लामखुट्टेबाट बच्न चिकित्सकको सुझाव

चितवन असार ३२। वर्षा र गर्मीको मिश्रणले लामखुट्टेको प्रजनन वृद्धि हुने भएकाले लामखुट्टेबाट बच्न चिकित्सकले सुझाव दिएका छन् । विभिन्न रोग लामखुट्टेबाट सर्ने भएकाले यो मौसममा लामखुट्टेबाट जोगिनुपर्ने उनीहरू बताउँछन् ।

चितवनको भरतपुर अस्पतालका फिजिसियन डा. भोजराज अधिकारी गर्मी र पानीको सम्मिश्रण र यो समयमा भौतिक निर्माणले खाल्डाखुल्डीसमेत बढ्ने हुँदा लामखुट्टे हुर्कन ठूलो सहयोग पुग्ने बताउँछन् । डेंगु सार्ने एडिस एजेप्टाई नामको लामखुट्टेले जमेको पानीमा लार्भा र प्युपा हुर्काउँछ । डेंगु मात्रै होइन, हात्तीपाइले, जापानिज इन्सेफ्लाइटिस, मलेरियालगायत रोग लामखुट्टेबाटै सर्छ । डा. अधिकारीले भने, ‘यो समयमा लामखुट्टेबाट बच्नु भनेको धेरै रोगबाट बच्नु हो ।

 

लामखुट्टेबाट सर्ने रोगबाहेक अन्य सरुवा रोग, भाइरल इन्फ्लुएन्जा, स्क्रब टाइफस र लेप्टो स्पाइराको पनि यही वेलामा बढी संक्रमण हुने डा. अधिकारी बताउँछन् । जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका कीट नियन्त्रण निरीक्षक रामकुमार केसी एडिस एजेप्टाई नामको लामखुट्टेको विकास हुने मौसम अहिले भएको उल्लेख गरे । उनले डेंगुको संक्रमणप्रति सचेत हुन सर्वसाधारणलाई आग्रह पनि गरे । हरेक साउनदेखि कात्तिकसम्म डेंगु रोग लाग्ने खतरा हुन्छ ।

 

त्यसैले, जिल्लाका विभिन्न स्थानीय तहसँग मिलेर लामखुट्टेको वासस्थान खोजेर लार्भा नष्ट गरिएको उनले जानकारी दिए । कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा. दीपेन्द्र खतिवडा गर्मी र पानीसँगै लामखुट्टेको प्रजननमा वृद्धि हुने भएकाले मलेरिया, डेंगुलगायत अन्य रोगको संक्रमण हुने भन्दै लामखुट्टे हुर्कने अवस्था नदिन आग्रह गरे । घर वरपर सरसफाइ गर्ने, झाडी हुन नदिने र पानी जम्न नदिनेलगायत उपाय अपनाउनुपर्ने उनको भनाइ छ । अहिलेको गर्मी मौसममा खानेकुरा, पानी र हावामा बढी संक्रमण हुन्छ । यो वेला झाडापखाला, रुघाखोकी, ज्वरो, टाइफाइड, स्क्रब टाइफस, डेंगु, मलेरिया, जापानिज इन्सेफ्लाइटिस र चिकनगुनियाको संक्रमण हुनसक्ने चितवन मेडिकल कलेजका निर्देशक डा. दयाराम लम्सालले बताए । गर्मीमा सरुवा रोग नै बढी हुने उनको भनाइ छ ।

 

गर्मीले खानामा छिटो संक्रमण हुने हुँदा फुड पोइजन हुने खतरा बढी हुन्छ । वातावरण प्रदूषणले विभिन्न सरुवा रोग निम्तिने डा. लम्सालको भनाइ छ । यस्तै, टाउको दुख्ने, ज्वरो आउने, घाँटी दुख्ने संक्रमण देखिन्छ भने कीरा, फट्यांग्रा, उडुस, उपियाँलगायतले टोक्ने र विभिन्न छालाको एलर्जी र कीटजन्य रोग यो वेला देखिन्छ । बालबालिकामा संक्रमण धेरै हुने भएकाले उनीहरूको स्वास्थ्यमा बढी ख्याल गर्नुपर्छ । मुख्यतयाः स्वयं व्यक्तिले विशेष सावधानी अपनाउने हो भने धेरै रोगहरू नलाग्ने चिकित्सकको भनाइ छ । ज्वरो आए, कुनै संक्रमण भए चिकित्सकको सल्लाहमा औषधि लिनसमेत स्वास्थ्यकर्मीले आग्रह गरेका छन् ।

 

पानी उमालेर खानुपर्ने, सफा र ताजा खानेकुरा खानुपर्ने, घर वरपर सरसफाइ गर्नुपर्ने, लामखुट्टेको टोकाइबाट बच्नुपर्ने र बाहिर हिँड्दा पूरा ढाकेको कपडा लगाउनुपर्ने, खेतबारीमा काम गर्दा पनि लामो बाउला भएको लुगा लगाएर काम गर्नुपर्ने, राम्ररी सरसफाइमा बस्नुपर्ने र हात धोएर खानुपर्ने चिकित्सकको सुझाव छ । वर्षाको समयमा पानीमा ढल मिसिने सम्भावना बढ्छ ।

 

पानी दूषित हुने र वातावरणसमेत प्रदूषित भएर हैजा, झाडापखाला, हेपाटाइटिस ए, एलर्जीलगायतका संक्रमण हुन सक्ने कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल भरतपुरका फिजिसियन डा. दीपेन्द्र खतिवडा बताउँछन् ।

 

चितवनको हकमा भन्नुपर्दा सर्पसमेत बस्तीमा आउने तथा वन्यजन्तुसमेत बाहिर निस्किने भएकाले पनि यसतर्फ सचेतता अपनाउन उनको सुझाब छ ।