वामदेव र नारायणकाजी, जसले आफूले हारे, अरू जिताए

मंसिर २४, २०७४ ‘एमाले र माओवादी केन्द्रबीच तिक्त सम्बन्ध रहेका बेला पनि ‘दुई पार्टीबीच एकता हुनुपर्छ’ भन्ने प्रमुख व्यक्ति थिए, वामदेव गौतम । जुन बेला पार्टी एकता त परै, सरकार बनाउनसमेत माओवादीसँग मिल्नु हुँदैन भन्ने मत एमालेमा प्रभावी थियो, त्यो बेला गौतम एकताका कुरा गर्थे । त्यस्तै अडान राखेबापत पार्टीभित्र उनलाई केहीले ‘एमालेभित्रको माओवादी’ समेत भन्थे । परिस्थितिले दुई पार्टीलाई चुनावमा मिल्ने र एकता गर्ने विन्दुमा पुर्‍यायो । प्रतिनिधिसभा र प्रदेशसभामा दुई पार्टीको गठबन्धन बन्यो । यो गठबन्धन निर्माणको एक तहमा गौतम खटेका थिए । तर यसअघि एमाले एक्लै चुनावमा लडदा पनि जित्दै आएको बर्दियामा गौतम वाम गठबन्धनको लहर चल्दाचल्दै पराजित भए ।

 

मुलुकभर वामपन्थी गठबन्धनले जितको लहर चलिरहेका बेला यही गठबन्धन निर्माणका अर्का सूत्राधारमध्येका अर्का नेता थिए, माओवादी केन्द्रका नारायणकाजी श्रेष्ठ । उनी पनि गोरखा २ बाट पराजित भए । माओवादी शान्ति प्रक्रियामा आएपछि त्यस पार्टीमा मिसिएका श्रेष्ठ पनि एमालेसँग मिल्नुपर्छ भन्थे । विशेषगरी केपी ओली नेतृत्वको सरकार बन्ने बेलामा एमाले र माओवादीलाई जोड्ने व्यक्तिमध्ये श्रेष्ठ पनि एक थिए । दुई पक्षबीच सम्बन्ध सुधार्न श्रेष्ठ खटिएका थिए । एमाले र माओवादीबीचको सहमति भत्केर बजेट पेस गर्न नपाउँदै ओली सरकार ढल्ने अवस्था आउँदा त्यसलाई जोगाउने काममा श्रेष्ठ र गौतमको भूमिका थियो । तर पछि एमाले र माओवादीको सहमति भत्किएर माओवादी कांग्रेससँग सहकार्य गर्न पुग्यो । त्यो बेला पार्टीभित्र श्रेष्ठ असन्तुष्ट थिए । यसरी दुवै पार्टीलाई जोड्ने र मिलेर जाने अभियानमा निरन्तर लागिरहेका दुवैलाई यस पटक जनमतले भने साथ दिएन । दुई दलको गठबन्धन बनाउने काममा आन्तरिक रूपमा सक्रिय रहेका यी दुई नेताको हारका पछाडि संगठनात्मकभन्दा व्यक्तिगत कारण बढी जोडिएका छन् । जसले गर्दा उनीहरूलाई गठबन्धनको लहर चल्दा पनि चुनाव जित्न समस्या पर्‍यो ।

गौतमले यसअघि २०४८, ०५१ र ०७० गरी तीनवटा चुनाव बर्दियाबाट जितेका थिए । ०५६ र ०६४ को चुनावमा पनि उनी बर्दियाबाटै उम्मेदवार थिए । एमाले विभाजनका बेला ०५६ मा उनले मालेबाट चुनाव हारेका थिए भने ०६४ मा मुलुकभर माओवादीको लहर चल्दा पराजित भएका थिए । ०५६ र ०६४ मा दुई चुनाव लगातार हारेका उनले ०७० मा आफ्नो जन्मस्थान प्यूठान र बर्दिया दुई स्थानबाट उठ्ने निर्णय गरे । दुवैमा विजयी भए । एउटा क्षेत्र छोड्नुपर्ने भएकाले गौतमले बर्दिया छोडेर प्यूठान रोजे । अहिले फेरि बर्दिया नै झरे । क्षेत्र बदलेको असर पनि चुनावी परिणाममा देखियो ।
यसअघि बर्दियामा चारवटा निर्वाचन क्षेत्र थिए । गौतम क्षेत्र १ बाट जितेका थिए । क्षेत्र २ बाट कांग्रेसका सञ्जयकुमार गौतमले जितेका थिए । यस पटक क्षेत्र घटेर दुइटामा सीमित भयो । जसले वामदेवको भोट बैंक बदलियो । सञ्जय गौतम यसअघि नै बर्दियामा लोकप्रिय थिए । वामदेव बर्दिया छोडेर प्यूठानतर्फ गएपछि त्यहाँका जनमतलाई प्रभावित गर्न सञ्जय काफी भए ।

