हरिवंशको जोडीका रुपमा ‘दाल भात तरकारी ’ मा निरुताको कमब्याक

 काठमाडौँ  साउन २७।  मह सञ्चारले निर्माण गर्न लागेको सिनेमा ‘दाल भात तरकारी’मा नायिका निरुता सिंह फाइनल भएकी छन्। केही दिन अघि नायिका स्वस्तिमा खड्का र पुष्पल खड्का सिनेमामा रहने खबर बाहिरिएको दाल भात तरकारीमा नायिका निरुता सिंह पनि फाइनल भएकी छन्।

समाचार स्रोतका अनुसार सिनेमाको सबैभन्दा पहिलो कलाकार नै नायिका निरुता फाइनल भएको थियो। उनी हरिवंश आचार्यको जोडीको रुपमा प्रस्तुत हुने बताइएको छ।

 

यस अघि ‘शत्रु गते’मा हरिवंश आचार्यको जोडीको रुपमा दीपाश्री निरौलालाई प्रस्तुत गरिएको थियो जुन धेरैले मन पराएका थिए। दाल भात तरकारीमा भने हरिवंश आचार्यको जोडीको रुपमा निरुताले काम गर्ने भएकी हुन्।

 

लामो समयदेखि नेपाली सिनेमाभन्दा बाहिर रहेकी निरुताको यो सिनेमा ‘कमब्याक’ हुने भएको छ। केही समय अघि नाई नभन्नु ल ५ मा अतिथिको भूमिका खेलेकी निरुता यस सिनेमामा भने लामै भूमिकामा प्रस्तुत हुने भएकी छन्।

 

निरुताका अलवा यस सिनेमामा नायिका वर्षा राउतको पनि प्रवेश भएको छ। नायिका स्वस्तिमा खड्का, पुष्पल खड्का यस सिनेमामा रहने लगभग निश्चित भइसकेको छ।

 

मह सञ्चारको प्रस्तुति तथा किरण केसीको निर्माणमा बन्न लागेको सिनेमा दाल भात तरकारीलाई केसीका छोरा सुदन केसीले निर्देशन गर्ने भएका छन्। सुदन केसी लामो समयदेखि मह सञ्चारमा काम गर्दै आएका छन् भने ‘अंगरक्षक’देखि नै सहायक निर्देशकको रुपमा सिनेमा निर्देशनको अनुभव बटुलेका छन्। उनले पछिल्लो सफल सिनेमा शत्रु गतेमा समेत सहायक निर्देशक भएर काम गरेका छन्।

 

यो फिल्मको सम्पूर्ण छायांकन काठमाडौँमा नै हुने बताइएको छ। सिनेमामा मदकृष्ण श्रेष्ठ, हरिवंश आचार्य, बसुन्धारा भुषाल, राजाराम पौडेल, मोहितवंश आचार्य, विल्सनविक्रम राईलगायतका कलाकारहरु रहनेछ। मंसिर पहिलो सातादेखि छायांकनमा जाने यो सिनेमा अर्को वर्षको वैशाख १३ गते प्रदर्शन हुनेछ।