पहिलो उडान थाइल्याण्डको बैंककमा निगमको दोस्रो वाइड बडी ‘मकालु विमान

 

काठमाडौँ  भदाै १। राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमको दोस्रो वाइड बडी ए ३३०–२०० सिरिजको ‘मकालु’ विमानले यसैसाताभित्र थाइल्याण्डको बैंककबाट व्यावसायिक उडान शुरु गर्ने भएको छ ।

 

नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) बाट बिहीबार वायुयान उडान सञ्चालन अनुमतिपत्र (एओसी) पाएको मकालुले आउँदो मङ्गलबारसम्म उडान थाल्ने भएको हो ।

 

मकालुले आउँदो सातादेखि बैंककबाट उडान शुरु गर्ने निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले जानकारी दिएका छन् । शनिबारसम्म परीक्षण उडान ‘प्रुभिङ फ्लाइट’ गरी उडान शुरु गर्ने योजना सुनाउँदै भने “मकालु विमानको उडानका लागि आवश्यक प्रक्रिया पूरा भयो, हिजो एओसी पनि पाएका छौँ, सोमबार या मङ्गलबारदेखि व्यावसायिक उडान शुरु गर्छौैं ।

 

‘नाइन एन एएलजेट’ कलसाइनको सो विमान गत साउन १० गते काठमाडौँ अवतरण गरेको थियो । निगमको पहिलो वाइड बडी ए ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ विमान गत असार १४ गते आएको थियो ।

 

अन्नपूर्णले गत साउन १६ गते कतारको दोहाबाट व्यावसायिक उडान शुरु गरेको थियो । पहिलो उडान दोहा भए पनि भारतको नयाँदिल्ली मात्र उडेको अन्नपूर्णले बिहीबारदेखि बेङ्लोर उडान शुरु गरेको निगमका कर्पोरेट विभागका उपनिर्देशक सैलेश कंसाकारले जानकारी दिए । एक साताभित्र नयाँ उडान तालिका आएपछि अन्य गन्तव्यमा अन्नपूर्ण लगिने उनको भनाइ छ । पहिलो वाइड बडीले उडान शुरु गरेयता राम्रै व्यापार गरिरहेको जनाइएको छ ।