अब देखि कतार सरकारले काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने, ठगि गर्ने दलालीहरुको भागाभाग हुने निश्चित

काठमाडौं कर्तिक २२ – काम गर्न जाने नेपाली श्रमिकलाई आवश्यक भिसा उपलब्ध गराउन र उनीहरुको स्वास्थ्य परीक्षणका लागि कतार सरकारले एक महिनाभित्रै काठमाडौंमा भिसा सेन्टर स्थापना गर्ने भएको छ । कामदार स्रोत मुलुकमै भिसा उपलब्ध गराउने कतार सरकारको योजनाको एक हिस्सा अन्तर्गत काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको काठमाडौंस्थित कतारी राजदूतावासले जनाएको छ।

 

कतार सरकारले आफूले कामदार ल्याउने आठवटा मुलुकमा २० वटा भिसा सेन्टर खोल्न लागेको छ । काठमाडौंबाटै भिसा प्रक्रिया हुने भएपछि आजाद भिसाका नाममा हुने ठगी रोकिने, भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाटै हुने, भिसा प्रक्रियामा बिचौलियाको भूमिका नहुने दूतावासले जनाएको छ । त्यसैगरी, पारिवारिक भिसाको कागजात प्रमाणीकरण पनि काठमाडौंबाटै हुने दूतावासको भनाइ छ।

 

आवश्यक कागजात पेस गरेको २४ घन्टाभित्रै भिसा उपलब्ध हुने दूतावासले प्रस्ट पारेको छ । नियुक्तिका क्रममा कामदारबाट शुल्क असुल्ने परिपाटी रोक्न यो कदम चालेको कतार सरकारको भनाइ छ । आप्रवासी कामदारसँग नियुक्तिका सिलसिलामा कुनै शुल्क लिन नहुने अन्तर्राष्ट्रिय श्रम संगठनको नियममा आफ्नो मुलुक प्रतिबद्ध रहेको कतारको भनाइ छ । कतारमा काम गर्न जाने आप्रवासीको भिसा शुल्क, हवाई टिकट लगायतसबै खर्च रोजगारदाताले नै बेहोर्नुपर्ने नियम रहे पनि कामदारसँग स्रोत मुलुकका बिचौलियाले शुल्क असुलिरहेको र त्यसलाई रोक्न भिसा सेन्टर प्रभावकारी हुने नेपालका लागि कतारका राजदूत युसुफ विन मोहम्मद अल हेलले मंगलबार सञ्चारकर्मीसँग बताए । ‘भिसा सेन्टर खुलेपछि कामदारलाई निकै सजिलो हुन्छ,’ उनले भने।

 

भिसा सेन्टर खुले पनि भिसा भने कतारबाटै जारी हुनेछ । भिसा सम्बन्धी सबै प्रक्रिया काठमाडौंबाट हुन्छ । काठमाडौंमा भिसा सेन्टर खोल्ने तयारीका लागि आएको कतारी प्रतिनिधिमण्डलले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र सरोकारवाला निकायसँग समेत भेट गरेको छ ।

 

मन्त्री विष्टले भिसा सेन्टर खोल्नुअघि दुई देशबीच श्रम समझदारीको पुनरावलोकन गर्नुपर्नेमा जोड दिएको मन्त्रालय स्रोतले बतायो । कतारी प्रतिनिधिमण्डलले भने कामदारलाई सहज होस् भनेरै काठमाडौंमा भिसा सेन्टर खोल्न लागिएको भन्दै श्रम समझदारीसँग यसको सम्बन्ध नभएको बताएका छन्।

 

नेपालले कतार जाने कामदारको न्यूनतम पारिश्रमिक नौ सय र खानाको तीन सय रियाल हुनुपर्ने निर्णय गरेको छ । कतार सरकारले आप्रवासी कामदारको न्यूनतम पारिश्रमिक सात सय रियाल तोकेको छ । कतारी राजदूत हेल भने सबै आप्रवासीलाई आफ्नो मुलुकले एउटै व्यवहार गरेको दाबी गर्छन्।

 

नेपाली अधिकारीले कामदारको पारिश्रमिक नेपाल सरकारले तोकेबमोजिम हुनुपर्ने विषय कतारी प्रतिनिधिमण्डलसामू उठाएको मन्त्रालय स्रोतले जनाएको छ । नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिकका विषयमा निर्णय नभए पनि काठमाडौंमा चाँडै भिसा सेन्टर खुल्ने प्रतिनिधिमण्डलका सदस्यले बताए । डिसेम्बर सुरुतिरै भिसा सेन्टर खोल्ने कतारको योजना छ । यसका लागि सिंगापुरमा दर्ता भएको बायोमेट्रिक कम्पनीले जिम्मा पाएको छ।

 

राजदूत हेलले कतारले नेपालसहित आठवटा स्रोत मुलुकमा २० वटा भिसा सेन्टर स्थापना गर्न लागेको बताए । ‘कतारले दुई महिनाअघि श्रीलंकामा भिसा सेन्टर खोलिसकेको छ,’ उनले भने, ‘अब त्यही प्रक्रिया नेपालमा सुरु गर्न थालेका हौं ।’ भिसा सेन्टरले कामदारलाई भिसा दिने र स्वास्थ्य परीक्षण गर्ने बताइएको छ।

 

राजदूत हेलले भिसा प्रक्रिया काठमाडौंमा सुरु हुँदा कामदारले एक रुपैयाँ शुल्क तिर्नु नपर्ने बताए । ‘रोजगारीमा जानुअघि लाग्ने सबै खर्च रोजगारदाताले बेहोर्नेछन्,’ हेलले भने।

 

कतार नेपाली युवाका लागि दोस्रो गन्तव्य हो । सन् २०२२ मा विश्वकप आयोजना गर्न गइरहेको कतारमा यतिखेर श्रमिकको अधिक माग छ।

 

स्रोत मुलुकमै सहजीकरण गर्न सके कामदार आपूर्ति सहज हुने कतारको अपेक्षा छ । कतिपय युरोपियन र छिमेकी मुलुकले समेत कतारमा कामदारको अवस्था सन्तोषजनक नभएको आरोप लगाइरहेका बेला कतार सरकार कामदारमैत्री वातावरण सिर्जना गर्ने प्रयासमा रहेको देखिन्छ । काठमाडौंमा भिसा सेन्टर स्थापना हुँदा कतारले कालो सूचीमा राखेका व्यक्तिले प्रवेश पाउने छैनन् । कतार बस्नका लागि परिचयपत्र उपलब्ध गराउनसमेत सहज हुनेछ।

 

अहिलेसम्म काठमाडौंस्थित कतारी राजदूतावासले कतारमा मर्ने नेपालीका परिवारले शव झिकाउन र क्षतिपूर्तिका लागि पूरा गर्नुपर्ने कागजी प्रक्रिया लगायतमा सहयोग गर्दै आएको छ । त्यसैगरी, कतारमा कार्यरत नेपाली बिदामा आएको बेला कतारी परिचयपत्र र राहदानी हराएको खण्डमा उनीहरूको कागजात बनाउने काममा पनि दूतावासले सहयोग गर्छ । हस्तलिखित र मेसिन रिडेबल राहदानीमा जन्ममिति फरक परेर आउने समस्या समाधानको काम पनि यहीँबाटै हुन्थ्यो । नेपाली निकासीकर्ताको कागजी प्रक्रियामा पनि दूतावासले सहयोग गर्दै आएको थियो। नागरिक न्युजमा खबर छ