हत्या आरोपी रेशम चौधरी २१ हजार मतान्तरले विजयी

रेशम चाैधरी

कैलाली । टिकापुर हत्याकाण्डका आरोपी तथा प्रहरीको फरार सूचीमा रहेका रेशम चौधरी कैलाली क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

 

राजपाका उम्मेदवार चौधरीले पूर्वानुमान विपरित वाम र लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई झण्डै २१ हजारको फराकिलो अन्तरले हराएका छन् । चौधरी ३४ हजार ३४१ मतसहित निर्वाचित हुँदा उनको निकटतम प्रतिस्पर्धी वाम गठबन्धबाट एमाले उम्मेदवार गरिमा शाहले १३ हजार ४०६ मत मात्र पाइन् । चौधरी र शाहबीचको मतान्तर २० हजार ९३५ छ । तस्रो स्थानमा रहेकी कांग्रेसकी इश्वरी न्यौपानेको मत ११ हजार २०३ छ ।

 

चौधरी कैलाली घटनाका मुख्य आरोपी हुन् र उनी प्रहरीको फरार अभियुक्तको सूचीमा छन् । उनले वारेसनामा मार्फत् उम्मेदवारी दिएका थिए । ०७२ भदौ ७ गते कैलालीको टीकापुरमा थारू आन्दोलन उत्कर्षमा पुगेको बेला डेढ वर्षीय नाबालकसहित आठ जना सुरक्षाकर्मीको सामूहिक हत्या भएको थियो ।

 

यसैगरी प्रदेशसभा तर्फ एक सिट राजपाले र एक सिट नेपाली कांग्रेसले जितेका छन् । क्षेत्रनम्बर १ (क) मा राजपाका १२ हजार १८४ मतसहित प्रदेशसभामा विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका जनकराज चौधरीले ९ हजार ३०८ मत पाएका छन् ।

 

यसैगरी क्षेत्रनम्बर १ (ख) मा नेपाली कांग्रेसका रणबहादुर रावल ९ हजार ४३४ मतसहित विजयी भएका छन् । उनको निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका नेपबहादुर थारु (चौधरी)ले ८ हजार ९०६ मत पाएका छन् ।