आजबाट बाजुरामा तेस्रो बडीमालिका कप पुरुष खुला फुटबल प्रतियोगिता सुरु

बाजुरा,कार्तिक ११ ।बाजुरामा तेस्रो बडीमालिका कप पुरुष खुला फुटबल प्रतियोगिता आजबाट सुरु गरेको छ । विजया दशमी तथा शुभदिपावलीको अवसर पारी बडीमालिका युथ क्लबले बाजुराको सदरमुकाम मार्तडीमा तेस्रो बडीमालिका कप पुरुष फुटबल प्रतियोगीता सुरु गरेको हो ।

 

‘म बदलिन्छु, मेरो देश बदलिन्छ स् असाहय र आश्रय विहीनको बालवालिकाको भविष्य सप्रिन्छ’ भन्ने मूल नाराका साथ बडीमालिका युथ क्लबले सेभेन ए साईड फुटबल प्रतियोगीताको आयोजना गरिएको बडीमालिका युथ क्लबका अध्यक्ष वीरेन्द्र बोहराले बताए । उक्त फुटबल प्रतियोगिताको आइतबार प्रतिनिधिसभा सदस्य लालबहादुर थापाले एक औपचारिक कार्यक्रमकाबीच प्रतियोगिताको उद्घघाटन गरे ।

 

आयोजक बडीमालिका युथ क्लबका अनुसार प्रतियोगीतामा जिल्ला भरिका ९ वटै स्थानीय तहका २२ वटा टिम सहभागी भएका छन् । आइतबारबाट संचालन भएको खेल कार्तिक १५ गतेसम्म संचालन गरिने भएको छ ।

 

उक्त खेलमा प्रथम हुने खेलाडी टिमलाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको छ भने दोस्रो हुने टिमलाई ३० हजार नगद पुरस्कार सहित मेडल प्रमाण पत्रको व्यवस्था गरेको आयोजकले बताएको छ । खेल संचालन सदरमुकाम मार्तडीमा रहेको मालिका माद्यमिक विद्यालयको प्राङ्गणमा संचालन भइरहेको छ ।