प्रधानमन्त्री ओलीको पुत्ला दहन

काठमाडौँ । कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भइरहेको मूल्यवृद्धि तत्काल फिर्ता लिन माग गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको छ ।

सरकारले पेट्रोलियम पदार्थमा पटक–पटक मूल्यवृद्धि गरेर जनतालाई मारमा पारेको भन्दै विद्यार्थी संघले काठमाडौँको गोंगबु चोकमा सरकार विरुद्ध प्रदर्शन र नाराबाजी गरेका हुन् ।

गोंगबु चोकमा ठूलो संख्यामा निस्केका विद्यार्थीहरुले सरकार विरुद्ध प्रदर्शन गर्दै मुल्यवृद्धि फिर्ता गर, सुशासन कायम गर, जस्ता नारा लगाएका थिए ।

प्रदर्शनमा प्रहरीले हस्तक्षेप गर्दै झण्डा च्यातिदिएपछि विद्यार्थी आक्रोशित भएका थिए । शान्तिपूर्ण आन्दोलनमा आस्थाको आधारमा प्रहरीले झण्डा च्यात्नु निन्दनिय भएको नेविसंघ नेता निरञ्जन थापाको भनाई छ ।

सरकारले पेट्रोलियम पदार्थमा लगातार गरेको मूल्यवृद्धि गलत भएको भन्दै आन्दोलन गर्नुपरेको नेविसंघ केन्द्रिय सदस्य शुसिल भट्टले बताए ।

नेविसंघ केन्द्रिय समितीको आयोजना र ग्रामिण आदर्श, एनआर र मनोहर क्याम्पसको समन्वयमा भएको प्रदर्शनमा नेविसंघका महामन्त्री कुन्दन काफ्लेको उपस्थिती रहेको थियो ।

केपी ओली नेतृत्वको सरकार बनेपछि चौथो पटक पेट्रोलियम पदार्थको मुल्यवृद्धि भएको छ । यसको विरोधस्वरुप नेविसंघले चरणबद्ध आन्दोलन गर्दै आएको छ ।