पहिलो पटक भेट्दा ट्रम्प-किम नर्भस !

 

२९ जेठ, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उन पहिलो पटक भेट्दा दुवैमा ऐतिहासिक भेटवार्ता गर्दैछौं भन्ने भाव थियो । तर, उनीहरुको बडी ल्याङ्ग्वेज (हाउभाउ)ले दुवै नर्भस रहेको देखाएको एक बडी ल्याङ्ग्वेज विशेषज्ञले बताएका छन् ।

ट्रम्प र किमबीच सिंगापुरको सान्टोसा द्वीपमा अवस्थित एक पाँच तारे होटल क्याम्पेलामा भेटवार्ता भएको हो ।

भेटको सुुरुमा दुई नेताले हात मिलाए । ट्रम्पले उत्तर कोरियाली नेता किमको पाखुरामा हात राखे ।

झण्डै ६० सेकेण्ड हात मिलाउँदा किमले तीन पटक ट्रम्पको अनुहारमा हेरेका थिए । किमलाई भेट्नुअघि ट्रम्पले वार्ताप्रति उत्तर कोरियाली नेता कति वार्तामा गम्भीर छन् भन्ने कुरा आफूले एक मिनेटमा नै पत्ता लगाउने बताएका थिए ।

त्यसैले पनि होला, सुरुवाति भेटमा दुवै नेतामा ‘ऐतिहासिक वार्ता हुँदैछ’ भन्ने भाव देखिएको इन्फ्युएन्स सोलुसनका प्रवन्धक करिन लियोङले बताइन् । तर, दुवैलाई नर्भसनेस भने लुकाउन मुस्किल परेको उनले एसिया वानलाई बताएकी छन् ।

हात मिलाउँदा उनीहरुमा जोशको भाव देखिएन । ट्रम्पले कुनै पनि राष्ट्राध्यक्ष वा अधिकारीहरुलाई भेट्दा धेरै बेरसम्म हात मिलाउँछन् । समातेको हात जोडले हल्लाउँछन् । किमसँग पनि उनले त्यसै गरे ।

हालै जापानका प्रधानमन्त्री शिन्जो आबेसँग ट्रम्पले करिब १९ सेकेन्डसम्म हात मिलाएका थिए ।