नेकपा नेताको खुलासा मन्त्रीहरु हटाउने तयारी भएकाे छ


काठमाडौं कार्तिक ६। सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा का स्थायी समिति सदस्य एवम् सांसद देवेन्द्र पौडेलले अब बस्ने स्थायी समिति बैठकमा वर्तमान मन्त्रीहरुको कार्यशैली र मन्त्रीहरु परिवर्तन गर्नेबारे व्यापक छलफल हुने स्पष्ट पारेका छन् ।

 

उनले भने,‘प्रधानमन्त्रीले अब टीम परिवर्तन गर्नुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा प्रधानमन्त्रीको टिम परिवर्तन हुन्छ । तर, प्रधानमन्त्री परिवर्तन हुँदैनन् ।’ मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै नेता पौडेलले भने,‘सरकारको काममा प्रभावकारिता भएन् । अब योभन्दा अझै प्रभावकारिता हुनुपर्छ । अब बस्ने स्थायी समिति बैठकमा जनताले हामीसँग राखेका गुनासा र टिप्पणीहरु जस्ताको त्यस्तै राख्छौं ।

 

अब दशैंलगत्तै वातावरण तात्छ । सरकारले अब आफ्ना गतिविधिहरु बढाउँछ । सरकारले अब काम थाल्नुपर्छ ।’ यद्धपी उनले मान्छे फेरेर काममा प्रभावकारिता नआउने पनि स्पष्ट पारे । पौडेलले भने,‘अनुभवी टिम आवश्यक पर्यो भने मन्त्रिमण्डल पूनर्गठन हुन्छ । तर, अभहिले प्रधानमन्त्री फेरिने सम्भावना छैन । आवश्यक पर्यो भने मन्त्रीहरुको जिम्मेवारी अदलीबदली हुन्छ ।’

 

साक्षात्कारमा बोल्दै उनले मन्त्रीहरुले सुशासनलगायतका काममा तत्काल परिणाम देखाउनुपर्ने भएपनि त्यो देखाउन नसकेको गुनासो पोखे । उनले भने,‘सुशासन कायम गर्न त सकिन्छ नि, केले रोकेको छ रु मन्त्रालयको जिम्मेवारी सम्हालेलगत्तै सुशासनलगायतका कामहरु कायम गरेर देखाउन सकिन्छ ।’ उनले वर्तमान सरकार सफल वा असफल, पास वा फेल भनेर भन्ने बेला अहिले नै भैनसकेको पनि जिकिर गरे ।

 

उनले भने,‘अहिले नै वर्तमान सरकारको बारेमा पास वा फेल भनेर टिक लगाउने र ईन्टु लगाउने बेला भएको छैन् । सरकारको बारेमा समिक्षा गर्न कम्तिमा पनि ३ वर्ष कुर्नुपर्छ । आलोचना गर्ने बेला भएको छैन् । तर, अहिले सरकारका बारेमा भैरहेका आलोचनाहरु मननयोग्य छन् । हामी अब समिक्षा गर्छौं । यसको मतलव यो होईन की, हिजो चकाचक थियो, यो सरकार आएपछि सबै बर्वाद भयो भन्ने अवस्था अहिले छैन् । कामहरु अब विस्तारै अघि बढ्छन् ।’

 

यता, प्रधानमन्त्री केपी शर्मा ओलीका जनसम्पर्क सल्लाहकार अच्यूतप्रसाद मैनालीले भने मन्त्रिमण्डल पूनर्गठन गर्नेबारे आफूलाई कुनै जानकारी नभएको बताउँदै यसबारे पार्टीले समिक्षा गर्ने विषय भएको प्रतिक्रिया दिए । उनले भने,‘दशैंपछि मन्त्रिहरु फेरिने भनेर मिडियामा बाहिर चर्चा भएका छन् । तर, यस सम्बन्धमा मैले बोल्नुहुँदैन् । यो त पार्टीले समिक्षा गर्ने विषय हो ।’