हात्तीको झुण्डले धानबाली नष्ट देखि झोपडी भत्काउने सम्म,

कञ्चनपुर, भदौ २९। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर क्षेत्रमा शिविर बनाएर बस्दै आएका दुई दर्जन बढी बासिन्दाको धानबाली जंगली हात्तीले गएराती खाएर नष्ट गरेको छ । शिविरका दिलबहादुर चौधरीको झोपडी हात्तीको झुण्डले भत्काइ दिएको छ । झोपडीभित्र भण्डारण गरेर राखेको अन्न सबै हात्तीले खाएको छ ।

 

झोपी भत्काउन थालेपछि स्थानीयबासिन्दाले भागेर ज्यान जोगाएका छन् । ‘रातभर आगो बालेर र हो हल्ला गरेर अन्य झोपडी जोगाएका छौं।’ स्थानीय नर बहादुर ढुङ्गालले भने, ‘लगाएको अन्नत हात्तीको झुण्डले खाएर नष्ट पारेपछि साँझ विहानको खाना जुटाउन गाह्रो त भएकै छ । परिवारको ज्यान जोगाउन समेत मुश्किल हुन थालेको छ ।’

 

गत वर्ष समेत हात्तीको झुण्डले यस क्षेत्रका दर्जन बढी बासिन्दाको झोपडी भत्काएर अन्न सबै खाएर नोक्सानी गरेको थियो । ज्यान जोगाउनका लागि र अन्न शुरक्षित तरिकाले राख्नका लागि स्थानीयबासिन्दालले छिमेकी गाँउमा शरण लिनु परेको थियो । तारापुर शिविरमा निकुञ्जको विस्तारित क्षेत्र बाट विस्थापनमा परेका सात दर्जन बढी परिवार बर्षौ देखि बस्दै आएका छन् ।

 

यसैगरी निकुञ्जबाट आउने हात्तीको बथानले शुक्लाफाँटा नगरपालिका–५ गर्जमुनी र खजुवाका कृषकले ६ विघा लगाएको धानबाली नष्टको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक रमेश अवस्थाीले बताए । उनका अनुसार हात्तीको बथानले आइतबारदेखि बुधबारसम्म ६ विघामा लगाएको धानबाली नष्ट गरेको हो ।

 

मंगलबार रातीमात्रै गर्जमनी क्षेत्रमा हात्तीको बथानले ४ विघामा लगाएको धानबाली नष्ट गरेको छ । गर्जमनीका बासुदेव भट्ट, दिनेश भण्डारी, रामसिंह साउँद, भवराज निरौला, मिनबहादुर रावल र अर्जुनदेव भट्टलगायत २० जना कृषकको ४ विघामा लगाएको धानबाली नष्ट गरेको प्रहरी निरीक्षक अवस्थीले बताए । हात्तीको बथान मध्यरातमा गाउँ पस्ने गरेको गर्जमनीका बाशुदेव भट्टले बताए । उनकाअनुसार निकुञ्जबाट आउने हात्तीको बथानले प्रत्येक वर्ष धानबाली नष्ट गर्दै आएको छ ।

 

‘लगाएको अन्नबाली भित्र्याउने वेला जंगली जनावरले खाइदिन्छ, हामीले सधै बजारबाट अन्न खरिद गर्नुपर्ने बाध्यता छ ।’ उनले भने । शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज नजिकका बस्तीमा लगाएको अन्नबालीमा हात्तीले प्रत्येक वर्ष क्षति गदै आएको छ ।