हिउँभित्रको प्राकृतिक फूल हो लिमी

बाहिरबाट जाने मानिसहरुका लागि यहाँका सबै कुराहरु अनौठो लाग्दछन्

समर हुम्ली

लिमी
अनकण्टार भुगोलको
काप कापमा च्यापिएको मानवता
भग्न नग्न परिवेश छ
भुगोलको पत्रदल र पुकेशरमा फुलेको छ
हिउँ

 

लिमीको शाब्दिक अर्थ दोभानको गाउँ भए पनि कालान्तरमा आएर यो शब्द आञ्चलिकता जनाउने शब्द बन्यो । हाल लिमीमा तीन गाउँहरु जाङ, हल्जी र तील रहेका छन् । यहाँका बासिन्दा पहिला अब्बल पशुपालक भए पनि अहिले त चीरु र फुरुका व्यापारी बनेका छन् । हिउँ र लिमी एक आपसमा पर्यायवाची शब्दका रुपमा चिनिएका छन् । किनकी लिमी छ महिना हिउँको सेतो च्यादरमा समाधिस्थ हुन्छ । र त यो हिउँभित्रको अनमोल, अनौठो, अद्भूत, अलौकिक मानवस्तीको एक नरकंगाल हो लिमी र लिम्यालहरु । यिनीहरुले मानव भूगोललाई चुनौति दिएका छन् । चिसोको सुर्को पिएका छन् । उतुङ्ग हिमालको टाकुरामा जिएका छन् ।

 

चीरु र फुरु !
भोजपत्रको तह र्झै
लिमीको ठाउँ

बाहिरबाट जाने मानिसहरुका लागि यहाँका सबै कुराहरु अनौठो लाग्दछन् । उच्च भूगोलभित्रको यो मानववस्तीमा न त सञ्चार छ न त सरकारको कुनै निकाय छ । न त देश छ । न छ कुनै सेवा सुविधाहरुको निमेष । मात्र छ नागरिकताको खोस्टोको अधमरो प्रमाणपत्र । यसले त झन व्यथाको कथा बोकेको छ । कथाको व्यथा बोकेको छ । राजधानीका लागि यो क्षेत्र, यो भूगोल, यो सामाज, यो गाउँ, यो ठाउँ अनकण्टार रे तर लिम्यालहरुको बोलीमा त राजधानीर र सदरमुकाम पो त दुर्गम हो । त्यहाँ न त मानवीय संवेदना छ । न त मानवता छ । तर यहाँ अहिले पनि नागराजको पालादेखि अन्तिम खश राजा र बलिराजका उत्तराधिकारीहरुले पञ्च छाप लगाएको रीतिथीतिहरुबाट नै यहाँको समाज चलेको छ । यहाँको रेखठेक सञ्चालनमा रहेको छ । यहाँको रा ठा बसेको छ । वर्षको एक पटक कार्तिक महिनामा लिम्यालहरुको सामुहिक कचहरी बस्छ । एक वर्षका लागि गाउँको रेखठेकका लागि बन्दोवस्त हुन्छ । गुम्बाहरुमा पुजाआजाको व्यवस्थाका लागि धर्मभकारी भरिन्छ । बाटोघाटो, पुलपुलेसा तथा अन्य कामहरुको बाँडफाड जिम्मेवारी छुट्याइन्छ । ङुलखाङमा ङुलको हिसाब किताब बहीखाता राखेर जिम्मेवारी हस्तान्तरण गरिन्छ । ब्यापार व्यवसायको लागि शुभकामना आदान प्रदान गर्ने गरिन्छ । यो शुभ सन्देश शुभ र अशुभ दुबै हुनसक्छ कारण देश देशान्तरमा ब्यापार गरेर धेरैभन्दा धेरै कमाउनु नै जीवनको पहिलो सोच र काम हो ।

 

