राउटे समुदायमा व्यवहारिक समस्या बढ्दै

 दैलेख भदाै २।   ओखलमा धान कुट्न व्यस्त राउटे युवा प्रकाशले एकैपटक जुम्ल्याहा सन्तान जन्माए । चार दिनकी सुत्केरीका लागि पोषिलो खानेकुरा धानको भात नै हुने भन्दै उनी धान कुट्नमै व्यस्त देखिन्छन्।कुखुराको मासु र झोल खुवाउनुपर्छ भन्दा उनले मानेनन् ।

 

सुत्केरी महिला र बच्चा अरूलाई देखाउन समुदायका अगुवाहरु मान्दैनन् । प्रकाशको उमेर करीब ३० वर्षको भए पनि उनकी श्रीमतीको उमेर करीब १७ वर्ष मात्रै पुगेको छ ।

 

गुराँस गाउँपालिका–१ बस्दै आएका राउटे समुदाय आफूहरूको तीन थर भएको बताउँछन् । कल्याल, स्ववंशी र रास्कोटी थर रहेको राउटे समुदायमा आफ्नो थरभन्दा बाहिरको युवा वा युवतीसँग मात्र विवाह गर्ने चलन भएकै कारण उमेर पुग्दा पनि अर्को थरको युवा वा युवती नभएपछि धेरै समय कुर्नुपर्ने बाध्यता छ ।

 

त्यही समस्यामा परेकी छिन् किशोरी गाजली राउटे पनि। मिल्दोजुल्दो युवा नभएका कारण अझैसम्म उनको बिहे भएको छैन । राउटे समुदायका महामुखिया महिनबहादुर शाहीका छोराको उमेर लगभग ३५ वर्ष पुगेको छ । अर्को समुदायकी करीब १३ वर्षीया युवतीसँग अबको एक वर्षपछि बिहे हुने तरखर रहेको अर्का राउटे सुरेन्द्र शाही बताउँछन् ।

 

फिरन्ते जीवन बिताउँदै आएका राउटेले पछिल्लो पटक परिचयपत्र बुझेका छन् । हरेक महिना भत्ता आउनुपर्ने माग गर्दै आएका उनीहरूले असार र साउन महिनाको भत्ता साउन अन्तिमसम्म पनि नपाएपछि मुखिया सूर्य नारायणले फोनबाट गुराँस गाउँपालिकाका अध्यक्ष खेमराज वलीलाई समयमै भत्ता नआएकाले मेरा जनता रिसाएको गुनासो गरेका छन् ।

 

आफूलाई जङ्गलको राजा ठान्ने उनीहरूमा केही परिवर्तनका सङ्केत देखिन थालेको छ । खोला नजिक बस्ने कुवा वा खोलाको पानी सजिलै प्रयोग गर्ने यो समुदायलाई अहिले शुद्ध खानेपानीको व्यवस्थापन गरिदिएपछि पाइपमा आएको पानी पिउन थालेका छन् । सरसफाइ गर्नुुपर्दछ भन्नेतर्फ उनीहरूको ध्यान गएको छ । जडिबुटीकै भर पर्ने यो समुदाय अहिले औषधि सेवन गर्न र घाउचोट लागेको ठाउँमा औषधि गर्न पनि तत्पर छन् ।

 

सबै समान खरिद गरेर बिक्री केन्द्र स्थापना गरिदिएपछि समुदायले निर्माण गर्ने कोशी, मदुस र अन्य सामान बेच्न बजार धाउनुपर्ने समस्या पनि अहिले समाधान भएको छ । उक्त गाउँपालिका र स्थानीय सामाजिक सेवा केन्द्रबाट परिवर्तनका लागि पहल थालिएको छ ।

 

राउटेका बालबालिका सधैँजसो जोखिममा हुने समस्या बढ्दै जान थालेपछि अहिले गाउँपालिका र सामाजिक सेवा केन्द्रले उनीहरूको बस्ती नजिकै तीन सहजकर्ताको व्यवस्था गरेका छन् । स्वास्थ्य कार्याकर्तासँगै एक महिला र एक पुरुषले समुदायमा देखापर्ने ठूला खाले समस्याबारे बाहिरैबाट अवलोकन गर्ने, समाधानको उपाय खोजी गर्ने र गाउँपालिका अध्यक्षलाई खबर गर्ने गरेको स्थानीयवासीले जनाएका छन् । रासस