गायनमा भविष्य खोज्दै इरानी

२०६७ सालमा बरिष्ठ रंगकर्मी सुनिल पोखरेलको पहलमा कर्णालीका युवाहरु नाटक मञ्चन गर्ने सपना बुन्दै काठमाण्डु आइपुग्यो । उक्त नाट्य समुहको एक सदस्य थिइन् नातिनीको भूमिकामा रहेकि इरानी सुन्दरी भाम । हरेक हप्तामा १ दिन नाटक मञ्चन हुन्थ्यो । नाटकको नाम थियो ‘सुइना कर्नालीका’ । ‘सुइना कर्नालीका’मा नातिनीको भूमिकामा रहेकि १३ बर्षिया इरानीले नाटकको अन्त्यमा सुरिलो भाकामा देउडा गित गाएकि थिइन् ।

 

भोट्या दाईले भान्सा लायो कर्नाली छालथी !
दया छैन भगवान्थी, टिठ् छैन कालथी !!

 

खासमा यहि गितबाट सम्भावित गायिकाको परिचय बनाएकि मुगुकी इरानीको जिन्दगीमा केहि उपलब्धी पनि भयो । इरानीको सुमधुर स्वरबाट प्रभावित भएर एक शिक्षकको सहयोगमा इरानीले सदरमुकाममा रहेको बोर्डिङ स्कुलमा कक्षा ८ देखि १० सम्म निःशुल्क पढ्ने अवसर पाइन् ।

 

सुमधुर स्वरकी धनी इरानीले कक्षा ३ मा पढ्दै गर्दा पहिलोपल्ट गायनको अवसर पाएकि थिइन्, त्यो पनि शिक्षा दिवसको सन्दर्भ र गायन प्रतियोगितामा । निरन्तर विभिन्न प्रतियोगितामा गाउने अवसर त पाइन तर खास पहिचान बनेको थिएन र विचमा उनि विविध कारणवस गायनबाट टाढा रहिन् पनि । पछिल्लो १ बर्ष देखि फेरि सांगितिक क्षेत्रमा छाइन् ।

इरानीले जुम्लाका अर्जुन खत्री न्यौपानेको शब्द र पदम रोकायाको लयमा पहिलोपल्ट २०७३ फागुनमा ‘मनमा शान्ति छाउँदै छाउँदैन’ बोलको लोक दोहोरी गित गाउने सौभाग्य पाइन् । अडियोको रुपमा मात्र प्रकाशित यो गितले पन िइरानीको गायकिपनलाई झल्काएको थियो । भने त्यसपछि गाइएको औपचारिक पहिलो देउडा गित ‘झल्का रया बुका’ले समग्र देउडा गायनमा नयाँपन नै ल्याएको थियो र गायिका इरानी सुन्दरी भामको पहिचान पनि बनाइन् र परिवारले पनि पूर्णत साथ दिने वातावरण बन्यो ।
जबकि ‘झल्का रया बुका’को रेकर्डिङ, काठमाण्डुको आधुनिक रेकर्डिङ स्टुडियोमा नभई फर्पिङको डाँडामा गाइएको थियो । खुला चौरमा गाउँदा गाउँदै भिडियो पनि छायांकन गरिएको थियो । जुन भिडियो सामाजिक सञ्जालमा पनि भाइरल भएको थियो ।

 

पछिल्लो समय कर्णाली र कर्णाली बाहिरका विभिन्न सांगितकि कार्यक्रममा सहभागी भई आफ्नो प्रस्तुति दिन तल्लिन इरानी आफ्नो सांगितिक भविष्यका बारेमा चिन्तित र प्रफुल्लित पनि छिन् । छोटो अवधिको मेहनतले पाएको उपलब्धिप्रति प्रफुल्लित छिन् भने कतै सामाजिक कारणले उपलब्धि गुम्ने पो हो कि भनेर चिन्तित पनि छिन् ।

 

जे होस्, भर्खर बिस नाघेकि सुमधुर स्वरकि धनी इरानीको सांगितिक भविष्य उज्जल हनु कुरामा संका छैन तर यहि उपलब्धिमै सिमित रहने विडम्वना भयो भने चाहिँ देउडा क्षेत्रका लागि पनि दुखद हुनेछ । दुर्गम मुगुकाे याैटा गाउँबाट संघर्ष गर्दै राजधानी अाइपुगेकि इरानी सुन्दरी देउडा हुँदै समग्र सांगितिक क्षेत्रको एक नक्षेत्र बनुन्, पाइला निरन्तर अघि बढुन् । द्रुत गतिमा अघि बढिरहेकि इरानीलाई पनि हाम्रो हार्दिक शुभकामना ।