नेकपाका नेता ठगुन्ना कांग्रेसमा प्रबेश, कम्युनिष्ट हाेईन कमाउनिष्ट बनेको आरोप

दार्चुला ३०जेठ । दार्चुलामा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता ललितसिह ठगुन्ना (प्रविण) नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य दिलेन्द्र प्रसाद बडुले ठगुन्नालाई मंगलबार एक कार्यक्रमका बीच पार्टीमा प्रवेश गराएका हुन् ।

लामो समयदेखि नेपाल कम्युनिस्ट पार्टीमा क्रियाशिल हुन नसकेका ठगुन्नालाई तत्तकालिन नेकपा माओवादी केन्द्रले कारवाही गरेको थियो । माओबादी जनयुद्धकाल लगायत २० वर्ष कम्युनिष्ट आन्दोलनमा होमिएका नेता ठगुन्नो तत्कालिन नेकपा माओवादी केन्द्र दार्चुला जिल्ला सेक्रेटरी, जिल्ला इन्चार्ज, दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्षतर्फका उम्मेदवार रहदै पार्टीको पोलिट ब्युरो सम्मको जिम्मेवारी पाएका थिए ।

पछिल्लो समय नयाँ शक्ति पार्टी नेपालको जिल्ला संयोजक भएका थिए । नयाँ शक्ति पार्टीलाई जिल्लामा क्रियाशिल बनाउन नसकेपछि ठगुन्ना पुनः नेकपा माओवादी केन्द्रमै फर्किएका थिए ।

पार्टी भित्र प्रदेश तथा स्थानीय तह निर्वाचनमा कांग्रेसलाई सघाएको आरोप खेपेका ठगुन्नालाई माओवादी केन्द्रले कारवाही गर्ने तयारी गरेपछि नेपाली कांग्रेसमा प्रवेश गरेका हुन् । पार्टी प्रवेशपछि नेपालमा कम्युनिष्ट आन्दोलनको उपहास भएको र नाम मात्रको देखावटी भएको प्रतिक्रिया दिदै उहाँले भने नेपालमा अब कम्युनिष्ट रहेन केवल कमाउनिष्ट मात्र बने ।