खण्डित भावनालाई सँगालेर
सदियौदेखि प्रतीक्षारत छ
ल्हेम्हे अर्थात लिमी

हुम्लाको उत्तरी दुर्गम गाविस हो – लिमी ! तिब्बतको सिमानामा जोडिएको यो प्राकृतिक जेल मानिएको छ । प्रायः कात्र्तिकदेखि जेठसम्म यहाँ हिमपातले गर्दा सदरमुककाम र वरपरका छिमेकीगाउँसँगको सम्वन्ध विच्छेद हुन्छ । यो आठ महिनासम्म वाहिरी सम्पर्क नहुनु भौगोलिक विकटताले सांस्कृतिक विविधता जन्माएर पनि विश्व सञ्चारग्राम बन्दै गरेको समयमा यो एक चुनौति पनि हो । यो एक दुर्गमको उपमा बन्दैछ । यो एक पीडा र शुल बन्दैछ । तर पनि जहाँ नराम्रो हुन्छ । त्यहाँ राम्रो हुन्छ । जहाँ चुनौति हुन्छ । त्यहाँ अवसरहरु पनि हुन्छ । यो विचित्र भूगोलको काप कापमा निधि र विधिको एक भूस्वर्ग हो । जहाँका माटो, पात, पतकर, रुख, बिरुवा र ढुङ्गाहरुमा पनि एक आकर्षण छ । एक चुम्बकीय शक्ति छ । एक अनुपम राग छ । एक अतितको छाप छ ।

 

हिमरेखाको समानान्तरमा उभिएको
जाङ
हल्जी
तील ह्यूलहरु

कालान्तरमा हिमाल वारपार व्यापारको आधारस्तम्भ बनेको लिमी पशुपालन व्यवसाय र वस्तुविनिमय प्रणालीको मुख्य स्थान मानिन्थ्यो तर चिनको बढ्दो आर्थिक प्रगतिको चेपुवा र साम्यवादी शासनको प्रभावमा परेर उतm व्यवसाय र त्यो व्यापार प्रणाली धराशायी भएको छ । त्यसपछि तिब्बतसँग जोडिएका उर्बर र पोषिला चरन क्षेत्रहरु पशुवस्तुको लागि निषेध भएपछि लिम्यालहरुको जनजीवनमा भुँईचालो गयो । नयाँ व्यवसायको खोजीतिर लाग्न वाध्य भएका लिम्यालहरुले चीरु र फुरुतिर हात लम्काए । यो एक खोजी भए पनि सबै लिम्यालका लागि यो सम्भव भने छैन । यहाँको कष्टकर जीवनमा व्यथा थपेको छ । जेथा हराएको छ । समाजमा विभेदको रेखा गहिरो रुपमा कोरेको छ । यसको स्पष्ट दरार फुरु र चिरु हो ।

भोजपत्रका पत्रदल झै
उन्मादित आशाका लहर छन्
प्रकम्पित पीडाका कहर छन
प्रफुस्टित यौवनका लहर छन्

 

प्रत्येक वर्ष लगभग आठ महिना प्राकृतिक जेलभित्र भौगोलिक कथा र व्यथालाई थाति राखेर बुढा आमाबावु अशक्त र कमजोर बुढाबाटुलाहरुको शारीरिक, मानसिक र आर्थिक सम्पन्नताको स्तर कायम राख्नको लागि ऊँ मणि पध्मे हुँको सामुहिक पुजाआजामा टासी र खादा लगाएर विदेशिने युवक र आफन्तसँग भेट हुने नहुने कुरा भाग्यको खेलमा विश्वास गर्छन् लिम्यालहरु । सीप छ जोस जाँगर छ तर काम छैन । अरुको ठाउँमा गएर काम गरि घर फकनु पर्छ । के गर्ने फुरु कोर्ने टक्पा हर्थात सिपालु हुँ, चित्रकार हुँ र सिकर्मी पनि हुँ भन्नेको अवस्था त खराब छ भने अरुको अवस्था झन् ज्यादै खराब छ । हो धेरै हिमपातले गर्दा ६ महिनाका लागि खाना, दाउरा, चर्पी र पानी सबैभित्रै व्यवस्था गरेर ढुङ्गाका अविचल मुर्तिसँग सजीव मुर्तिकों एककार हुनुको नियति नै लिमी र लिम्यालहरु हुन् । के एक्काइसौं शताब्दीको नारामा विकासको खाका कोर्ने हाम्रो सरकारको उपेच्छाको शिकार भएको छ लिमी ।

