मूख्यमन्त्री रावतलाई ओभरटेक नर्गन सार्वजनिक रुपमै प्रचण्डकाे चेतावनी

जनकपुर कार्तिक ६। प्रदेश २ का मुख्यमन्त्रीलाई केन्द्र सरकारलाई ‘ओभरटेक’ गर्ने प्रयास नगर्न नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक रुपमै चेतावनी दिएका छन् ।

 

नेकपाको प्रदेश २ को कार्यालय उद्घाटन तथा शुभकामना आदानप्रदान कार्यक्रममा मंगलबार प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई पनि बोलाइएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले प्रदेश प्रहरी ऐनमाथि असन्तुष्टि जनाएका हुन् ।

 

केहीले विधेयकहरु नबनोस् र सरकार संवैधानिक संकटमा परोस् भन्ने चाहेको उल्लेख गर्दै उनले धेरै मेहनत गरेर मौलिक हकसम्बन्धी विधेयक बनाइएको बताए । प्रचण्डले संघीय प्रहरी ऐन बनाउन केही ढिलो भएको स्वीकार गरे ।

 

तर, केही ढिलो भयो भन्दैमा संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान बनाउने, समानुपातिक समावेशीलाई स्थापित गर्ने नेतृत्वलाई उछिनापाछिन गर्ने गरी, बाटोमा दुर्घटना हुने गरी ओभरटेक गर्न खोज्नु गल्ती हुन्छ, म मुख्यमन्त्रीजीलाई भन्न चाहन्छु’ प्रचण्डले चेतावनीपूर्ण भाषामा भनेका छन् ।

 

प्रदेश २ को विकासलाई आफ्नो पार्टीले प्राथमिकतामा राखेको भन्दै नेकपा अध्यक्ष प्रचण्डले अतिवाद तथा विखण्डनको पछि नलाग्न प्रदेश २ का जनतालाई अपीलसमेत गरेका छन् ।