डा.गोविन्द केसीको जीवन रक्षाकाे लागि कर्णाली प्रदेशका डाक्टर अान्दाेलित

जुम्ला असार १९ । कवर्डहलमा अनसन बसिरहेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै कर्णाली प्रदेशका स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् उनीहरु अस्पतालको सेवा नै बन्द गरेर आन्दोलनमा उत्रिएका हुन् । 

नेपाल चिकित्सक संघले अनशनरत डा. केसीलाई सुरक्षित स्थानमा स्थानान्तरण गरी उपचार गर्न सरकारलाई चौबिस घण्टे अल्टिमेटम दिएको थियो  । अल्टिमेटमको सुनुवाई नभएको भन्दै उनीहरु आकस्मिक बाहेक सबै सेवाहरु ठप्प पारेर सडकमा उत्रिएका हुन् । 

गएको शनिबारदेखि अनशनरत डा. केसीलाई कैदी थुनुवा सरह कभर्डहलमा राखिएको भन्दै जुम्लाका चिकित्सकहरु कभर्डहल अगाडि धर्ना दिए । हातमा कालो पट्टी बाँधेर उनीहरु कभर्डहल पुगेका थिए । 

कर्णाली प्रदेशको १० वटै जिल्लाका अस्पतालमा आकस्मिक बाहेकका अन्य सबै सेवाहरु अनिश्चितकालका लागि ठप्प पारेको नेपाल चिकित्सक संघ कर्णाली शाखाका उपाध्यक्ष डा. प्रविण गिरीले बताए ।

चिकित्सा शिक्षा अध्यादेशको प्रतिस्थापनका लागि ल्याएको विधेयकमा महत्वपूर्ण विषय फेरबदल गरेको विरोधमा अनशनरत डा. गोविन्द केसीको समर्थनमा प्रतिष्ठानका चिकित्सक, नर्स र विद्यार्थी आकास्मिक बाहेकका सबै सेवा ठप्प पारेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सकहरु आन्दोलनमा उत्रिएपछि प्रतिष्ठानको सेवा प्रभावित भएको छ । 

प्रशासनले डा. केसीको स्वास्थ्य जाँच गर्न अस्पताल लैजान दिएको छैन । चिसो भूँई, पानी चुइने र फोहोर हलमा अनशनरत डा. केसीको स्वास्थ्य अवस्था बिग्रदै गएपछि उपचारका लागि केसीलाई अस्पताल सार्नु पर्ने माग चिकित्सकहरुले प्रशासनलाई राखेका छन् ।