प्रश्न सोधेकै नाममा मन्त्रीले कार्यक्रम नै बन्द गराए

३० जेठ २०७५ काठमाडौं : नेपाल टेलिभिजनमा १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’कार्यक्रमम सञ्चारमन्त्री गोकुल बास्कोटालाई प्रश्न सोधेकै नाममा कार्यक्रम नै बन्द भएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ।
कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइएको घटनाप्रति विज्ञप्ति निकालेर महासंघको गम्भीर ध्यानाकर्ष भएको बताएको हो।

हरेक शनिबार राति ८:४५ मा प्रसारण हुने कार्यक्रमअन्तर्गत गत शनिबार सञ्चार तथा सूचना प्रविधिमन्त्री बास्कोटासँगको कुराकानीमा प्रस्तोता थापाले सम्पत्ति विवरणको विषयमा प्रश्न गरेका थिए। अन्तवार्तामा चर्काचर्का प्रश्न सोधेको भन्दै मन्त्री बास्कोटाले कार्यक्रम नै बन्द गर्न निर्देशन दिएका थिए। त्यसपछि कार्यक्रम बन्द भएको हो। 

प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ’, विज्ञप्तिमा भनिएको छ, ‘महासंघ सरकारले नीति तथा कार्यक्रममा आफूले सञ्चारमाध्यम सञ्चालन नगर्ने प्रतिवद्धता गरेको स्मरण गराउन चाहन्छ। लोकतन्त्रमा प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको छ। सञ्चार जगतको हकहितको जिम्मेवारी लिनुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने गरी भएको यस्ता कार्यले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिवद्ध नरहेको देखाउँछ।’ 

महासंघका महासचिव रमेश विष्टले जारी गरेको विज्ञप्तिमा घटनाप्रति खेद व्यक्त गर्दै उक्त कार्यक्रम तत्काल सुचारु गराई संवैधानिक प्रेसको अधिकारको सम्मान गर्न आग्रह गरिएको छ। ‘महासंघ यो घटनाप्रति खेद व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘तत्काल कार्यक्रम सुचारु गराई संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ।’