 

यस पटक सिँचाइमन्त्री समेत रहेका बेलामा सञ्जय चुनावी प्रतिस्पर्धामा उत्रिएका थिए । जुन प्रतिस्पर्धा वामदेवका लागि भारी पर्‍यो । आफू उपप्रधानमन्त्री र पटकपटक मन्त्री भइसकेको र समकालीन नेताहरू केपी ओली, माधव नेपाल, झलनाथ खनाल सबै प्रधानमन्त्री भइसकेकाले उनी आफूलाई अप्रत्यक्ष रूपमा ‘भावी प्रधानमन्त्री’ भनेर चिनाउने गर्थे । पार्टीभित्रको समीकरण अदलबदल हुँदा कुनै बेला त्यो अवसर आइहाल्छ कि भन्ने दाउमा उनी थिए । तर अहिलेको पराजयले गौतमका लागि त्यो ढोका बन्द भएको छ ।

 

माओवादीका श्रेष्ठको भने यो दोस्रो चुनावी प्रतिस्पर्धा थियो । ०६४ सालको संविधानसभामा उनी समानुपातिकतर्फबाट सांसद बनेका थिए । ०७० सालमा उनी मकवानपुरमा चुनाव लड्न गए । त्यहाँ पराजित भएपछि उनी यस पटक आफ्नो गृहजिल्ला गोरखामा चुनावी प्रतिस्पर्धामा उत्रिए । तर उनका लागि सहज अवस्था किन भएन भने विगतका दुइटा चुनाव निरन्तर जित्दै आएका पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई उनका प्रतिस्पर्धी थिए । विगतमा माओवादी पार्टीबाट दुइटा चुनाव जितेका भट्टराईले काठमाडौं बस्दा पनि गोरखासँगको सम्पर्कलाई निरन्तरता दिइरहेका थिए । त्यहाँको निर्वाचित सांसद र प्रधानमन्त्रीसमेत भएपछि त्यसको केही प्रभाव जिल्लामा परेको थियो । तर यस पटक भट्टराई पार्टी छोडेर नयाँ शक्तिबाट चुनाव लड्न गोरखा गएका थिए । नयाँशक्तिको संगठनात्मक आधार कमजोर रहेकाले भट्टराई सहज रूपमा जित्न सकिने ठानेर श्रेष्ठले गोरखा २ मै चुनाव लड्ने निर्णय गरे ।

 

माओवादीको आफ्नै संगठन बलियो भएको गोरखामा यस पटक एमाले पनि गठबन्धनमा मिसिएको थियो । एमाले र माओवादीको संगठनात्मक आधार र स्थानीय चुनावको मत हेर्दा जितका लागि बलियो आधार पनि थियो । तर चुनावमा संगठनमात्र होइन व्यक्तिको पनि प्रभाव पर्छ भन्ने देखियो । भट्टराईको संगठनात्मक आधार कमजोर भए पनि उनले कांग्रेससँग गठबन्धन गरेका थिए । उक्त गठबन्धनमा भट्टराईको व्यक्तित्व पनि जोडिएको थियो । हुन त चुनावअघि गोरखामा मतदाताको मनस्थिति बुझदा श्रेष्ठसँग एउटा गुनासो बढी थियो, जिल्लासँगको आवतजावत कम भयो भन्ने । लामो समय भूमिगत बसेको र खुला राजनीतिमा आएपछि पनि जिल्लासँगको सम्बन्ध कम राखेको आरोप उनीमाथि लागेको थियो । व्यक्तिगत कारणले गौतम र श्रेष्ठ चुनावी प्रतिस्पर्धा जित्न सकेनन् । तर उनीहरूको पराजयले दुई पार्टीका एकीकरण प्रक्रियामा भने त्यति ठूलो असर पार्ने छैन । किनभने पराजयपछि गौतम र श्रेष्ठले सार्वजनिक रूपमै गठबन्धनलाई एकतामा रुपान्तरण गर्ने भूमिका सक्रिय रहने उल्लेख गरेका छन् ।

 

आइतबार चुनावी परिणाम आए लगत्तै गौतमले वक्तव्य जारी गर्दै भनेका छन्, ‘मैले सधैं नेपाली कम्युनिस्ट आन्दोलनको एकीकरण र वाम गठबन्धनको पक्षमा प्रयत्न गरिरहें । व्यक्तिगत रूपमा मेरो पराजय भए पनि वाम गठबन्धनको सानदार विजयबाट म अत्यन्त खुसी छु । मेरा लागि यो नै ठूलो विजय हो । वाम सरकारद्वारा समाजवादउन्मुख समृद्धि हासिल गर्न र पार्टी एकता सफल पार्न लागिपर्ने छु ।’