दशैं टिकटमा मनलाग्दीस् कोही रित्तो हात फर्किंदै, कोहीलाई फालाफाल

काठमाडौं, असोज २५ । गोंगबु बसपार्क पुगेका अर्घाखाँचीका सयौज पोख्रेल टिकट काउन्टरमा पुग्नुभयो । अर्घाखाँची सन्धीखर्कका लागि टिकट दिनुस् भनेर काउन्टरका कर्मचारीसँग टिकट माग्नुभयो । काउन्टरका कर्मचारीले भने– ‘२७ गतेको टिकट प्याक छ । बिहानै आउनुहोला । गाडी थप गर्छौं ।’ अन्ततः सयौज टिकट नै नलिई रित्तै हात फर्किनुभयो ।

 

घर जान टिकट लिन बसपार्क पुगेका केशव पाण्डेले भन्नुभयो– ‘के गर्नु अग्रिम टिकट पूरै प्याक छ भनेर जवाफ पाएँ । अब क्याबिनमा मात्रै सिट छ रे रु क्याबिनमा त सात जनासम्म राख्छ । पोहोर पनि दुःख पाएको हुँ क्याबिन भनेर ।’ रोल्पा लिवाङ जाने तयारीमा रहेका पाण्डे पनि केही समय अलमलिए तर, टिकट पाएनन् असोज २९ को ।

 

अग्रिम टिकट लिएकाहरुको टिकटमा गते र रकम खुलाइए पनि गाडी नम्बर भने खुलाइएको छैन । त्यसका लागि टिकटमा प्रस्थानका लागि उल्लेख गरिएको गतेको एक घण्टा अघि बसपार्क पुगिसक्नुपर्ने काउन्टरका कर्मचारीले जनाएका छन् ।

 

दशैं नजिकिँदै गर्दा टिकटमा मनलाग्दी हुने गरेको पाइएको छ । टिकट काउन्टरमा बस्दै आएकाले आफन्तीलाई फोनको भरमा टिकट दिने गरेका छन् । टिकट काउन्टरका कर्मचारीसँग परिचित नभएका यात्रुले सहज रुपमा टिकट पाउन सकेका छैनन् ।

नेपाल समाचारपत्रको टिम बसपार्क पुग्दा टिकट काउन्टरमा कार्यरत कर्मचारीले फोन आएकै भरमा आफ्नो सर्टको गोजीबाट पाँचवटा अग्रिम टिकट आफ्ना नजिकका मान्छेलाई उपलब्ध गराएका थिए ।

 

यात्रुका लागि सहजता प्रदान गर्न भन्दै बसपार्कमा सामुदायिक सेवा केन्द्र र प्रहरीको संयुक्त टोली खटिएको छ । तर सो टोलीले पनि खासै उपलब्धिमूलक काम हुन सकेको छैन । दुःख पाउनेहरुले दुःख पाएकै छन् । नेपाल समाचारपत्रबाट,