राहत शिक्षकलाई स्थायी गर्न माग

 

काठमाडौँ, भदौ ९ । नेपाल राहत शिक्षक केन्द्रीय समितिले राहत कोटामा कार्यरत सम्पूर्ण शिक्षकलाई एकमुष्ट स्थायी गर्ने गरी सङ्घीय शिक्षा ऐनमा प्रबन्ध गर्न माग गरेको छ ।

 

समितिले स्थायी प्रकृया थालनीपूर्व शिक्षक सेवा आयोगबाट लिइने विभिन्न चरणका परीक्षामा राहत दरबन्दीमा कार्यरत शिक्षकहरुको हकमा उमेरको हदबन्दी हटाउन पनि माग गरेको छ ।

 

शुक्रबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा समितिका अध्यक्ष खेमराज अधिकारीले माग पूरा नभए यही भदौ २५ गतेदेखि कडा शैक्षिक आन्दोलन गर्ने चेतावनी दिए ।

 

पूर्वशिक्षामन्त्री एवम् उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगका सदस्य धनीराम पौडेलले राहत शिक्षकका मागहरु पूरा गर्न पहल गरिने आश्वासन दिँदै शिक्षकको सेवासुविधाको आवाज उठाउँदा विद्यार्थीले योग्य र दक्ष शिक्षकबाट पढ्न पाउने अधिकार पनि सुरक्षित हुनुपर्ने बताए ।

 

नेपाल शिक्षक महासङ्घका अध्यक्ष बाबुराम थापाले राहत शिक्षकका मागबारे शिक्षक सङ्गठनहरुबीच एकीकृत भावनाका साथ छलफल हुनुपर्ने बताए । मुलुकभर हाल करीब ४० हजार राहत कोटाका शिक्षक कार्यरत छन् ।रासस