म पार्टीभित्रको गुट अन्त्य गर्छु नवनियुक्त उपसभापति विजयकुमार गच्छदार

काठमाडौं कार्तिक २१ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नवनियुक्त उपसभापति विजयकुमार गच्छदारले सिँगो पार्टीलाई अब एकतावद्ध बनाएर अघि बढाउने बताउनुभएको छ ।

 

‘सकेसम्म म पार्टीभित्रको गुट अन्त्य गर्छु’, गच्छदारले भन्नुभयो, ‘यदि सकिन भने पनि विवादलाई न्यूनिकरण गर्छु ।’ काठमाडौमा आयोजना भएको देउसी–भैलो कार्यक्रममा पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै नेता गच्छदारले पार्टीमा रहेका गुटरउपगुट अन्त्यको लागि आफूले सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनुभयो ।

 

कांग्रेसले सशक्त प्रतिपक्षीको भूमिका निर्वाह गर्ने उहाँको भनाई थियो । ‘आउँदो चुनावमा कांग्रेस एक नम्बर पार्टी बन्छ । अहिलेको समस्या समाधान गर्न कांग्रेसले भूमिका निर्वाह गर्छ ।’ पार्टीभत्र आफूले पाएको नयाँ जिम्मेवारीलाई कुशलताका साथ निभाउने पनि गच्छदारको भनाई छ ।