 

उफ ! निन्जे निन्जे अर्थात विचरा लिमी
चिरु र फुरुको कुरुमा रुमलिएको
आकास र पाताल खोज्दैछ लिमी
तराजुको सन्तुलन नमिलेको झैं

हिमाल पारि एकान्त उपेच्छित गाउँलाई निषेधित पर्यटकीय क्षेत्रमा राखेर सरकारले आलो घाउको पुरानो व्यथामा झन नुनचुक छकर्ने काम गरेको त छैन ? र यसरी बर्षौ वर्षको निरीहताले एकातिर कि रुई कि दुईको लोक काव्यांशमा दरार पारेको छ । अर्कोतिर बालबालिका र वृद्धलाई सम्मान गर्ने समयमा शारीरिक र मानसिक तनाव उत्पन्न गराउनु प्राकृतिक जेलभित्रको सरकारी लापरवाही हो । सदरमुकाम सिमकोटबाट ५० कोष टाढा लिमीमा जान न्यालु, नारा, मानेपेमे, लाङदुक जस्ता लाग्नाहरु जहाँ १९ हजारदेखि २४ हजार फिटका हिमाल हिउँदमा चढ्नु भनेको त काललाई काखी च्याप्नु हो भन्दै बाक्लो च्यालाक र बक्खु देखाएर चिसोको व्यथा पोख्दै सांकेतिक शब्द पस्कने गर्छन् । चौरी, याक, घोडा, भेडा, बाख्राहरु कम मात्रामा पालिन्छ । वर्षा याममा मा चिनको पुराङको तालाखारमा मजदुरको रुपमा काम गेरर सबै कुराको व्यवस्था गरिन्छ तर विकास र सरकारी गतिविष्ध लिमीमा शून्य नै हुन्छ ।

 

प्राक् बिम्वको विहार
स्वथ ताजा छ चाहार
सम्पदाको छ मुहान
खुला शिकारी आहार

 

लिमी गाविस प्राकृतिक जेल मात्र नभएर हिमालयको मनोरण प्रतिबिम्ब भएकोले सांस्कृतिक विविधताभित्रको अलौलिक सुन्दरता बोकेको आभुषण हो । यसलाई पर्यटकीयस्थल बनाई नेपाली अर्थव्यवस्थाको आम्दानीको स्रोत बनाउन सञ्चार, स्वास्थ्य र बिजुली आदिको समुचित विकास गरि सरकारको गतिशिल उपस्थित गरेमा वर्षको एक पटक फसल पाक्ने स्थानमा बाह्रमहिनाको आम्दानी लिन सकिने छ । यहाँबाट कैलास मानसरोवरको दृश्यावलोकन गर्ने अनेकौं स्थानहरु छन् । प्राकृतिक अवलोकन, चुचुराहरु, दहहरु र खोलानालाहरुको पृथक पृथक मौलिकता र नविनता रहेको छ । यदि सरकारी निकायले चिनिया सरकारसँग वार्ता गरेर चरनको समस्या हटाउने काम गरेमा पशुपालन पनि एग्रोभेट टुरीजमका रुपमा नयाँ प्रयोग समेत हुनेछ । हिउँदको समयमा नेपाली पशुवस्तु चिनियाँ भूभागमा प्रवेश गर्न नपाईने र अन्जान प्रवेश गरेमा महङ्गो जरिवाना तिर्नु पर्छ । तर वर्षायाममा नेपाली चरन क्षेत्रमा चिनियाँ पशुवस्तुहरुको निर्वाध प्रवेशमा नेपालले कुनै रोकटोक गर्न सकेकोे छैन । सानो माँछालाई ठूलो माँछाले खाने चलन त प्रकृति नियम नै हो कि भनेर सोच्नै पर्ने भएको छ । कुनै बेलोको टाट तराखारीहरु त आजभोलि ब्वाँसोको ध्वाँसोमा लिम्यालहरुसँग निहु खोज्नका लागि तयार छन् । उल्टो हुम्ला लिमी पो टाट पल्टेको छ । यो सरकारको लाचारीपन हो । नेपालको अदूर्दर्शीता हो । के नागरिकता प्रमाणपत्रले पेटको कीराहरुलाई शान्त पार्छ त ? के नेपाल र नेपालीको राष्ट्यिताको इतिहासले जीवन्त बनाउन्छ त ? के देश र राष्ट्को नामले सबल बनाउनका लागि कुनै उर्जा चाहिदैन त ? यी यावत कुराहरु सोतचनिय पक्ष बनेका छन् ? यी कुराहरु गर्दा राष्ट विरोधीको कलंक पनि लाग्न सक्छ तर पनि यी उठान गर्नै पर्ने कुराहरु पनि त हुन् नि ?

