तिहारसम्म इन्धनको मूल्य नबढ्ने


काठमाडौं असाेज ३१। नेपाल आयल निगमले तत्काल इन्धनको मूल्य नबढाउने भएको छ । निगमले चाडपर्वका बेला उपभोक्तालाई लक्षित गरेर इन्धनको मूल्य नबढाउने भएको हो ।

संसद्को उद्योग बाणिज्य तथा श्रम समितिले समेत निगमलाई चाडपर्वमा इन्धनको मूल्य वृद्धि नगर्न निर्देशन दिएको थियो । सोही अनुसार तिहारसम्म मूल्यवृद्धि नगर्ने निगमको भनाइ छ । निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले तिहारसम्म पेट्रोलियम पदार्थको मूल्यवृद्धि नगर्ने बताए । “अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले पछिल्लो समय निगमको घाटा चुलिँदै गएको छ,” उनले भने, “चाडपर्वमा उपभोक्तालाई राहत दिनका लागि पनि मूल्यवृद्धि हुँदैन ।”

 

पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमा लगातार इन्धनको मूल्य बढेकाले निगमको घाटा १ अर्ब २९ करोड रूपैयाँ पुगेको छ । हवाई इन्धन र मट्टितेल बाहेक सवैमा निगमलाई घाटा छ । निगमलाई सवैभन्दा धेरै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिन्डर ४ सय ४ रूपैयाँ घाटा छ । यसैबीच निगमले सार्वजनिक विदाका दिनमा पनि इन्धन बिक्री खुला गर्ने भएको छ ।

 

बजारमा इन्धनको आपूर्ति व्यवस्था सहज पार्न बिक्री खुला गर्ने तय भएको हो । सामान्य अवस्थामा उपत्यका दैनिक पेट्रोल ४ सय ५० किलोलिटर र डिजेल ५ सय ५० किलोलिटर खपत हुने गर्छ । पछिल्लो समय अधिकांश मानिस दसैं मान्न गाउँ गएकाले उपत्यकामा इन्धनको खपत कम हुने देखिन्छ । बजारमा गाडिको संख्यासमेत न्यून चल्ने हुँदा इन्धन खपत पनि कम हुने निगमको भनाइ छ ।आजको कारोबार दैनिकबाट।