गोपाल र अजय इन्काउन्टरमै मारिएका हुन् गृहमन्त्री बादलले गरे प्रहरीको बचाउ

 

काठमाडौं साउन २५।  गृहमन्त्री रामबहादुर थापा बादलले अपहरणपछि हत्या घटनामा संलग्न गोपाल तामाङ र अजय तामाङ प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका छन् ।

 

शुक्रबार गृह जिल्ला भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ‘फेक इन्काउन्टर’ नभएको ठोकुवा गर्दै गोपाल र अजय प्रहरीको इन्काउन्टरमा नै मारिएको दाबी गरेका हुन् ।

 

११ वर्षका बालक निशान खड्काको अपहरणपछि हत्या गर्ने उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएर इन्काउन्टरका नाममा गोली हानी हत्या गरेको आरोप लागिरहेका बेला गृहमन्त्री थापाको यस्तो अभिव्यक्ति आएको हो ।

 

पत्रकारहरुको प्रश्नमा उनले २४ घण्टा भित्र नै अपहरणकारी र हत्यारालाई निस्तेज पार्न सरकार सफल भएको र मुल कुरा त्यो रहेको बताए ।
बिहिबार सिंहदरबारमा बसेको प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा इन्काउन्टरबारे गृहमन्त्रालयले छानविन गर्ने बताएका थिए ।

 

गृहमन्त्री बादलले अपहरणकारीलाई २४ घन्टामा निस्तेज पार्न सरकार सफल भएको बताउँदै फेक इन्काउन्टर हल्ला मात्र भएको दाबी गरे । उनले ११ वर्षीय बालक निशान खड्काका अपहरणकारीहरु इन्काउन्टरमै मारिएको दाबी गर्दै हल्लाका पछाडी नलाग्न समेत आग्रह गरे ।