 

प्रत्येक व्यतिसँग ताको नाता छ
प्रत्येक समस्यासँग लाको खाता छ
प्रत्येक संस्कारसँग अनुभवको गाथा छ
प्रत्येक धड्कनसँग व्थथाको कथा छ

 

लिमी पुग्न सदरमुककामबाट ५,६ दिन कठिन पैदल यात्रापछि मात्र पुगिन्छ । यदि सरकारले चिनियाँ सरकारसँग वार्ता गरेर तालाखार खासा आवतजावतका लागि विशेष व्यवस्था गर्न सकेमा केही राहत हुनेछ । उच्च हिमालको शिरमा रहेको कैसालकुटको काखमा रहेका अनेकौं प्रकारका हिमाच्छीद शृङ्खलाहरुले लिमीलाई एक आदिम भूगोलको रुपमा पाउन सकिन्छ । त्यसैको काखमा अनेकौ प्रकारका हिमालहरुको एक अंश हो–नाम्खा ला । यसको बनावट त अरु हिमालभन्दा पृथक छ । ठाउँ ठाउँमा रंगीबिरंगी बुट्टेदार पहराको स्वरुप नै नाम्खा ला हो । र त यो आकासे खम्वाको हिमाल भएकोले नै यसको वयान र महिमा अरुभन्दा पृथक छ । जहाँ च्याङस्वाको स्वाद, भोजपत्रको पात, एक्लो साथ, रंगीन रात र लामाको साथले यो हिमालको महिमा र गरिमा बढेको छ । गरुडको प्रेमीस्थल, कस्तुुरीको खेल मैदान, नावरको चरन क्षेत्रले यो स्थललाई रमणीय बनाएको छ । वारिपारिबाट देखिने अनेकौं दृश्यहरुको नै शृङ्खलाहरुको श्रेणीगत श्रेणीहरु नै नाम्खा ला पासको एक अतृप्त स्मृतिको डोब हो ।

 

सजीव मानवताको रिन्पोच्छे उभिएको छ
प्रत्येक युग युगमा जन्मने
रिन्छने जाङ पोका धड्कनहरु
रिन्छेलिन गुम्बा बन्छ

 

हिउँसँग लिमीका बासिन्दाहरुको नजीकको नाता छ । उच्च हिमाली भेग भएकाले हिउँद यामका लागि हिउँ नै खोलानाला माथिको साँघु बन्छ भने बर्षा याममा हिउँ पग्लेर पानीको यात्रासँग त्यहाँका घोडा, याक तथा चौंरी गाईहरु यात्राका साथीहरु बनेका छन् । जहाँ एक मान्छे एक घोडाको चलन रहेको छ । एक घोडामा एक मान्छेका लागि चाहिने आधारभूत वस्तुहरु राखेर यात्रा गरिन्छ । यसैले लिमीका लागि पशुवस्तुको महिमा धेरै छ । यो क्षेत्र खश साम्राज्यको एक आधार खण्ड जडानको महत्वपूर्ण भाग भएकोले यसको ऐतिहासिक स्थान रहे पनि खोजकर्ताहरुको अभाबमा यहाँका बहुमूल्य सम्पदा छरपष्ट छरिएका छन् ।

 

म को हुँ
थाहा छैन ओ आया, ओ आँ ?
लुकेको छ मेरो सर्वस्व
फ्याउमुसाको दुलोमा हिउँ झैँ

 

email: rokayakarna@gmail.com