वर्तमान अवस्था र क्रान्तिकारी युवाहरूको सवाल

 

प्रकाशित २४जेठ२०७५

 

नेपाली युवाहरु आफ्नो भविष्यको निम्ति भौतारिदै यत्रतत्र लर्खराइरहेको अवस्था छ। दिनप्रतिदिन यो परिस्थिति झनै विकराल र गम्भीर बन्दै गइरहेको छ। प्राकृतिक सुन्दरताले भरिपूर्ण यो मुलुकमा कुरूपता र अन्धकारमय जीवनको कहालीलाग्दो अवस्थाले नेपाली जनता छटपटाइरहेका छन् राज्यका उच्च निकायमा भएकाहरु देखि ज्याला मजदुरी गरेर जीवन चलाइरहेकाहरु सबै आफ्-आफ्नो दुनियामा कुदिरहेका छन्। यहाँ सत्तामा रहेका आफ्नै स्वार्थ र दाउपेच अरु छन्। राज्य लुटिरहेकाहरु जसरी भएपनि लुटको स्वर्गलाई बचाइराख्न चाहन्छन् दलाली र भ्रष्टाचारीहरुको जसरी भएपनि आफ्नो गतिविधिलाई निरन्तर संरक्षण चाहन्छन् भने दलहरु दलालीकरण गरेर सत्तामा टिकिरहन चाहन्छन्।

 

तर बिडम्बना गरी खाने नेपाली जनता पीडा अभाव छटपटाहट अन्यौलको र अस्तव्यस्तताको जीवन जिइरहेका छन् आज तमाम उत्पीडित जनसमुदायहरु आफ्नै मुलुकमा आन्तरिक शरणार्थीको रुपमा जिउन बाध्य छन्। राज्य निर्णय कानून इमान्दार जनतालाई बाँध्ने साङ्लो बनेको छ भने करिब उत्पीडित उपेक्षित जनताहरु जाँतोमा मकै पिसिए जसरी पिसिई रहेका छन्। राज्य लुट्नेहरु लुट्नमै तछाडमछाड गरिरहेका छन् तर जनताहरु छटपटाहट र कोलाहलको अवस्थामा जिउन बाध्य छन् ।बाह्य हस्तक्षेप र दबादबाले स्थिति विकराल बन्न पुगेको छ। सत्तामा रहेकाहरु उडुसले रगत चुसे जस्तो जनतालाई चुसेर आफू ढाँटिरहेका छन् ।आफ्नो निजी स्वार्थ बाहेक अरु कुनै कुरामा चासो नै राखेको देखिँदैन।

 

अहिले समग्र रूपमा राष्ट्रियता जनतन्त्र र जनजीवीकाका गम्भीर संकटमा फस्न पुगेको छ पूर्वमा टिष्टा र पश्चिममा काकडा सिमाना रहेको नेपाल सन् १८१६को सुगौली सन्धि देखि सन् १९५० को नेपाल-भारत सन्धि हुँदै वर्तमान अवस्थासम्म आइपुग्दा परिस्थिति झनै विकराल र जटिल बनेको देखिन्छ भने कतै मुलुक सिक्किमीकरणतिर  जाने त होइन? भन्ने जस्ता प्रश्नहरू समेत आज आम रुपमा उठ्न थालेको छ ।जनतन्त्र र जनजिविकाका अत्यन्तै गम्भीर बन्न पुगेको छ। नेपाली आफैंले कुनै महत्वपूर्ण निर्णय गर्न नसक्नु केवल विदेशीले नै सबै मिलाइदिनुपर्ने र निर्णय गरिदिनुपर्ने यो कस्तो विडम्बना बन्न पुगेको छ। मुठीभरका केही मान्छेहरूको दबदबामा समग्र दुनियाँ चल्नुपर्ने तर हाेनाहार लाखौं युवाहरु विदेशिन बाध्य हुनुपर्ने साच्चै भन्नुपर्दा यसलाई स्वीकार्नुपर्ने यो कस्तो उदेकलाग्दो छ ।जसकारण अब क्रान्तिकारीहरुले युवाहरुलेआँट र साहस गर्नुको साथै पहलकदमी समेत लिनैपर्दछ। ७० लाख भन्दा बढी विदेशिएका युवाहरलाई स्वदेशमै फर्काएर सुन्दर समुन्नत र स्वाधीन नेपाल बनाउने महान यात्रामा लामबद्ध गराउने परिस्थितिको सिर्जना गराउनु पर्दछ त्यसको समग्ररूपमा क्रान्तिकारी युवाहरुले नेतृत्वदायी भूमिका निर्वाह गर्नै पर्दछ।

 

