क्रिकेटमा भारतबिरुद्ध नेपालको ऐतिहासिक जित

काठमाडौं । एसीसी यू–१९ युथ एशिया कप क्रिकेटमा नेपालले टेष्ट मान्यताप्राप्त राष्ट्र भारतबिरुद्ध १९ रनको ऐतिहासिक जित आत्मसाथ गरेको छ । कुनै पनि तहको क्रिकेटमा नेपालले भारतमाथि जित हासिल गरेको यो पहिलो पटक हो ।

 

मलेसियाको किनरारा ओभल मैदानमा कप्तान दिपेन्द्र सिंह ऐरीको अलराउण्ड प्रदर्शनसँगै नेपालले ऐतिहासिक जित हासिल गर्‍यो । नेपालले दिएको १८६ रनको लक्ष्य पछ्याएको भारत ४८।१ ओभरमा १६६ रनमै समेटिएपछि नेपालको १९ रनको जित सम्भव भयो । ब्याटिङमा ८८ रनको कप्तानी पारी खेलेका ऐरीले बलिङतर्फ ४ विकेट लिएपछि भारतको ब्याटिङ पंक्ति धराशायी बनेको हो ।

 

भारतका कप्तान हिमांशु राना र मनजोत कलराले आक्रामक सुरुवात गर्दै पहिलो विकेटका लागि ६५ रनको साझेदारी गरे पनि नेपाली बलहरुले अन्य भारतीय ब्याट्सम्यानलाई धेरै समय क्रिजमा टिक्न दिएनन् । कमल सिंह ऐरीको बलमा बोल्ड हुनुअघि ओपनर रानाले ४६ रन बनाए । त्यस्तैं कलरालाई ३८ रनको व्यक्तिगत स्कोरमा पवन सर्राफले रोहित कुमार पौडेलको हातबाट क्याच आउट गराए ।

 

मध्यम ओभरमा नेपाली स्पिनरहरु खेलमा हावी भए । मध्यक्रमका चार ब्याट्सम्यानलाई कप्तान ऐरीले पेविलियनको बाटो देखिएपछि भारतको इनिङ धराशायी बन्यो ।