किन जन्माउने समयमै बच्चा ?

डा ज्ञानेन्द्रमानसिंह कार्की, वरिष्ठ स्त्रीरोग विशेषज्ञ

मानव जीवनमा विवाहपछि गर्भधारण र सन्तान उत्पादन रहरसँगै आवश्यकताको रूपमा लिइन्छ । तर, कहिलेकाहीँ चाहेको वेलामा गर्भ नबस्न सक्छ । यसका विभिन्न कारण छन् । गर्भधारणलाई सामान्य रूपमा लिइँदा यस्ता समस्या देखिने गरेका छन् । त्यसकारण गर्भधारणको समयमा विशेष ध्यान पुर्‍याउन जरुरी छ ।

 

अनिवार्य स्वास्थ्य परीक्षण
बच्चा जन्माउने तयारीमा लागेका दम्पतीले सन्तानको तयारी गर्नुअघि एकपटक महिलाको स्वास्थ्य परीक्षण गर्नु उपयुक्त मानिन्छ । महिलामा कुनै रोग छ भने गर्भ रहनुअघि त्यसको निदान गर्नुपर्छ । जसले गर्दा स्वस्थ बच्चा जन्माउन सहयोग पुग्छ । महिलालाई मधुमेह, थाइराइडजस्ता रोग छन् भने गर्भधारणअघि नै परीक्षण गरेमा गर्भवती अवस्थामा हुने स्वास्थ्य जटिलताबाट बच्न सकिन्छ । विश्व स्वास्थ्य संगठनको मान्यताअनुसार महिला एकपटक गर्भधारण भएपछि सुत्केरी नहुँदासम्म कम्तीमा चारपटक अनिवार्य स्वास्थ्य जाँच गराउनुपर्छ । गर्भवती भएको सुरुको तीन महिनामा पहिलोपटक, अर्को तीन महिनापछि दोस्रोपटक स्वास्थ्य जाँच गराउनुपर्छ । सुत्केरी हुने महिनामा अन्तिमपटक स्वास्थ्य जाँच गराउनुपर्छ । यसले गर्भवती महिलालाई सुरक्षित तवरले बच्चा जन्माउन मद्दत गर्नुका साथै गर्भमा रहेको शिशुको अवस्थाबारे थाहा पाउन मद्दत मिल्छ । गर्भधारण आफैँमा जटिल प्रक्रिया भएकाले गर्भावस्थामा महिलामा थुप्रै शारीरिक तथा मानसिक परिवर्तन देखा पर्छन् । यस्तो अवस्थाको सामना गर्न महिला गर्भवती हुनुपूर्व नै शारीरिक, मानसिक, आर्थिक रूपमा तयार हुनुपर्छ । गर्भधारणदेखि सुत्केरी नहुँदासम्म परिवारका सदस्य र पतिको पनि उत्तिकै सहयोग आवश्यक पर्छ ।

 

भिटामिन बी कम्प्लेक्स खाने
बच्चा जन्माउने तयारीमा रहेका महिलाले करिब एक महिनाअघिदेखि भिटामिन बी कम्प्लेक्स सेवन गर्नुपर्दछ । यसको प्रयोगले आमाको गर्भमा रहेको शिशुको नसा तथा मस्तिष्कको विकास हुनबाट रोकिन सक्ने जोखिमबाट बचाउने हुँदा बच्चा अपांग हुनबाट जोगिन्छ ।

समयमै गर्भधारण
महिलाले बच्चा जन्माउने उपयुक्त उमेर भनेको २० देखि ३० वर्षको हो । यस उमेर समूहका महिला शारीरीक तथा मानसिक रूपमा आमा बन्न तयार भइसकेका हुन्छन् । कम उमेर समूहका महिलाको शरीर गर्भधारणका लागि विकास भइसकेको हुँदैन । त्यसैले यस्ता महिलाबाट स्वस्थ बच्चा नजन्मने सम्भावना रहन्छ । त्यस्तै, ३० वर्षभन्दा बढी उमेरमा गर्भधारण गर्दा शिशुमा अपांगता हुने सम्भावना धेरै रहन्छ । कम उमेर समूहमा बच्चा जन्माउँदा महिलालाई उच्च रक्तचाप, मधुमेहजस्ता दीर्घरोगको जोखिम पनि बढी हुने गरेको पाइन्छ । त्यसैले महिलाले २० देखि ३० वर्षभित्रमा बच्चा जन्माइसक्नुपर्छ ।

 

दुई वर्ष जन्मान्तर
यदि दोस्रो बच्चा जन्माउने तयारीमा रहेको अवस्थामा पहिलो बच्चा जन्मेको दुई वर्षपछि मात्र दोस्रो गर्भधारण गर्नु राम्रो मानिन्छ । जसले गर्दा जन्मिसकेको शिशुलाई कुपोषणबाट जोगाउनुका साथै गर्भवती महिलामा रक्तअल्पता हुने सम्भावनालाई पनि कम
गराउँदै लैजान्छ ।

 

गर्भ नबस्ने कारण
गर्भ नबस्नुमा महिलामा डिम्ब नबन्नु, बाँझोपन हुनुको अर्को मुख्य कारण हो । पुरुषको शुक्रकिटमा खराबी र महिलाको डिम्ब नबनेर बाँझोपन हुने समस्याको दर बराबरी छ । सन्तान जन्माउन नसक्ने दम्पतीमध्ये २५–३० प्रतिशतमा महिलाको डिम्ब नबन्ने समस्या देखिने गरेको छ । महिलाको पाठेघरको नली बन्द हुनु पनि गर्भ नबस्ने कारणमध्ये एक हो । पाठेघरको नली बन्द भएर बाँझोपनको समस्या भोग्ने १५ प्रतिशत महिला छन् । महिला र पुरुष दुवैमा समस्या देखिएर पनि बाँझोपन हुने गर्छ । यस्तो समस्या बाँझोपन भएकामध्ये ३० प्रतिशत दम्पतीमा देखिएको छ । महिनावारी हुँदा पाठेघर वा नलीको तह खुइलिन्छ । त्यो तह पाठेघरबाहिर पनि गएको हुन्छ । यसकारण महिनावारी हुँदा भित्र नै रगत बग्ने हुन्छ । बाहिर निस्कन पाउँदैन र नली र पाठेघर बिग्रने सम्भावना हुन्छ । जसका कारण बाँझोपनको समस्या देखिन जान्छ । महिलाको ट्युबरक्लोसिस, पाठेघर नलीमा इन्फेक्सनजस्ता कारणले पनि गर्भ नबस्न सक्छ । धेरैपटक गर्भपतन गर्दा पाठेघर पातलिन्छ र बच्चा नबस्ने खतरा हुन सक्छ । बसेको गर्भ पनि आफैँ खेर जाने सम्भावना बढी हुन्छ । धेरै गर्भपतनले पाठेघरभित्रको आकार–प्रकार बिगार्छ र गर्भमा बच्चा बसिहाल्यो भने पनि पछि गएर पाठेघर फुट्नेसम्मको खतरा हुन्छ ।

 

गर्मी ठाउँमा नबस्ने
पुरुषको शुक्रकिट निर्माणका लागि अन्डकोषको तापक्रम ३२ देखि ३३ डिग्री हुनुपर्छ । जसले गर्दा धेरै गर्मी भएको स्थानमा बस्नु उत्तम मानिदैन । पुरुषका कारण बाँझोपनको समस्या निम्तिएको हो भने सो व्यक्तिले चुरोट सेवन छोड्नुपर्छ । लागुऔषधको कुलतबाट टाढै बस्नुपर्छ ।