जिल्ला सभापतिको भेलालाई केन्द्रित गर्दै कांग्रेसले डाक्यो केन्द्रीय कार्यसमिति बैठक

काठमाडौं, असार ३ । जिल्ला सभापतिहरुको भेलाको पूर्वसन्ध्यामा नेपाली कांग्रेसले सोमबारका लागि मकवानपुरको हेटौंडामा केन्द्रीय कार्यसमिति बैठक डाकेको छ ।
मंगलबारबाट सुरु हुने जिल्ला सभापतिहरुको भेलालाई केन्द्रित गरेर पार्टीको केन्द्रीय कार्यसमिति बैठक बोलाइएको हाे । कांग्रेसका मुख्यसचिव कृष्णप्रसाद पौडेलले सोमबार अपरान्ह ४ बजेका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाएको जानकारी गराउँदै बैठकमा समसामयीक राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताएका छन् ।
बैठकमा देशको समसामयीक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल हुने उनले जानकारी गराएका छन् ।  प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले हार ब्यहोरेपछि सभापति शेरबहादुर देउवाको आलोचना गर्दै आएका मध्येका एक केन्द्रीय सदस्य धनराज गुरुङले सोमबारको केन्द्रीय कार्यसमिति बैठकमा सभापतिहरुको भेला केन्द्रित छलफल हुने प्रस्ट पारेका छन् ।
एजेण्डा विहीन विशेष गरेर पर्सीबाट सुरु हुने भेलालाई मध्यनजर गरेर छलफल हुने उनले बताएका छन् । कांग्रेसका जिल्ला सभापतिहरुको तीन दिने भेला मंगलबारबाट हेटौंडामै सुरु हुन गइरहेको छ ।
कांग्रेसले सभापतिहरुको भेलाका लागि तीन वटा एजेण्डा तय गरेको मुख्य सचिव पौडेलले जनाएका छन् । भेलाका लागि विधान संशोधन, संगठन सुदृढीकरण र समसामयिक राजनीतिक अवस्थाका बारेमा छलफल गर्ने गरी एजेण्डा तयार पारिएको उनको भनाइ छ ।
कांग्रेसका जिल्ला सभापतिहरुको भेलाले विधान संशोधन गरेर पार्टी सुदृढीकरणलाई प्राथमिकता दिने जनाइएको छ ।