नेपालले दुवै छिमेकी देशसँग सन्तुलन कायम गर्दै मिलेर काम गर्नुपर्ने हुन्छ:महासचिव वैध

 

नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य कुनै बेला पुष्पकमल दाहालका राजनीतिक गुरु थिए । तर अहिले दाहालको भन्दा बेग्लै ‘नेकपा क्रान्तिकारी माओवादी’ बनाएर त्यसैको अध्यक्षता गरिरहेका छन् । पछिल्लो समय उनको सक्रियता घट्दै गएको छ । उनै वैद्यसँग ऋषि धमलाले कुराकानी गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री केपी ओलीको चीन भ्रमणलाई कसरी लिनुभएको छ ?

अहिले नै ठ्याक्कै मूल्याङ्कन त गरिहाल्न सकिदैन । जुन १४ बुँदे सम्झौता भएको छ, कतिपय कुराहरु विकास निर्माणसँग सम्बन्धित छन्, ति राम्रै छन् । सकाराकत्मक छ । नेपालले दुवै छिमेकी देशसँग सन्तुलन कायम गर्दै मिलेर काम गर्नुपर्ने हुन्छ । तर ठोस नतिजा के कति आउँछ भन्ने निश्चित छैन । पारवहनसँग सम्बन्धित विषयहरुमा खासै उपलब्धि देखिएको छैन । रेल काठमाण्डौमा ल्याउने भन्ने कुरा चर्चामा छ । तर काठमाण्डौबाट पोखरा हुँदै लुम्बिनीसम्म पुर्याउने कुरा उल्लेख छैन । लिपुलेकका सम्बन्धमा कुनै कुरा नै भएन ।

अहिलेको भ्रमणपछि चीनसँगको सम्बन्ध थप उचाईमा पुगेको हो ?

भोलीका दिनमा व्यवहारले देखाउँने कुरा हो । शब्दशैयामा सुतेर मात्रै हुँदैन । शब्दमा मात्रै सबै ठिक भइसक्यो भन्ने छ । काममा के हुन्छ भन्ने कुरा हेर्नुपर्छ ।

सम्झौतामा भएका बुँदा त राम्रो छन् नि ?

कतिपय कुराहरु सकारात्मक नै छन् । उर्जासँग सम्बन्धित कुराहरु सकारात्मक नै छन् । रेलका कुराहरु सकारात्मक छन् । समग्रमा सबै कुरा राम्रा नै हुन्छन् । तर नतिजा कस्तो हुन्छ भन्ने कुरा त कुर्नैपर्छ ।

यसपटक चीनले नेपाललाई प्राथमिकता दिएको हो ?

त्यस्तो संकेत त देखिएन । नेपालको आर्थिक विकासका लागि सहयोग गर्छौ भन्ने कुरा चिनियाँहरुले पहिलेदेखि नै गर्दै आएका हुन् । सहयोग कसरी लिने भन्ने कुरा हाम्रो पक्षको रणनीतिमा भर पर्छ ।

नेपाल कम्युनिष्ट पार्टीको सरकार र चीनको कम्युनिष्ट पार्टीको नेतृत्वबीचमा त कुरा मिल्छ होला नि ?

नेपालको त कम्युनिष्ट पार्टी नै होइन नि । हामी त कम्युनिष्ट नै मान्दैनौँ । यो त संशोधनवादी पार्टी हो । अरुले कम्युनिष्ट पार्टीकै सरकार भन्छन् होला, तर हामी मान्दैनौँ । किनकी कम्युनिष्ट पार्टी बन्नका लागि कम्युनिष्ट मूल्य र मान्यता अपनाउनुपर्छ ।

केपी ओली र प्रचण्ड मिल्नुभयो । एउटै पार्टी बनाउनुभयो । अरु कम्युनिष्टहरुलाई पनि एकताबद्ध हुन आग्रह गरिरहेका छन् । यसलाई कसरी लिनुभएको छ ?

उहाँहरुको कम्युनिष्ट एकता होइन, संशोधनवादीहरुको एकता हो । त्यसकारण राजनीतिक र वैचारिक रुपले ठिक छैन भन्ने मेरो बुझाई हो । विचार मिलेर गरिएको एकताप्रति त कुनै आपत्ति छैन । तर उहाँहरुलाई कम्युनिष्ट मान्न सकिदैन । उहाँहरुको नीतिसँग मेरो असहमत छ ।

तपाईले विचार मिल्ने पार्टीसँग एकता गर्ने कुरा गर्नुभएको थियो । के हुँदैछ ?

प्रयास जारी छ । रातारात हुने कुरा होइन । ओली र प्रचण्ड मिलेजस्तो जादु हुँदैन हाम्रो । हाम्रो त छलफल र बहस हुनुपर्छ । प्रयास गर्छौँ । सच्चा क्रान्तिकारी कम्युनिष्टहरुलाई गोलबन्द गर्ने प्रयासमा छौँ ।