अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकद्धारा गोली हानी हत्या


एजेन्सी । अफगानिस्तानको कंधार प्रहरी प्रमुखलाई आफ्नै अंगरक्षकले गोली हानी हत्या गरेका छन् । उक्त हत्याको जिम्मेदारी तालिवानले लिएको छ ।

कान्धार प्रान्त परिषदका प्रमुख जान खाकरेजवालका अनुसार अब्दुल रजिक एक उच्चस्तरीय वैठकबाट फर्किरहेको बेला गर्भनर परिसरभित्रै पछाडिबाट हमला भएको हो । तालिवानले यो हमलामा आफुहरुले अमेरिकी कमान्डर जनरल स्कट मिलरलाई पनि निशाना बनाएको तर उनी बाँच्न सफल भएको जनाएको छ ।
आक्रमणमा परि स्थानीय खुफिया प्रमुख पनि मारिएका छन् ।

 

कंधारका गर्भनरसहित अन्य तीन अमेरिकी नागरिक घाइते भएका छन् । तालिवालने एक विज्ञप्ति जारी गर्दै जनरल रजाकलाई बर्बर प्रहरी अधिकारीको संज्ञा दिएको छ । अन्तर्रा्ष्ट्रिय संचार माध्यमले जनाए अनुसार हमलाकारीको पनि मृत्यु भएको छ ।

 

आगामी निर्वाचनलाई लिएर अफगानिस्तानमा सुरक्षा चुनौती बढेको छ । तालिवानले निर्वाचनमा भाग नलिन मतदाता र उम्मेदवारहरुलाई चेतावनी दिँदै आएको छ ।
अफगानिस्तानमा शनिवार चुनावका लागि मतदान हुँदैछ । तालिवानले यो चुनावमा सहभागि नहुन पनि मतदातालाई चेतावनी दिएको छ ।