विश्वकप विजेता लोरिसद्वारा जेल सजाय अस्वीकार

लण्डन, २८ भदौ । विश्वकप विजेता फ्रान्सेली टोलीका क्याप्टेन तथा गोलरक्षक ह्युगो लोरिसले जेल सजाय भोग्न अस्वीकार गर्नुभएको छ ।
लण्डनको मध्य भागमा बुधबार मादक पदार्थ सेवन गरेर सवारी चलाएको भेटिएपछि उहाँलाई जेल सजाय तोकिएकोमा अस्वीकार गर्नुभएको हो ।लोरिसले जेल सजाय अस्वीकार गरे पनि २० महिना सवारी सञ्चालनमा प्रतिबन्ध र ६५ हजार डलर जरिवानाका लागि भने सहमत हुनुभएको छ ।

 

“गत जुलाई १५ तारिखका दिन उहाँ विश्वकै सबैभन्दा गौरवपूर्ण व्यक्ति बन्नु भएको थियो, उहाँकै नेतृत्वमा फ्रान्सले रुसको मस्कोमा विश्वकपको उपाधि प्राप्त गरेको थियो” वकिल डेभिड सोनले भन्नुभयो ।

 

“सो उपाधि प्राप्त गरेको करिब दुई महिनामा उहाँ लण्डनको मध्य भागमा पक्राउ पर्नुभएको छ” ती वकिलले थप्नुभयो, “उहाँले आज अदालतमा क्षमा याचना गर्नुभएको छ ।”

 

लोरिसलाई फ्रान्समा अत्यधिक सम्मान गरिन्छ भने, उहाँ अहिले विश्वकै सर्वाधिक आदरणीय व्यक्ति मानिनुहुन्छ ।

डेलि मेल पत्रिकाका अनुसार लोरिसले मादक पदार्थ सेवन गर्नुभएको प्रहरीको विवरणमा देखिएको छ । बेलायतमा ३५ माइक्रोग्राम भन्दा बढी मादक पदार्थ सेवन गरेर सवारी साधन सञ्चालन गर्न नपाइने कानुनी व्यवस्था छ ।

 

लोरिसले एक विज्ञप्तिमार्फत परिवार, क्लब, सहकर्मी र समर्थकहरुसँग क्षमा याचना गर्नुभएको छ ।‘मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनु सम्पूर्ण रुपमा मेरो कमजोरी हो’ म स्वीकार गर्दछु ’ उहाँले भन्नु भयो । तर सधैँ यस्तै गति भने नहुने उहाँद्वारा जारी विज्ञप्तिमा प्रष्ट पारिएको छ । रासस÷एएफपी