हृदयाघातको बिरामीलाई ग्यास्ट्रिकको औषधि


भक्तपुर कर्तिक ६। दशैँको महाअष्टमीका दिन चाँगुनारायण नगरपालिका वागिश्वरीका ४४ वर्षीय रामकृष्ण गिरी देब्रे छाती दुखेपछि उपचारका लागि भक्तपुर अस्पताल आइपुगे ।

बिदाको दिनमा ओपिडी सेवा बन्द हुने भएपछि आकस्मिक कक्षमा रहेका चिकित्सकलाई स्वास्थ्य परीक्षण गराए । स्वास्थ्य परीक्षणमा संलग्न चिकित्सकले देब्रे छाती दुखेको ग्यास्ट्रिकका कारणले भन्दै ग्यास्ट्रिकको औषधि दिएर पठाइदिनुभयो ।

 

भोलिपल्ट फेरि छाती दुखेर मध्यपुर अस्पताल पुग्दा मुटुको सबै उपचार सेवा छ भनेर प्रचार गर्दै आएको यो अस्पतालले पनि इसिजी गरेर बिरामी बचाउन आवश्यक थप उपचार नगरी सिधै गङ्गालाल अस्पताल रिफर गरेपछि गङ्गालाल पु¥याउँदा उनको निधन भयो । हृदयाघातकै कारण निधन भएको गङ्गालाल अस्पतालले पुष्टि ग¥यो ।

 

उपचारका लागि शुरुमा आएको भक्तपुर अस्पतालका चिकित्सकको लापर्वाहीले ज्यानै गएको स्थानीय बासिन्दा बताउँछन् । पीडित परिवारले भने भक्तपुर अस्पतालले इसिजी गरेर गङ्गालाल अस्पताल लैजान सुझाब मात्रै दिएको भए पनि ज्यान बचाउन सकिनेमा चिकित्सकले बिरामीलाई गम्भीर रुपमा नलिँदा ज्यान गएको गुनासो गरेका छन् । हृदयाघातको लक्षण देखिँदा देखिँदै पनि अस्पतालमा भएको इसिजी सेवा उपलब्ध नगराई ग्यास्ट्रिक भनेर औषधि दिएर पठाउनु चिकित्सकको चरम लापर्वाही भएको स्थानीयवासीको भनाइ छ ।

 

यसबारेमा अस्पतालका सुपरिटेण्डेन्ट डा सुधार देवकोटासँग सम्पर्क गर्न खोज्दा उहाँ बिदामा भएको अस्पतालका प्रशासन प्रमुख विश्व न्यौपानेले जानकारी दिए । घटना गम्भीर र दुःखद भएको बताउँदै न्यौपनेले भन्नुभयो, “मेडिकल सुपरिटेण्डेन्ट बिदामा छन् , उनी आएपछि घटनाको दिनको चिकित्सकले बिरामी हेरेको हो, अस्पतालमा भएको इसिजी सेवा किन सञ्चालन नगरेको हो, छानबिन गरी विभागीय कारवाही अगाडि बढाउँछौँ ।”

 

सरकारको वार्षिक करोडौँको बजेट आउने भक्तपुर अस्पताल र सरकारी तलब खाएर बस्ने यहाँका केही चिकित्सकको यस्तो लापर्वाहीको घटना यो पहिलो भने होइन । सरकारी अस्पतालका रुपमा रहेको भक्तपुर अस्पतालले विगतदेखि नै प्रसूतिदेखि विभिन्न रोगको उपचारमा लापर्वाही गर्दै आएपछि पछिल्लो समयमा बिरामीको चापसमेत घटेको छ ।

 

आइसियू बिना नै विभिन्न रोगको शल्यक्रिया गरेर अर्को लापर्वाही गर्दै आएको स्थानीयवासी बताउँछ । आँखाअगाडि नै भक्तपुर अस्पताल रहे पनि यहाँका बासिन्दाले भने उपचार गराउन बिरामीलाई काठमाडौँका अस्पताल लैजाने गरेको दूधपाटीका स्थानीयवासी रामप्रसाद श्रेष्ठ बताउंछन् । भक्तपुरका बासिन्दालाई भक्तपुर अस्पतालको उपचार सेवामा विश्वास नै हट्दै गए पनि बिरामी काठमाडौँ लैजान गरेको बताए । उनी भन्छन्, “भक्तपुर अस्पताल कहिल्यै नसुध्रिने भो, यहाँको लापर्वाही हेर्ने हो भने अनगिन्ती छन् ।” ज्यान बचाउने अपेक्षा लिएर अस्पताल आउने बिरामीलाई बचाउन भक्तपुर अस्पताल गम्भीर नहुने गरेको स्थानीयवासीको गुनासो छ । रासस