देशभर विप्लवका कार्यकर्ता पक्राऊ

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको भन्दै प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका विभिन्न नेता कार्यकर्ता पक्राउ गरेको छ ।

 

सोमबार नवलपरासी जिल्ला इञ्चार्ज पदम केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गैंडाकोट नगरपालिका १३ निवासी केसीलाई जिल्ला प्रहरी कार्यालयको टोलीले सुनवल नगरपालिका ११ भुमहीबाट पक्राउ गरेको हो । यस्तै बर्दघाट नगरपालिका ४ बस्ने बर्दघाट नगर कमिटी सदस्य मोहन सापकोटालाई पनि प्रहरीले पक्राउ गरेको जनाएको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ ।

 

यसैगरी बुवाको किरियामा बसेका नेकपा बैतडी जिल्ला इञ्चार्ज वासुदेव जोशीलाई पनि प्रहरीले सोमबार पक्राउ गरेको छ। जोशीलाई प्रहरीले डिलाशैनी गाउँपालिका–३ रुद्रेश्वरस्थित उनकै घरबाट पक्राउ गरेको हो ।