विषाक्त मदिरा सेवनबाट मलेसियामा ६ नेपालीको मृत्यु

काठमाडौं असाेज ३। मलेसियामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने नेपालीको संख्या ६ पुगेको छ । भने १६ जना नेपाली बिरामी भएका छन्। मृत्यु हुनेमा मिम बहादुर घले, राम कुमार यादव, विशाल बुढाथोकी, संजय उराव, बलबहादुर कुलुंग, र आइते सिंह गोले रहेका छन् ।

 

मलेसियाको सेलेङगर सहरका विभिन्न स्थानमा रोजगारीका क्रममा रहेका उनीहरु मंगलबार बेलुकादेखि अस्पताल भर्ना भएका थिए। उनीहरुको विभिन्न स्थानीय अस्पतालमा उपचार भइरहेको मलेसियाका लागि कार्यवाहक नेपाली राजदूत कुमारराज खरेलले जानकारी दिए। घटनाबारे जानकारी लिन उनी राति नै अस्पताल पुगेका थिए।

 

मदिरा सेवनपछि बिरामी भएपश्चात् उनीहरुलाई सुंगाइबुलो, कजांग, क्लाङ, बान्टिङ अस्पताल लगिएको थियो। उपचार गराएर केही नेपाली फर्किइसकेका छन्। घटना सार्वजनिक भएलगत्तै त्यहाँस्थित टोली खटाएर उपचारमा सहजीकरण गरिरहेको कावा राजदूत खरेलले जानकारी दिए।