जेठ २९। काठमाडौं- सरकारले काठमाडौं उपत्यकाका पर्यटकिय स्थलहरु राति ११ बजे सम्म संचालन गर्ने तयारी गरेको छ।

सरकारले हनुमानढोका दरबार स्वायर, स्वयम्भुनाथ, पशुपतिनाथ, बौद्धनाथ, पाटन दरबार स्वायर, कृष्ण मन्दिर र चन्द्रागिरीलाई राती ११ बजे सञ्चालनमा ल्याउने तयारी गरेको हो।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री रबिन्द्र अधिकारीले आगामी असोजबाट काठमाडौं उपत्यकाका पर्यटकिय स्थल रातिको समयमा चलाउने तयारी भईरहेको बताएका छन्।

हाल काठमाडौं उपत्यकामा बेलुका ८ बजेपछि सुनसान हुने गर्छ।

रातीको समयमा पर्यटकिय स्थलहरु सञ्चालन हुदाँ आर्थिक क्रियाकलाप हरु बढ्ने सरकारको अपेक्षा छ।

अधिकारीले भने, ‘सुरक्षाका सम्पुर्ण तयारी गर्दै रातिको समयमा सम्पदा सञ्चालन गर्ने हाम्रो योजना छ। विमानस्थल २१ घण्टा चलाउने निर्णय गरेका छौं रातिको समयमा पनि पर्यटकिय स्थल सञ्चालन हुदाँ रात्रीकालिन गतिबिधिहरु बढ्दै जाने छन्।’

उनले दोह्रयाए, ‘सुरक्षाका बिषयमा हामी निकै संवेदनशिल छौं र सुरक्षाको सम्पुर्ण तयारीपछि मात्र रातिको समयमा सम्पदाहरु सञ्चालनमा ल्याउने हाम्रो योजना हो।’

पुरातत्व विभागको अगुवाइमा विश्व सम्पदा सुचिमा सुचिकृत सम्पदालाई रातीको समयमा सञ्चालन गर्न काम भईरहेको छ।

पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रदिप ढकालले पशुपति परिसरमा रातिका गतिबिधि सञ्चालनका लागी कोषले काम गरिरहेको बताए।

मन्त्री अधिकारीले भने, ‘हामीले भक्तपुर दरबार स्वायरलाई पनि रातिको समयमा सञ्चालन गर्ने  कि भनेर सोचेका थियौं तर अहिले नै भक्तपुरमा पर्यटकहरु जादैनन् कि भनेर भक्तपुरका बिषयमा अन्य क्षेत्रको रेस्पोन्स पछि के गर्ने भन्ने निर्णय गर्छौं।