कालिकोटकी ३२ बर्षिया चन्दाको अकालमै मृत्यु

मृतक चन्दा शाही

माइतिघर कालिकोट सदरमुकाम मान्ममा रहेको र विगत केहि बर्ष देखि श्रीमानसंग मान्ममै व्यवसाय गर्दै आएकी ३२ बर्षिय चन्दा शाहीको अकालमै मृत्यु भएको छ ।

 

मंसिर २५ गते सोमबार राति ११ बजे सुत्केरी व्यथा लागेर शाहीलार्इ उनका आफन्तले जिल्ला अस्पताल ल्याए र चिकित्सकले चेक जाँच गरे । चेकजाँच पछि अप्रेसन गर्नपर्ने भए पछि अस्पतालमा कार्यरत चिकित्सकको टिमले अप्रेसन गर्यो । अप्रेसनको केहि घण्टापछि सुत्केरी शाहीको अवस्था सुधार हुँदै जानुपर्नेमा झन अवस्था नाजुक भएको थियो ।

 

अप्रेसनको वेलामा वेहास पारिएकी चन्दाको होस खुलेकै थिएन काठमाडौंबाट हेलिकप्टर आइपुग्यो र महाराजगंजमा रहेको टिचिङ हस्पिटलमा मंगलबार दिउँसो ३ बजे पुर्यायो । टिचिङ हस्पिटलमा पुग्ने वित्तिकै आकस्मिक कक्षमा कार्यरत चिकित्सकले मृत घोषणा गरेका थिए तर चिकित्सकले मृत घोषणा गरेकी चन्दाले अप्रेसनपश्चात् जन्माएको बच्चा जिवितै रहेको छ ।

मृतकका आफन्तका अनुसार सुत्केरीको मृत्यू चिकित्सकको लापरवाही र अक्सिजन अभावले भएको हो । दुर्गममा बेला बेला भैरहने यस्ता दुखद घटनाको मूल कारण दक्ष चिकित्सक उपलब्ध नहुनु र अत्याधुनिक औषधी तथा उपचारका सामग्रि नहुनु नै हो ।

 

मंगलबार लामो प्रयास पछि दिउँसो २ बजे सिम्रिक एयरको हेलिकप्टर मान्म पुगेको थियो । त्यो पनि ७ लाख भाडा तिर्न तयार भएपछि मात्रै । याने कि यो भन्दा पहिले हेलिकप्टर भाडा अधिकतम ४ लाख मात्रै लिन्थे ।

 

हेलिकप्टरले यस्तो आकस्मिक अवस्थामा कतिसम्म लिन पाउने भन्ने कुरा कहिँकतै लेखिएको छैन । अर्को कुरा कर्णाली जस्तो विकट ठाउँमा समस्या पर्दा पनि सरकार कानमा तेल हालेर बस्छ, कसैलार्इ मतलव छैन । र यति वेला सत्ता सञ्चालक र विपक्षीहरू चुनावी परिणाममै मस्त छन् ।