अभावबाट कहिल्यै बञ्चित नभएका विष्ट कैयन अभाव छिचोल्दै, त्यहि अभावबाट सिक्दै अहिले धेरै अघि बढिसकेका छन् ।

 

भौगोलिक रुपमा वकिट कालिकोटको चर्चित गाउँ कोटबाडामा २० बर्ष अघि जन्मिएका विष्ट पढाइमा पनि सँधै अब्बल रहे । एसएलसी सम्मको शिक्षा गाउँमै हाँसिल गरेका विष्ट प्लस टु पढ्न नेपालगंज झरे, त्यो पनि सरकारी प्लस टु मा । नेपालगंजको मंगलप्रसाद उच्च माध्यमिक विद्यालयमा पढ्ने सयौं विद्यार्थीहरुमा पनि प्रथम भए ।

 

सानो छँदा विष्टले अनौपचारिक रेर्कड कायम गरिसकेका थिए तर त्यो रेर्कडको कतै नाम निसान छैन र अब हुनेवाला पनि छैन । कक्षा ५ को गणित विषयको १ घण्टाको परिक्षा उनले सम्पूर्ण प्रश्नहरुको उत्तर लेख्न केवल १० मिनेट लगाए । त्यतिबेला उनले सरहरुबाट यौटै जवाफ पाएका थिए ‘अक्षर राम्रो लेख’ । विष्टले अक्षर राम्रा त कहिल्यै लेखेनन् तर छिटो खेख्न भने कसैले सम्झाउन परेन ।

 

घोकेर होइन, लेखेर पढ्ने बानी भएका विष्ट बाल्यकालमै धेरै छिटो लेख्ने अभ्यास गर्थे । पढेका हरेक कुरा लेखिहाल्थे । छिटो–छिटो लेख्थे र उनको अहिलेको सफलताको मूल कारण त्यहि बाल्यकाल हो । बाल्यकाल देखिका मेहनति र जाँगरिला विष्ट विदाको दिन गोठालो जान्थे । झोला र कापी किताब कहिल्यै छुटाउँदैनथे । दिनमा पाँच सय बढि मिनिङ (शब्द अर्थ) कन्ठ गर्थे ।

 

कालिकोटको निम्न मध्यम वर्गिय परिवारमा हुर्केका विष्ट पढ्नकै लागि भनेर कहिल्यै ट्युसन लिएनन् तर पनि उनि कक्षा १ देखि कक्षा १२ सम्म प्रथम भए । काठमाडौंको त्रिचन्द्र कलेजमा स्नातक तह, विज्ञान संकाय अन्तिम बर्षको परिक्षा दिएर बसेका विष्ट त्रिचन्द्रमा पढ्दा पनि धेरै भन्दा अब्बल ठहरिन्थे । पढाइमा धेरै अब्बल विष्ट साहित्य सिर्जनामा पनि तल्लिन हुन्छन् । आफूले देखे–भोगेका अनुभूतिलाई सिर्जना मार्फत् व्यक्त गरिरहन्छन् । विभिन्न प्रतियोगितामा उत्कृष्ट पनि भए ।

 

विश्व रेर्कड कायम गर्न सक्छु भन्ने आत्मविश्वास भएका विष्टले ० देखि १० सम्म लेख्न केवल ४.२ सेकेण्ड समय लगाए जबकि उनिभन्दा अगाडि अष्ट्रेलियाका म्याक्रस व्रिम्सले यहि विश्व रेर्कड राख्न ६.७ सेकेण्ड समय लगाएका थिए । उनले १ मिनेटमा ११५ अंक लेखेर अर्को विश्व रेकर्ड राखेका थिए तर उनि आर्थिक अभावका कारण गिनिज ब्क अफ वर्ल्ड रेकर्ड होल्डर बन्नबाट बञ्चितै छन् । गिनिज बुक अफ वर्ल्ड रेकर्डको विभिन्न प्रक्रियामा १० हजार भन्दा बढि अमेरिकि डलर खर्च हुन्छ । यति धेरै खर्च गर्न नसकेर उनि अहिले वर्ल्ड रेकर्ड सेटरमै सिमित भएका छन् । उनले सबैसंग आर्थिक सहयोगको अपेक्षा गरिरहेका छन् । र गिनिज बुकमै नाम लेखाउने तयारी पनि गरिरहेका छन् ।

कर्णाली कुनै पनि युवाले हाँसिल गर्न नसकेको उपलब्धी हाँसिल गर्दा पनि कर्णाली क्षेत्रका नेता, सांसदहरुले सहयोग र हौसला नदिएको तितो व्यथा ओकल्न बाध्य छन् विष्ट । केहि दिन अघि त्रिचन्द् कलेजको सतबार्षिकीमा प्रधानमन्त्रीको हातबाट सम्मान हुनु बाहेक खासै सम्मान पाएका पनि छैनन् उनले । बरु नेताहरुले उनलाई आ–आफ्नो दलको सदस्य भएमा सहयोग गर्ने गलत आश्वासन मात्र बाँडेका छन् । आफ्नो पार्टिको सदस्य नभएमा सहयोग गर्न नसकिने कुरालाई घुमाउरो हिसाबले व्यक्त गरिरहेका छन् ।

राज्यको हर सवालमा अन्तिम सूचिमा रहने कर्णाली क्षेत्र र त्यहि जन्मेका किर्तिमानी युवा मंगल विष्टहरुको यो सत्कर्मलाई हामी सबैले आ–आफ्नो स्थानबाट सहयोग र हौसला दिन जरुरी छ । र कर्णाली क्षेत्रका युवाहरुले यि युवाबाट सिक्न पनि जरुरी छ ।