नेपाली युवाहरु आफ्नो मुलुकको भविष्य निर्माण अभियानमा सरिक हुनैपर्दछ कुनैपनि वहानामा मुलुकलाई बर्बाद पार्ने हरूका विरुद्ध आम नेपाली युवाहरु एकताबद्ध भई जाइलाग्नै पर्दछ मुलुकको समग्र भविष्य निर्माणमा युवाहरु लाग्नै पर्दछ। देशको सर्वांगीण विकास गरी विश्वमै नेपाललाई नमुनाको रुपमा स्थापित गराउने दिशामा अघि बढ्नै पर्दछ । अन्धकार पलायनता र निराश होइन तँ तमाम जनसमुदायमा आशाको किरण फैलाउने वातावरण निर्माण गर्नैपर्दछ। यसको निम्ति न्तिकारीहरु युवाहरुले पहलकदमी लिने आट गर्नै पर्ने हुन्छ। भविष्य खोज्न पलायनपलायन भएर विदेशिने होइन समग्र तीन करोडको हाराहारी नेपाली जनता र आउँदो पुस्ताको समेत भविष्य निर्माणमा लाग्नुपर्दछ। हाम्रो मुलुक हामीले नबनाए कसले बनाउने? र अहिले नबनाए कहिले बनाउने भन्ने कुरालाई  आम युवा पङ्क्तिका दिलदिमागमा सेट गराउनु जरुरी छ। जसको निम्ति अथक मेहनत त्याग बलिदानी र संघर्ष अपरिहार्य हुन्छ यसको नेतृत्व क्रान्तिकारी सिद्धान्त र विचारले लैस भएको पार्टीको नेतृत्वमा रहेको क्रान्तिकारी युवाले मात्र गर्न सक्दछ।जसकारण मोहन बैध किरण’नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी पार्टीको विचारले संगठित क्रान्तिकारी युवाहरुले यसको पहलकदमी लिने आँट र साहस गनै पर्दछ। चक्रव्युहकाे स्थितिलाई तोड्नै पर्दछ। तमाम विकृति र विसंगतिलाई निर्मुल पार्नै पर्दछ। समाजमा रहेका सबै प्रकारका असमानताहरुलाई समेत हटाउनुपर्दछ।

 

समग्र रुपमा आमूल परिवर्तनको नेतृत्वदायी भूमिका क्रान्तिकारी युवाहरुले गर्नुपर्दछ। जनहितका लागि जनपक्षीय कार्यहरु गर्नुपर्दछ। जसको निम्ति जनताका दुश्मनहरूको विरुद्ध एटम बम बन्नुपर्दछ भने जनतासँग कपास जस्तो नरम बन्नुपर्दछ र आवश्यकपर्दा जनताको मुक्ति र आमुल परिवर्तनको निम्ति बलिदानी दिन तयार हुनु पर्दछ। जस्तासुकै कठिनाई र चुनौतिका पहाडहरुलाई क्रान्तिमा बदल्ने दृढ सङ्कल्पका साथ अघि बढाउनै पर्दछ। सर्वहारावर्गको अधिनायकत्वलाई आत्मसात गर्दै बलप्रयोगको सिद्धान्त अनुरुप सञ्चालन गरिने जस्तासुकै वैधानिक या अवैधानिक संघर्षमा दृढताकासाथ क्रान्तिकारी युवाहरु अघि बढ्नु पर्दछ भने सिर्जनशीलताका साथ साथै सिद्धान्त र व्यवहारको तालमेल मिलाएर लैजाने क्षमता समेत प्रदर्शन गर्नु पर्दछ। जनसेवाका कार्यहरुलाई विशेष जोड दिँदै जनताका जीवनशैली र कार्यशैली संग मेल खाने बनाइनु पर्दछ।

 

हरेक गाउँ बस्तीमा पुगेर जनताका समस्याहरू संग एकाकार भइ पार्टीका नीति योजना र कार्यक्रमको साथै समग्र राष्ट्रिय राजनीतिक अवस्था र त्यसको दीर्घकालीन निकास बारे समेत जनतालाई प्रष्ट पार्दै संगठित गरी क्रान्तिकारीको महान अभियानमा सहभागी गराउनु पर्दछ। न्याय र सत्यको पक्षमा डटेर दृढताका साथ निरन्तर लडि रहनु पर्दछ भने कुराको बाेध समेत आम जनतामा गराउनु अहिले क्रान्तिकारी युवाहरूको दायित्व र कार्यभार बन्न पुगेको छ। के क्रान्तिकारी युवाहरु थाकेकै त? भन्ने प्रश्नहरु समेत अहिले उठ्न थालेका छन्। निश्चय नै नेपाली क्रान्तिकारी युवाहरुले अब यस्ता प्रश्नहरुका जवाफ बोलिले होइन व्यवहारले दिएर पुष्टि गर्नु पर्ने बेला आएको छ।

क्रान्ति को कार्यभारलाई पुरा गर्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्नैपर्ने बाध्यात्मक परिस्थिति सिर्जना भएको छ। साँच्चै नै अब क्रान्तिकारी युवाहरु डाइनामाइट बन्नै पर्दछ। यहाँ भयका तमाम बिकिर्ती र विसंगतिलाई अन्त्य गर्नुका साथै समुन्नत र स्वाधीन मुलुक निर्माणका निम्ति नेपालमा नयाँ जनवादी क्रान्ति को अपरिहार्यता छ। जसको निम्ति क्रान्तिकारी युवाहरुले समग्र विषयलाई बुझेर बदल्ने सवालमा नेतृत्वदायी भूमिका निर्वाह गर्ने पर्दछ भने आउदो पुस्ताको भविष्य निर्माणको समेत पहल कदमी लिनै पर्दछ। यो नेपाली क्रान्तिकारी युवाहरूको दायित्व र कर्तब्य पनि हो। 

 

लेखक हुन्    – नेकपा (क्रान्तिकारी माओवादी )पार्टीका केन्द्रीय सदस्य  –   हरिकृष्ण गजुरेल