कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दै

काठमाडौं, साउन २२ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज बस्दैछ ।

 

समसामयिक राजनीतिक विषयमा छलफल गर्न केन्द्रीय समिति बैठक आह्वान गरिएको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

 

पार्टीको केन्द्रीय कार्यालय सानेपामा अपराह्न ३ बजे बस्ने बैठकमा विद्यमान समसामयिक राजनीतिक विषयका अतिरिक्त पार्टीको आन्तरिक गतिविधिबारे छलफल हुने छ ।

बैठकले पार्टीको विधान संशोधनका लागि मस्यौदा समिति गठन, पार्टीको आन्तरिक संगठन परिचालन, संसदीय सुनुवाइ समितिको निर्णयबारेमा छलफल गरी केही ठोस निर्णय गर्ने जनाइएको छ ।

नेविसंघको विवाद र महाधिवेशनबारे पनि बैठकले ठोस निर्णय गर्न सक्ने जनाइएको छ ।

यसैबीच, कांग्रेसले केन्द्रदेखि स्थानीय सरकारसम्मका गतिविधिहरुको सुक्ष्म निगरानीका लागि गठन गर्ने घोषणा गरेको छायाँ सरकार गठन आफैं छायाँमा परेको छ ।

गत फागुनमै छायाँ सरकार गठन गर्ने निर्णय गरेपनि अहिलेसम्म त्यसले औपचारिकता पाउन सकेको छैन ।

प्रवक्ता विश्वप्रकाश शर्मा भने छायाँ सरकार गठनबारे औपचारिक घोषणा गर्ने विषय नभएको बताउनु भयो ।

तर कसले कुन मन्त्रालय, प्रदेश वा विभागको निगरानीका लागि जिम्मेवारी लिने भन्ने टुङ्गो भने लागि नसकेको शर्माले जानकारी दिनुभयो ।

कांग्रेस सभापति शेरबहादुर देउवाले छायाँ सरकारको प्रधानमन्त्रीमा समेत आफ्नो दाबी नछोड्ने संकेत गरेपछि गठन प्रकृयाले मुर्तरुप पाउन नसकेको पनि स्रोतले बताएको छ ।

सुरुमा कम्युनिस्ट सरकारको निगरानीका लागि गठन गर्न लागेको छायाँ सरकारको प्रधानमन्त्री वरिष्ठ नेता रामचन्द्र पौडेललाई दिने चर्चा थियो । तर, वरिष्ठ नेता पौडेल प्रतिनिधिसभा सदस्य नरहेका कारण छायाँ प्रधानमन्त्री दिन नमिल्ने देउवा पक्षको बुझाइ छ ।

अहिलेसम्म छायाँ सरकारको अभ्यासका गर्ने सन्दर्भमा अनौपचारिक छलफल मात्रै भएको पार्टी कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले बताउनु भयो ।

यस्तै कांग्रेसले केन्द्रमा संसदीय विषयगत समितिहरुमा समेत छायाँ संसदीय समितिका रुपमा अभ्यास गर्दैछ ।