चाैँतर्फि विरोधपछि कर सङ्कलन स्थगित, कहाँ कहाँ भयो लागू हेर्नुहाेस्

काठमाडौ, भाद्र २९ । देशभर स्थानीय तहले लिएको करको बिरोध भइरहेका बेला तेह्रथुमको म्याङलुङ नगरपालिकाले भने कर उठाउने काम स्थगित गरेको छ । उक्त नगरपालिकाले ढुङ्गा, गिटी, बालुवामा लगाउँदै आएको कर र शुक्रबारे हटियामा उठाउँदै आएको कर तत्कालका लागि बन्द गरेको हो । उक्त कर अव्यावहारिक भएको भन्दै नगरवासीबाट विरोध भएपछि नगरपालिकाले तत्काललाई कर सङ्कलन नगर्ने निर्णय गरेको जनाएको छ ।

 

यस अघि ठेक्कामार्फत नगरपालिकाले कर सङ्कलन गर्दै आएकामा ठेकेदारले आफूखुशी कर लिएको भन्दै नगरबासीले बिरोध गरेकाले कार्यपालिकाको बिहीबार बसेको २२औँ बैठकले उक्त कर हाल सङ्कलन नगर्ने निर्णय गरेको नगर प्रमुख सञ्जयकुमार तुम्बाहाम्फेले बताए ।

 

तत्काललाई करसम्बन्धी ठेक्कासमेत तोडेर नगरवासीबाट प्राप्त सुझावका आधारमा कर सङ्कलनलाई थप वैज्ञानिक र व्यावहारिक बनाउन अध्ययन थालिएको उनले जानकारी दिए । यसअघि नगरपालिकाले शुक्रबारे हटियामा डोकामा साग र निगुरो बेच्नेसँग समेत कर उठाएकामा आलोचना भएको थियो ।

 

देशका धेरै स्थानीय तहहरुले विभिन्न शिर्षकमा उठाएको कर ब्यबहारिक नभएको जानकारहरुले बताएका छन । यस्तो अबस्थामा अब अन्य स्थानीय तहले कर बारेमा कस्तो निर्णय गर्लान त्यो हेर्न बाकी छ तर, म्याङ्लुङ नगरपालिकाले गरेको पछिल्लो निर्णयले स्थानीय तहलाइ पुनर्बिचार गर्न बाध्य पार्ने देखिन्छ ।